काठमाडौँ-दाङमा पहिलो मल्टिप्लेक्स सिनेमा हल खुलेको छ । दुई वटा स्क्रिनसहित चार सय बाह्र सिट क्षमतासहितको यो हलको नाम ‘भिएफएक्स सिनेमाज्’ राखिएको छ । घोराही उपमहानगरपालिका वडा नं ८ नारायणपुरस्थित सौँडीकुलामा भिएफएक्स सिनेमाज् प्रा।ली।ले हल सञ्चालनमा ल्याउन लागेको हो । यो हल घोराही, तुलसीपुर र नारायणपुरका झन्डै ४ लाख जनसङ्ख्यालाई लक्षित गरेर स्थापना गरिएको हो ।
विजय रावत प्रबन्ध निर्देशक र चेतन जङ्ग राना अध्यक्ष रहने गरी संयुक्त लगानीमा तयार भएको हलको औपचारिक उद्घाटन यही असोज २६ गते गरिने तयारी भएको छ । नेपाली चलचित्र ‘परदेशी-२’ प्रदर्शन गर्दै हल सुरुवात हुने र सो दिन हलमा लाग्ने अन्य सबै स्वदेशी तथा विदेशी चलचित्रहरू पनि प्रदर्शन गरिने हलमा प्रबन्ध निर्देशक रावतले बताए । रावतका अनुसार करिब २० करोड लगानीमा हल तयार भएको हो । सो लगानी हलले चर्चेको सबै जग्गा सहितको हो ।
रावतले दाङमा आवश्यकताकै आधारमा हल सुरु गरेको बताए । ठुलोपर्दासँगको कुराकानीमा उनले भने, “नेपाली चलचित्रको व्यवसायको हिसाबले दाङ पहिले देखि नै अगाडी रहँदै आएको छ । अन्य स्थानहरूमा प्राविधिक रूपमा सम्पन्न मल्टिप्लेक्स हलहरू सञ्चालनमा आइसक्दा पनि दाङमा सुरु भएको थिएन । सोही खाडललाई पुर्न हामीले हल सञ्चालनमा ल्याउन लागेका हौँ ।”
यसअघि व्यवसायको हिसाबले विजय र चेतन दुवै जना चलचित्रमा आबद्ध व्यक्ति होइनन् । भिएफएक्स सिनेमाजको योजना सुनाउँदै रावतले भने, “हामी चलचित्रकर्मीसँग नजिक थियौँ तर आबद्धता भने दर्शकको रूपमा मात्र थियो । हामी अब व्यवसायमा होमिएका छौँ । हामीले भिएफएक्स ब्रान्डलाई मल्टिप्लेक्स चेनको रूपमा देशव्यापी विस्तार गर्दैछौँ ।” दाङ पछि काठमाडौँमा हल खोलिने र त्यस पछि देशैभर विस्तार गरिने योजना रहेको उनले बताए । दाङमा पुरानै प्रविधिमा गणेश हल, मनकाँशी हल र स्वर्गद्वारी हल सञ्चालनमा छन् ।