Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

निर्देशकहरुको कलात्मक,रचनात्मक सोच, र अध्ययनको मुल्यांकन हुनुपर्छ

Wednesday, May 3, 2023 National Power

काठमाण्डौ – ईतिहासको पन्नामा नेपालमा चलचित्र निर्माणको अर्धसतक पूरा भैसकेको छ, यो उमेरका हिसावले परिपक्व पनि छ । अर्धसतकको उमेर पार गर्दै गर्दा यो चलचित्र क्षेत्र आज पनि उद्योगको रुपमा स्थापित हुन सकेको छैन वा स्थपित हुन दिईएको छैन । नेपाली चलचित्र क्षेत्रकोे विकासक्रम, विभिन्न कालखण्डको भएको चलचित्रको निर्माण, प्रविधि र प्रभावको आधारमा केही व्याख्या र विश्लेषण गर्न सकिन्छ ।

उमेर पुगेको नेपाली चलचित्रलाई चलचित्र उद्योगको रुपमा लेख्न खोज्दा भने सजिलो स्थिति छैन । चलचित्र उद्योग भन्नाले चलचित्रको सम्पूर्ण पक्ष लेखन, निर्माण, निर्माणका लागि उपकरण सामाग्री र स्टुडियो, छायाङ्कन, सम्पादन, अन्य प्राविधिक पक्ष, प्रशोधन, उत्पादन, प्रवद्र्धन, आर्थिक कारोबार आदि सबैको सुव्यवस्थित र योजनाबद्ध व्यवस्थापन हो भन्ने बुझ्नुपर्दछ । नेपाली चलचित्रले स्थापित गरेका मान्यताहरुको अध्ययन गर्ने हो भने नेपाली चलचित्र उद्योगको विस्तारनै नभैसकेको हो की भन्ने अनुभुति हुने गरेको चलचित्रकर्मीहरुले नै स्विकार गर्ने गरेका छन् । अहिले नेपाली चलचित्र क्षेत्र जे जसरी चलेको छ, जसरी अघि वढेको छ त्यसले लामो समयसम्म नेपाली चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थिापित हुन दिंदैन भन्ने आम चलचित्रकर्मीहरुको बुझाई हो । यदि नेपाली चलचित्र क्षेत्रलाई स्थापित उद्योगको रुपमा विकास गर्ने हो भने निर्माताहरुको व्यवसायिक सोचको विकास, निर्देशकहरुको कलात्कम, कल्पनिय तथा रचनात्मक सोचको विकास र अध्ययनको विकास, प्रविधिको अधिकतम प्रयोग र कलाकारहरुको स्टार भ्याल्युलाई पनि हामी चलचित्रकर्मीहरुले मुल्यांकन गर्नु पर्ने हुन्छ ।

कुनै एक कालखण्ड थियो, जुन बेला नेपाली चलचित्र क्षेत्रको स्वर्णिम युगको रुपमा आज पनि पुराना पुस्ताहरुले सगर्व वर्णन गर्ने गर्दछन् । त्यतिवेला चलचित्रकर्मीले एक अर्काप्रति गर्ने सम्मान, आदरभाव, स्नेह आदि आजको पूस्ताका लागि उखान जस्तो हुने गरेको छ । राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, रमेश उप्रेती, रेखा थापा जस्ता सफल कलाकारहरु आजका पुस्ताका केही स्वघोषित स्टारहरुको लागी पुरातन, परम्परागत र केही नजानेका कलाकाहरु हुन् भन्ने बुझाई रहेको छ । जुन विरासत राजेश, निखिल, विराज, रेखाहरुले स्थापित गरेका थिए, जुन कालखण्डमा नेपाली चलचित्रमा लगानी गर्ने निर्माता तथा निर्देशकहरु ती विरासत बोकेका कलाकारहरुलाई आफ्नो चलचित्रमा खेलाउँन पाउँदा लगानी सुरक्षित भएको महसुश गर्दथे, ती निर्माता तथा निर्देशकहरु आज कि त पलायन भएका छन् कि त विस्थापित भएका छन् ।

आजका पुस्ताका स्वघोषित स्टारहरुले राजेश, निखिल, विराज, रेखाहरुलाई चिन्नलाई ईन्कार गरेको महशुस गर्न सकिन्छ । यसो भन्दै गर्दा नयाँ पुस्ताका कलाकारहरु तथा स्टारहरु सवै खराव छन् भन्न खोजिएको अर्थमा हामीले बुझ्न थाल्यौ भनें त्यो पनि गलत हुन सक्छ, तर यहाँ को ठूलो र को सानो भन्दा पनि संस्कारका कुराहरुले महत्वपुर्ण स्थान राख्दछ भन्ने हामीले बुझ्न पर्ने हुन्छ । प्रतिष्प्रधा जहाँ पनि हुने गर्दछ, हिजोको स्टारहरु आज लोप हुन सक्दन् भने आज सर्घषरत कलाकारहरु पनि भोलीका स्टारहरु हुन सक्दछन्, यो एउटा समय चक्र हो, आज तन्नेरी छौ भोली वृद्धपनि हुनुपर्दछ भन्ने हेक्का सवैले राखेर पुराना पुस्ताका मानिसहरुको अनुभव र नयाँ पुस्ताको प्रविधिलाई मिलाएर लैजाने हो भने हामी संसारका ठूला उद्योगको चलचित्रहरुसंग प्रतिष्प्रधा गर्न सक्ने अवस्थामा पुग्दछौं ।

कुनै समय नेपाली चलचित्रलाई आम संचारको सशक्त माध्यमको रुपमा स्वीकार गरिन्थ्यो । नेपाली चलचित्रको निर्माणको प्रारम्भिक कालमा बनेका चलचित्रहरु ‘आमा’ परिवर्तन ‘हिजो आज र भोलि’ परालको आगो लगायतका चलचित्रहरुवाट शिवशंकर, भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह जस्ता थुप्रै कलाकारहरुको उदय भयो र ती मध्ये कति आज पनि यस क्षेत्रमा क्रियाशिल नै हरेका छन् । के ती कलाकारहरुवाट चलचित्र क्षेत्रले वा यसका निति निर्माताकर्ताहरुले कहिल्यै केही उनिहरुको सघर्ष, अनुभव, यादहरुलाई संग्रहित गर्ने कोशिस गर्यो त ? ती पुराना पूस्ताका कलाकर्मीहरु आजका पुस्ताका कलाकर्मीहरुको लागी खुल्ला विश्वविद्यालय हुन, के यो विषयमा कुनै संघ संस्था वा सरकारी निकायले राजनितिक पार्टीका झोला विसाएर एक छिन ठण्डा दिमाखले सोचेका छन् त ? यो विषयमा अव चलचित्र क्षेत्रको विकास गर्छु भनेर अग्रसर भएका थुप्रै संस्थाहरुमा नयाँ कार्य समिति वनि सकेको अवस्था छ, नयाँ जोश र जाँगरमा रहेको संघ, संस्था तथा प्रतिष्ठानका नेताहरुले सम्वन्धित सरकारी निकायको समन्वयमा नेपाली चलचित्र क्षेत्रको दीर्घकालिन विकासको लागी , अनुशासन र संस्कारका नैतिक पाठहरु पढाउनको लागी नयाँ कार्ययोजना ल्याउन जरुरी देखिन्छ ।

त्यसैगरी नेपाली चलचित्र क्षेत्रको अहिलेको अवस्था विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्न मिल्ने स्थिति पनि छ । यो क्षेत्र अस्तव्यत रुपमा विनायोजना, निश्चित गन्तव्य विना अघि बढेको पाईन्छ, आधार हिन तथा दिशा हिन उद्योगको रुपमा । नेपाली चलचित्र क्षेत्रलाई सृजनात्मक, साँस्कृतिक तथा मनोरञ्जनात्मक क्षेत्रका रुपमा स्थापित गर्न निर्धारण गरिएका अन्तर्राष्ट्रिय मापदण्डहरु सबै भेटिन्छन् । ठूलो संख्यामा आदिवासी, जनजातिबाट आफ्नै सांस्कृतिक मूल्य मान्यताका चलचित्र बनिरहेका छन् । ठूलो संख्यामा लगानी र रोजगारी चलचित्र क्षेत्रले दिएको छ । अन्तर्राष्ट्रिय स्तरका नेपाली चलचित्रहरु पनि बनेका छन् । विदेशी विशेषतः हिन्दी चलचित्रलाई व्यापारमा विस्थापित गर्न सक्ने प्रतिस्पर्धी चलचित्रहरु पनि निर्माण र प्रदर्शन भैरहेका छन् । ठूलो संख्यामा निर्माण भएका चलचित्रहरुको संख्या अनुरुप गुणस्तरमा पनि बारम्वार प्रश्न चिन्ह उब्जने गरेको पाईन्छ ।

नेपाली मौलिकताको खोजी गर्नुपर्दा चलचित्र औंलामा गणना गर्न पाइँदैन । नेपाली चलचित्र क्षेत्रको अहिलेको अवस्था वास्तवमा विरोधाभाषपूर्ण छ । नेपाली चलचित्र उद्योगको इतिहास, सिद्धान्त र व्यवहार त्रुटिपूर्ण र भ्रामक छ । नेपाली चलचित्र क्षेत्रको गन्तव्य चलचित्र नीतिस्पष्ट नभएको र कार्यान्वयन नभएको अवस्था छ । नियमन निकाय जिम्मेवार नभएको र दिशाहीन देखिन्छ । पेशागत संस्थाको प्रभावकारी उपस्थिति छैन । नेपाली चलचित्र क्षेत्रमा प्राज्ञिक अभ्यास लगभग सुन्यको स्थितिमा छ । तथापि नेपाली चलचित्र क्षेत्र जीवित छ , गतिशील छ । नेपाली चलचित्र क्षेत्र काठमाडौं केन्द्रित छ, तथापि प्रदर्शन र प्रवर्धन तथा महोत्सवका क्रियाकलापले पनि नेपाल भर अनि नेपालीहरु बसोबास गरेका विश्वभर बजारमा विस्तार भएको पाईन्छ ।

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तार हुँदा प्रत्यक्ष रुपमा नेपाली चलचित्रमा क्रियाशील रहेका चलचित्रकर्मीलाई सकारात्मक प्रभाव पर्दछ । त्यसले ठूलो संख्यामा आश्रित परिवारलाई फाइदा पुग्छ । अप्रत्यक्ष रुपमा राष्ट्रिय हितलाई सहयोग पुग्दछ । नेपाल चलचित्र क्षेत्रको इतिहास जे जसरी अघि बढेको भए पनि नेपाली चलचित्रमा संलग्न शुभचिन्तक र रुची राख्नेहरुबाट अहिलेको स्थितिसम्म आई पुगेको छ । नेपाली चलचित्र क्षेत्रलाई प्रतिष्ठित क्षेत्रका रुपमा स्थापित गर्न सक्ने सबै पक्षहरु हामीसँग छ र सवल बनाउन सकिन्छ । नेपाली चलचित्र क्षेत्र चाहे जस्तो हुन नसक्नुमा चलचित्र उद्योगको सुव्यवस्था र योजनाको अभाव नै हो । यसको लागि नेपाली चलचित्र क्षेत्र सेवामूलक र मनोरञ्जन उद्योगका रुपमा हैन, सृजनात्मक, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रुपमा स्थापित हुन पर्दछ । सोही अनुरुप राष्ट्रिय चलचित्र नीति सरकारी स्तरबाट अविलम्ब आउन आवश्यक छ । राष्ट्रिय चलचित्र नीति अनुसार नेपाली चलचित्र उद्योग अघि बढाउन नेपाली चलचित्रसँग सम्बद्ध निकायहरु विशेषतः नियमन निकाय चलचित्र विकास बोर्डको सांगठानिक स्वरुप परिवर्तन हुनुपर्दछ ।

चलचित्रका पेशागत संस्थाहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता भएर हैन चलचित्र विकास बोर्डमा दर्ता भएर संचालन हुनुपर्दछ । नेपाली चलचित्र क्षेत्र प्राज्ञिक क्षेत्रको रुपमा अघि बढ्नु पर्दछ । नेपाली चलचित्रको हरेक क्रियाकलाप, आर्थिक कारोबार पारदर्शी हुनुपर्दछ । हरेक चलचित्रकर्मी समाजको सम्मानित नागरिक, नेपाली चलचित्र उद्योग सम्मानित उद्योग र राष्ट्रिय गौरवको क्षेत्र हुनुपर्दछ ।

लेखक माधव राज खरेल, चलचित्र लेखक, निर्देशक पनि हुन