काभ्रेपलान्चोक जिल्लाको सहकारी क्षेत्रमा एक परिचीत नाम हो रामकृष्ण रायक्षेत्री धुलिखेल ४ बखुण्डोलमा बस्नु हुने रायक्षेत्री सहकारी क्षेत्रमा आउनु भन्दा अगाडी शिक्षण पेसामा हुनुहुन्थ्यो । पछी समय अनुसार एउटा व्यवसायिक फर्ममा लेखापाल हुदै अहिले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को व्यवस्थापक हुनुहुन्छ ।
सहकारी क्षेत्रमा २०६१ सालमा सदस्यको रुपमा बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.मा आवद्ध भएर २०६२ सालमा बाल विकास उप–समिति सदस्यको रुपमा १ कार्यकाल काम गर्दै २०६५ साल भाद्र १६ गते देखि बुडोल सामुदायिक साकोसको ऋण अधिकृत भएर सेवा आरम्भ गरेको बताउनु भयो ।
लामो समय ऋण अधिकृत पदमा रहेर सदस्यहरुलाई ऋण सम्बन्धि सेवा गरेपछि २०७३ सालमा कार्यकारी अधिकृतको पदमा र २०७९ श्रावण १ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्थामा सेवारत हुनुहुन्छ । कर्मचारीको रुपमा १५ वर्षदेखि र आवद्धताको हिसाबले १९ वर्षदेखि सहकारी क्षेत्रमा संलग्न रहेको बताउनु भयो । पछिल्लो समय सहकारी क्षेत्र निकै संकटमा परेको छ । काभ्रेका केही सहकारी संचालक र व्यवस्थापकहरु फरार रहेका छन् भने केही सहकारीले बचत कर्ताको पैसा फिर्ता गर्न सक्ने अवस्था छैन । काभ्रेको जिल्ला प्रशासन र प्रहरी प्रशासनमा हेर्न हो भने उजुरीको चाङ छ । यस्तो अवस्थामा सहकारी लाई नियमन गर्ने निकायहरुले पनि खासै केही गरेको देखिदैन । बचत कर्ताको गुनासो सुन्ने निकायहरु पनि मौन छ । बुडोल सामुदायिक साकोस काभ्रे जिल्लाकै राम्रो सहकारी मध्यको एक हो । यस सहकारीले यो अवस्थामा आफ्ना बचत कर्ताहरु लाई कस्तो सेवा सुबिधाहरु दिइरहेको छ । पछिल्लो आर्थिक संकटले सहकारी लाई कतिको असर गरेको छ भन्ने बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीसँग गरेको समसामयिक कुराकानी
० सर्वप्रथम बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको बारेमा भन्नू पर्दा ?
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. २०५० सालमा दर्ता भई २०५७ सालदेखि विधिवत रुपमा संचालनमा आएको समुदायमा आधारित सहकारी संस्था हो । सदस्य र समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र वातावरणीय स्तर उन्नति गर्दै समृद्ध समाज निर्माण गर्ने उद्धेश्यले नीति, विधि र प्रविधिमा आधारीत भई सञ्चालित संस्था हो । २०७९ चैत्र मसान्तसम्म १७५.५ करोड कुल सम्पत्ति सहित २४,६२४ जना सदस्यको साझा परिवारको रुपमा स्थापित संस्था मुख्य कार्यालय र अन्य ४ वटा सेवाकेन्द्र मार्फत ४६ जना कर्मचारीहरुबाट सञ्चालित छ । बचत र ऋण सेवाका अतिरिक्त १ लाखसम्मको निशुल्क दुर्घटना बीमा, ३० हजार रुपैयाँको सदस्य मृत्यु राहत, जटिल रोगमा २० हजार उपचार सहयोग, दैविप्रकोप र भवितव्यमा सदस्यहरुलाई २० हजार सहयोग, सुत्केरी उपचार भत्ता जस्ता आर्थिक सुरक्षाका कार्यक्रम अन्तर्गतका सेवा रेमिटान्स सेवा लगायत अन्य धेरै सेवाहरु संस्थाले प्रदान गर्दै आएको छ ।
० सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
युवा पुस्तालाई सहकारी क्षेत्रमा रुचि जगाउन र सक्रिय सहभागिता गराउन उनीहरुको चाहाना रुचि र क्षमता अनुसारका सेवाहरु सहकारीले दिनु पर्दछ । युवाको रुचि भनेको प्रविधिमा आधारित सेवा सुविधा हो । अर्को उनीहरुको चाहाना अनुसारका कार्यक्रमहरु संचालन गर्नुपर्दछ । बुडोल सामुदायिकले आफ्नो ५ वर्षीय रणनीतिक योजनाको मुख्य थिम नै युवा पुस्ता समेतको सहभागिता,प्रविधिमा आधारित वित्तीय सेवाको पहुँच विस्तार गर्दै सदस्यको सन्तृष्टि अभिवृद्धि गर्ने रहेको छ । युवा लक्ष्यित कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिइने छ ।
० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ?
सरकार त अहिले पनि यो विषयमा निदाएरै बसेको छ भने अभियानले सहकारी क्षेत्रको स्तर उन्नतीको लागि स्तरिकरण कार्यक्रम मार्फत केहि अध्ययन अनुसन्धान अगाडी बढाउँदै आएका छन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कुन)ले एक्सेस, प्रोबेशन, कर्बस्, आधाशिला, कोसिस, विभिन्न स्रोत पुस्तिका आदिको विकास तथा सञ्चालनमा अध्ययन अनुसन्धान अगाडी बढाइ रहेको छ । सहकारी ऐन अनुसार प्रत्येक सहकारी संस्थाले सहकारी प्रबर्द्धन कोष खडा गरी सरकारलाई सुम्पनु पर्दछ । सरकारले सोहि कोषबाट केहि रकम छुट्याई सहकारीको विकास, व्यवस्थापन र सक्षमता वृद्धिको सम्बन्धमा अध्ययन अनुसन्धान विभागनै खडा गरी सञ्चालन गर्नु पर्दछ ।
० तपाई त सहकारीको व्यवस्थापक हुनुहुन्छ, आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ?
हामी बचत तथा ऋण सहकारी भएकोले सदस्यका चाहाना र क्षमता अनुसारका बचत तथा ऋण सुविधाहरुलाई नै प्राथमिकतामा राखी सेवाहरु प्रदान गरिरहेका छौं । त्यसका अलावा बीमा सम्बन्धि सहजीकरण एवं रेमीट्यान्स सेवा समेत प्रदान गरिरहेका छौं । संस्थाले सदस्यको आर्थिक सुरक्षाका लागि आर्थिक सुरक्षा कार्यक्रम अनुसार १ लाख बराबरको निःशुल्क दुर्घटना बीमा, सदस्यको मृत्यमा परिवारलाई ३० हजार रुपैया राहत, जटिल रोग लागेमा २० हजार उपचार सहयोग, दैवीप्रकोप र भवितव्य बाट सदस्यको घर गोठ क्षति भएमा २० हजार सम्म सहयोग, स्थायी अशक्तता वा अंगभंगमा २० हजार उपचार सहयोग, अप्रेसन मार्फत सुत्केरी हुने सदस्यलाई ६ हजार उपचार खर्च, सामान्य सुत्केरी हुँदा १ हजार पोषण भत्ता र नवजात शिशुलाई निशुल्क खुत्रुके सहित सदस्यता, नव विवाहिता दुलहीलाई १ हजारको शेयर सहित सदस्यता, प्रविधिमा आधारित मोबाईल बैकिङ, क्युआर मर्चेन्ट सेवाहरु, अनवरत सदस्य शिक्षा तथा वित्तीय साक्षरता, सिपमुलक तथा आयमुलक तालिम, उत्पादनमुखी सहुलियत कर्जा, शनिवार तथा विदाका दिनहरुमा काउण्टर सेवा, कल गरेर घरबाटै बचत गर्न सकिने सुविधा, ज्येष्ठ नागरिक सम्मान तथा तिर्थाटन कार्यक्रम, रक्तदानमा सहजीकरण, बाल सदस्यहरुलाई निशुल्क कपि पेन पेन्सील वितरण, शैक्षिक सम्मान, विभन्न निकायसंगको साझेदारीमा औषधि उपचार तथा सिप सिकाईमा छुटको व्यवस्था, संरक्षित पूँजीफिर्ता वितरण, प्रतिस्पर्धि दरमा लाभांश आदी सेवा सुविधाहरु सदस्यहरुलाई प्रदान गरिरहेका छौं ।
० खासमा सहकारी भनेको चाहीँ के हो ?
परिभाषात्मक रुपमा भन्दा त साझा हितको लागि एक आपसमा सहयोगी भावनाले स्थापित संगठन नै सहकारी हो । जसको मुख्य उद्धेश्य एकको लागि सबै, सवैको लागि एक भन्ने भावनाको विकास गर्नु हो । मेरो आजसम्मको अनुभव अनुसार आर्थिक कारोबारको हिसाबले सहकारी बैंक हो जहाँ सदस्यले सम्पूर्ण आर्थिक समस्याको छिटो र छरितो सेवा पाउँछन् । शिक्षाको हिसाबले सहकारी पाठशाला हो जसले सिदान्तमै अनवरत शिक्षालाई जोड दिएको छ र सदस्यलाई वित्तीय साक्षरता, शिक्षा शिविर, सदस्य भेला, तालिम, गोष्ठी, विस्तारित मञ्च आदीका माध्यामबाट अनवरत शिक्षा प्रदान गर्दछ । सामाजिक उत्तरदायित्वका हिसाबले सहकारी सामाजिक अभियन्ता पनि हो जसले समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक, भौतिक तथा पर्यावरणीय विकास तथा संरक्षणमा आर्थिक तथा भौतिक सहभागिता सक्रियता र सचेतना प्रदान गरिरहेको छ । समग्रमा भन्नु पर्दा जनताको सबै सतहमा पुगी सानोदेखि ठूला आवश्यकता परिपूर्ति गर्ने आर्थिक तथा सामाजिक साथी भनेकै सहकारी हो ।
० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ यसमा के भन्नुहुन्छ ?
यो एउटा मिथ्या भ्रम हो । कुनै पनि सहकारीले आफ्ना सदस्यहरुलाई गरिब बनाउन वा उठिबासै लगाउन ऋण लगानी गरेको हुँदैन । ऋण लगानीले सदस्यको जीवनस्तर उठ्छ, आम्दानी बढ्छ र सदस्यहरु व्यवसायिक बन्छन् भनेर लगानी गर्ने हो । सदस्यले नै ऋण सदुपयोगिता गर्नुभएन भने समस्या आउने हो । समस्यमा पनि सहकारीले हदै सम्मको लचकता अपनाई सदस्यहरुलाई विविध उपाय दिने गर्दछ र अन्तमा केहि सिप नलागेपछि मात्र लिलाम लगायतका कानूनी प्रकृयाबाट ऋण असुली गर्ने हो । यो गर्नु संस्थाको बाध्यता हो रहर हैन किनभने सदस्यहरुको बचतको सम्पूर्ण सुरक्षा गर्नु संस्थाको सर्वोपरी दायित्व हो ।
० सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ?
विषयगत सहकारी संस्थाहरुले आ–आफ्नो विषय अनुसार कारोबार गर्नु पर्दछ । ऐनले यो व्यवस्था धेरै कुराको न्यायोचित अवस्था हेरेर ल्याएको हो । दर्ता गर्ने समयमा एउटा उद्धेश्य राखेर दर्ता गर्नु र पछि उद्धेश्य अनुरुप कारोबार नगर्नु देश कानून र सदस्यलाई समेत झुक्याउनु हो । बचत र ऋण बाहेकका अन्य सहकारी संस्थाहरुले आफ्नो उद्धेश्य अनुसारको ७० प्रतिशत काम गर्नै पर्छ । बचत तथा ऋण मात्र गर्नु गैरकानूनी हो । नत्र त सबैलाई बचत तथा ऋण सहकारी बनाए भै गयो ।
० दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
यो आफैंमा जटिल विषय हो । विशेषगरी यो व्यवस्थाले सदस्यहरु धेरै संस्थामा ऋणमा नफसुन र आफ्नो आम्दानी विश्लेषण गरेर ऋण लिई सोहि बमोजिम ऋण बुझाउन भन्ने आसयले आएको हो । एउटा बाट लियो अर्कोमा बुझायो र अर्कोबाट लिएर फेरी अर्कोमा बुझायो गर्दा सदस्यहरु ऋणको जालो बाट मुक्त नहुने र आफ्नो आम्दानीबाट ऋण मुक्त भएर बस्नु भन्दा यसरी नै ब्यवस्थापन गर्ने प्रवृत्ति धेरै बढेपछि यो व्यवस्था आएको हो । तसर्थ एकभन्दा बढि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गर्ने र कर्जा सूचना केन्द्रमा सबैको अनिवार्य सहभागिता गराउने हो भने यो समस्या निराकरण हुन्छ ।
० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ?
समुदायमा आधारित र सदस्यहरुमा केन्द्रित नभई संचालित केहि सहकारीहरुले यस्तो कार्य गरेको देखिन्छ । यद्यपि धेरैजसो सहकारीहरुले सदस्यहरुले खाई नखाई गरी र भविष्यको लागि भनेर साँचेर राखेको बचतको संरक्षण गर्नु पहिलो दायित्व हो । सदस्यहरुले पनि कारोबार गर्दा संस्थाको अवस्था, कारोबारको प्रकृति, संचालकहरुको क्षमता तथा आचरण, व्यवस्थापन क्षमता, साधारणसभाको निरन्तरता, ऋणको ब्यवस्थापन, कानूनी परिपालना, सदस्यहरुको हितमूखि क्रियाकलाप तथा कार्यक्रम आदीलाई ध्यानमा राखी नीति, विधि र प्रविधिमा आधारीत समुदाय केन्द्रित सहकारीमा कारोबार गर्नु पर्दछ भने सहकारीकर्मीहरुले पनि वित्तीय अनुशासन र सुशासनमा रहि सदस्यको प्रत्येक रुपैया रुपैयाको सुरक्षा गर्ने गरी निश्वार्थ भावले संस्था सञ्चालन गर्नु पर्दछ । हामी सिमित सहकारीहरु मात्र सफल भएर सिंगो अभियान सफल हुँदैन तसर्थ सम्पूर्ण सहकारीहरुको संरक्षण र प्रभावकारी संचालनमा समन्वय र सहकार्य गर्नु सबैको साझा दायित्व हो । समस्या ग्रस्त, समस्या उन्मुख तथा संभावित समस्या उन्मुख सबै सहकारीको संरक्षणमा सहकारीकर्मी, सरकार र अभियान हातेमालो गरेर अगाडी बढ्नु पर्दछ ।
० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?
समस्याग्रस्त सहकारीहरुलाई विश्लेषण गर्दा सहकारीमा मुख्य ५ वटा समस्याहरु देखिएको छ । पहिलो संस्थाहरु सहकारीको सर्वमान्य सिदान्त तथा मुल्य मान्यताहरुबाट संचालन नहुनु, सहकारीको सिदान्तले भनेका कुराहरुलाई पाखा लगाएर आफ्नो मनोमानी र स्वार्थ अनुसार संस्था संचालन हुनु प्रमुख समस्या हो । दोश्रो संचालक र कर्मचारीहरु सुशासनमा नबस्नु हो । संचालकले आफुखुशी सदस्यको पैसा चलाउने तथा जोखिमयुक्त अनुत्पादक क्षेत्रमा लगानी गर्ने, ठूलो ऋण कम ब्याजमा चलाउने, आफन्त र परिवारलाई कर्मचारी वा संचालक राख्ने, सहकारीबाट तलब सुविधा लिने दोहोरो पद धारण गर्ने, घरजग्गा, शेयर तथा भौतिक मुद्रामा लगानी गर्ने, संस्थाबाट ऋण लगानी गरी धितो आफ्नो वा एकाघरको व्यक्तिको नाममा पास गर्ने, सधारण सभा नगर्ने, नीति विधि र प्रविधिमा नभई मुखको भरमा संस्था चलाउने आदी सुशासन सम्बन्धि समस्या छन । तेश्रो वित्तीय अनुशासनको पालना नगर्ने हो जसमा पल्र्सको मापदण्ड अनुसार वित्तीय व्यवस्थापन नगर्ने, ऋण लगानी गर्दा ५ सी विश्लेषण नगर्ने, विनाधितो लगानी गर्ने वा धितो विश्लेषण नगर्ने, बचतको व्याजदर मनलाग्दी तोक्ने, वित्तीय विवरणहरु सम्बन्धित निकायमा र सदस्यलाई पेश नगर्ने, संस्थागत कागजातहरु कानूनी रुपमा बलियो नबनाउने, ३ महिना नपुगी ऋण लगानी गर्ने, असुली कृयाकलापहरु न्यून गर्ने, मनलाग्दी कोषहरु चलाउने , लाभांश विश्लेषण नगरी हचुवामा लिने, कोष नबनाई आफूखुशी भवन जग्गा निर्माण वा खरीद गर्ने, नाफामा मात्र बढि केन्द्रित हुने जस्ता समस्याहरु पर्दछन । चौथो सहकारीमा सदस्यहरुको विश्वासको संटक सम्बन्धि समस्या छ । भनेको कुनै संस्थाको बारेमा यथार्थ नबुझि समाचार आउँदा सोको पछि लाग्ने, सदस्यले वास्तविकता नबुझि बचत निकाल्न लाईन बस्ने, ऋणीले तोकिएको समयमा निर्धारित किस्ता नबुझाउने, सदस्यहरु बढि व्याजको लोभमा पर्ने, साधारण सभामा भाग लिई संस्था कसरी संचालन भएको छ नबुझ्ने र अन्तिम समस्या भनेको राज्यले सहकारीको उपेक्षा गरेको छ । सहकारीलाई संविधानले अर्थतन्त्रको एक खम्बा मानेको भएता पनि साको कार्यान्वयन भएको छैन । राज्यको ढुकुटिमा सहकारीको तर्फबाट अरबौं रुपैयाँ कर स्वरुप जान्छ तर बदलामा सरकारबाट र नियमित नियमन, अनुगमन र निरिक्षण जस्तो अत्यावश्यक अधारभूत कुरासमेत सहकारीलाई प्राप्त भएको छैन । सरकारको दायित्व भनेको अर्थतन्त्रको खम्बालाई बलियो बनाउन सुरक्षित वातावरण, संरक्षकीय कानून, क्षमता विकास कार्यक्रम, सहकारी प्रबर्द्धन , नियमन अनुगमन तथा बचत एवं कर्जा संरक्षण जस्ता संयन्त्र निर्माण आदी कुराहरुबाट सहकारी क्षेत्रको विकास गर्नु हो तर यसो हुनुको साटो उल्टो सहकारीप्रतिको राज्यको कठोर दृष्टि हुन सहकारी क्षेत्रको सबैभन्दा दुर्भाग्यपूर्ण समस्या हो ।
० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
सहकारी सेवामूलक संस्था हो । त्यसैले नाफा कमाउने उद्धेश्य राखेर संस्था संचालन हुनुहुन्न सदस्यहरुलाई सेवा दिने क्रममा स्वभाविक नाफा प्राप्त हुन्छ र सोलाई नै संस्थाले स्वीकार गर्नु प¥र्यो । सदस्यहरुलाई सबै सेवा सुविधा दिएर र सदस्य केन्द्रित सबै कार्यक्रमहरु सञ्चालन गरेर पनि संस्थागत पूँजि राम्रो भएको संस्थाले स्वभाविक नाफा कमाउन सक्छ । नाफा चाहिन्छ तर सदस्यलाई मारेर नाफा गर्नु कहिल्यै हुँदैन । किनभने सदस्यहरुको शेयर लगानीलाई प्रतिफल (लाभांश) दिन, सदस्यहरुको आर्थिक सुरक्षाका कार्यक्रम गर्न, सदस्यको सीपमूलक र आयमूलक तालिम कार्यक्रमहरु संचालन गर्न, संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम गर्न तथा सामाजिक उत्तरदायित्व पूरा गर्न संस्थालाई नाफा चाहिन्छ । तर नाफा धेरै दिने संस्था राम्रो भन्ने होइन सदस्यको बचत सुरक्षित रहेको, सुशासनमा चलेको, वित्तीय अनुशासन कायम रहेको, संस्थागत पूँजी राम्रो भएको र सन्तुष्ट सदस्य भएको संस्था राम्रो हो ।
० भावी योजनाहरु के छन् ?
अबको समय भनेको युवा पुस्ताहरुको समय हो तसर्थ हामी युवाहरुलाई समेट्ने नीति तथा कार्यक्रमहरु लिएर आगाडी बढ्दै छौं । अर्को सन्तुष्ट सदस्य नै दीगो सहकारीको आधार हो तसर्थ अबका दिनहरुमा बुडोल सामुदायिकले सदस्य केन्द्रित कार्यक्रम र क्रियाकलापहरुलाई बढि जोड दिनेछ । त्यस्तै सहकारीको उपस्थितिबाट सदस्यहरुमा के परिवर्तन आयो भन्ने कुरा देखिने गरी सदस्यहरुलाई, सिप सिकाई, स्वरोजगारीता, आय आर्जनमा सहभागिता, लघुउद्यम आदीमा जोडेर लैजाने छौं । प्रविधि प्रयोगमा सदस्यहरुको सहभागिता बढाउँदै लैजाने र प्रविधिकै प्रयोग मार्फत सदस्य शिक्षाका कार्यक्रमहरु निरन्तर संचालन गर्ने योजना छ । धेरै सदस्य भन्दा सन्तुष्ट सदस्य धेरै हुने गरी आगामी कार्यक्रमहरु संचालन गरिनेछ ।
० अन्तमा के भन्न चाहानु हुन्छ ?
अन्तमा सदस्यहरु भनेको संस्थाका असली मालिकहरु हुन् त्यसैले संस्था उहाँहरुको आफ्नै सम्पत्ति हो । यसलाई हुर्काउने, बढाउने र संरक्षण गर्ने जिम्मेवारी अन्ततः सदस्यहरुको पनि रहन्छ । तसर्थ सजिलोमा मात्र होईन अप्ठेरो अवस्थामा पनि आफ्नो सहकारीलाई साथ दिनु पर्दछ । हल्लाको पछाडी नलागी यथार्थ बुझेर धैर्यता तथा सुझबुझपूर्ण कारोबार गर्नु पर्दछ । यि यस्तै सदस्यहरुको साथ र सहयोगले बुडोल सामुदायिक साकोस आजको विषम परिस्थितिमा पनि दरिलो उपस्थिति जमाउन सफल भएको छ । सदस्यहरुको सत प्रतिशत विस्वास जिति ढुक्कसंग जुनसुकै कारोबार गर्न सक्ने ठाउँ भएको छ । यसको लागि अभियान, समाज, संचारकर्मी र सम्पूर्ण सदस्यहरुमा हार्दिक आभार एवं आफ्ना केहि कुराहरु राख्ने अवसर दिनु भएकोमा तपाइँलाई विशेष धन्यवाद। जय सहकारी ।