कम्बोडिया, बागलुङको गलकोटमा जन्मिएका लालसिंह खड्काले कर्मभूमि कम्बोडियामा संघर्ष गरेको झण्डै २३ वर्ष पुगिसकेको छ । जिन्दगी काँचोमाटो हो । जसरी कुमालेले काँचो माटोबाट विभिन्न प्रकारका सामग्रीहरु बनाउँछन, त्यसरी नै हाम्रो जीवन कता लैजाने हाम्रै हातमा हुन्छ भनेझैं खड्काले कम्बोडियामा २३ वर्ष संघर्ष गरेर एक सफल व्यवसायी बन्न सफल भएका छन। कम्बोडियाको राजधानी फोनम पेनमा लालसिंहले वर्ल्ड दरबार होटलसहित ५ वटा सुविधा सम्पन्न रेष्टुरेण्ट चलाएका छन । उनले कम्बोडियाकै अन्य शहरमा पनि २–३ वटा रेष्टुरेण्टहरु सञ्चालन गरिरहेका छन ।
यति बेला उनी कम्बोडियाकै सफल व्यवसायीको रूपमा स्थापित छन । उनले राजधानी फोनम पेनमा ‘फ्लेभर अफ इण्डिया’ नामले चेन रेष्टुरेण्ट, नेपाली रेष्टुरेण्ट ‘वर्ल्ड दरबार’ वर्ल्ड दरबार होटल, रेष्टुरेण्ट एण्ड स्काई बार सञ्चालन गरिरहेका छन । यस्तै कम्बोडियाका अन्य पर्यटकीय सहरहरुमा पनि उनले रेष्टुरेण्ट सञ्चालन गरेका छन । उनले कम्बोडियामा दर्जनौ नेपाली र विदेशीलाई रोजगार समेत दिएका छन ।
कम्बोडियामा खड्काको व्यवसाय यतिमा मात्र सिमित छैन, उनले रियल स्टेटकोे समेत व्यापार गरेका छन । उनले कम्बोडियाका विभिन्न ठाउँमा घर बनाउँदै बिक्री समेत गर्ने गरेका छन । रियल स्टेट व्यवसायमा राम्रो सम्भावना रहेको कम्बोडियामा उनको थुप्रै जग्गासमेत रहेको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको कम्बोडियाको अध्यक्ष रहेका लालसिंह समाजसेवामा पनि त्यत्तिकै सक्रिय रहेका छन । अत्यन्त मिलनसार स्वभावका लालसिंहले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडिया पुगेर अप्ठ्यारोमा परेका कयौं नेपालीहरुको उद्धार गरेका छन । कम्बोडियामा रहे पनि नेपालका विभिन्न सामाजिक संघसंस्था र सामाजिक कार्यमा लालसिंहले होस्टेमा हैसे गरिरहेका छन ।
कलिलै उमेरमा बागलुङको गलकोटबाट लाहुरे बन्न हिँडेका लालसिंहको जीवनमा कयौं आरोह– अवरोहहरु नआएका होईनन तर उनले तेस्लाई सहज रुपमा पार गरे । भारतका विभिन्न सहरमा विदेशी मेनुका परिकार पकाउन अभ्यस्त रहँदा उनका मामाका छोरा रामु अधिकारी भने थाइल्याण्डको राजधानी बैंककको सेराटन होटलमा जागिरे थिए ।
लालसिंहको भाग्यले एकाएक कोल्टे फेर्यो । सेराटनलाई एउटा जुनियर कामदारको आवश्यकता परेछ । मामाको छोराको सिफारिसमा उनी ‘बिजनेस भिसा’ मा गुजरात हुँदै बैंकक पुगे । यहाँ पनि उनलाई भाग्यले त्यति लामो साथ दिएन । ६ महिनापछि भिसाको समस्या आयो । उनले काम गर्ने स्वीकृति पाएनन । यति बेला भने उनीसँग एउटै विकल्प बचेको थियो— पुनः बागलुङ फर्किने । तर, उनले हिम्मत हारेनन । ३–३ महिना भिसा थप गरेर ६ महिना थाइल्याण्ड बसेका लालसिंहले कानुनी अल्झनका हटाउन एकपल्ट थाइल्याण्डबाट बाहिरिने र समय थप गर्नका लागि भिसा प्रक्रिया अगाडि बढाउने निर्णय गरे । उनले सजिलो उपायका लागि थाइल्याण्डसँगै जोडिएको देश कम्बोडियालाई ‘ट्रान्जिट’ को रूपमा प्रयोग गरे । रोचक कुरा, उनले ‘ट्रान्जिट’ को रूपमा प्रयोग गरेको त्यही देश अहिले उनको कर्मभूमि बनेको छ । अर्थात्, बागलुङबाट सुरु भएको लालसिंहको संघर्षको कथाले कम्बोडियामा विश्राम पाएको छ । लालसिंह अहिले कम्बोडियाका सफल व्यवसायी र समाजसेवी बन्न सफल भएका छन ।
‘शीतयुद्धको अन्त्यपछि छोटो समयमा कम्बोडियाको विकासले हेर्दाहेर्दै छलाङ मारिसकेको छ । नेपाललाई प्रकृतिले सबै कुरा दिएर पनि सोचेजति विकास भएको छैन,लालसिंह भन्छन । लालसिंहले आफ्नो गाउँ छोडेको झण्डै ३ दशक हुन लागिसकेको छ । यस अवधिमा उनी कैयन पटक आफ्नो गाउँ पुगेका छन । अब उनको भित्री इच्छा आफ्नै देश फर्किने र व्यवसायसहित सामाजिक काम गर्ने रहेको छ । त्यसैले लालसिंहले पछिल्लो समय नेपालमा लगानीसमेत गरिरहेको जनसवालसँगको भेटमा बताए ।
जनसवालसँगको भेटमा खड्काले कम्बोडियालाई रोजगारको मुख्य गन्तव्य बनाउन सकिने जनाउदै यस्को लागी सरकारले नै उचित कदम चाल्नुपर्ने बताए ।
हाल कम्बोडियामा नेपाली कामदारको अवस्था राम्रो रहेको जनाउदै खड्काले कम्बोडियामा व्यवस्थित ढंगबाट करिब ३०० भन्दा बढी कामदार रहेको बताए । उनले श्रम स्वीकृति नलिई गएका ४०० भन्दा बढी कामदार पनि यहाँ रहेको जनाउदै रोजागारीका लागि आउनेहरुका लागि भने राम्रो अवसर रहेको बताए । कतिपय कामदारहरु ठगहरुबाट नराम्ररी ठगिएका पनि छन । कामदारको रुपमा क्यासिनोमा काम गर्ने भनेर जान्छन् तर, गिरोहले अन्यत्र काम लगाइदिन्छ । यहाँ महिला कामदारहरु पनि छन तर, तिनीहरुको कुनै रेकर्ड छैन । कम्बोडियामा दूतावास नभएकाले जाने कामदारले एनआरएनए र थाइल्याण्डस्थित नेपाली दुतावासमा राम्ररी बुझेर जाँदा राम्रो हुने बताए ।
कम्बोडियामा कुनै पनि विषयमा राम्ररी जानकारी र सीप सिकेर आएमा उनीहरुले काम पनि राम्रो पाउँने र कमाइ पनि राम्रो हुने जनाउदै अध्यक्ष खड्काले कतिपय टेलिकम, संयुक्त राष्ट्र संघअन्तर्गतका निकायहरु, केही गार्मेन्ट, रेस्टुराँ, टेलिकम, बैंकिङ क्षेत्रमा यहाँ नेपालीहरु कार्यरत रहेको बताए । उनले केही नेपाली यहाँको सुरक्षा गार्डमा समेत कार्यरत रहेको र थोरै मात्र गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताए । खड्काले कम्बोडिया भर्खरै विकाशको दुर्त गतिमा अगाडी बढेको देश भएकाले यसलाई रोजगारको मुख्य गन्तव्य बनाउन सकिने बताए ।
कम्बोडियालाई रोजगारको मुख्य गन्तव्य बनाउन नेपालले रोजगारीका लागि कम्बोडिया खुला गर्नुपर्ने जनाउदै खड्काले हाल मानव तस्करले प्रलोभनमा पारेर नेपालीलाई कम्बोडिया पुर्याउने गरेकोले यो रोक्नुपर्ने बताए । कम्बोडियामा राम्रो कम्पनीहरु पनि धेरै छन, राम्रो आम्दानी हुन्छ भन्दै तस्करले फसाएर पठाउने गरेको र समस्यामा परेका धेरै नेपालीलाई उद्धार गरी नेपाल फर्काएको पनि खड्काले बताए । तस्करहरूले १० लाख रुपैयाँसम्म असुलेर नेपाली कामदारलाई कम्बोडिया ल्याउने गरेका छन । यस्तो गलत अभ्यास हुन नदिन सरकारले यहाँको सरकारसँग वार्ता गरी श्रम संझौता गरेर श्रम गन्तव्य मुलुकको रुपमा राख्नु जरुरी छ खड्काले बताए ।
कम्बोडियाका चिनियाँ कल सेन्टरमा नेपाली युवाको तस्करी हुने गरेको जनाउदै उनले चिनियाँ कम्पनीमा सयौँ नेपाली युवा दासका रूपमा काम गर्ने गरेको र समस्यामा परेपछि उद्धारका लागि आग्रह गर्न एनआरएनएमा आइपुग्ने बताए । नेपाली युवालाई भिजिट भिसामा कम्बोडिया पुर्याएर यहाँ ‘मानव दास’का रूपमा बिक्री गर्ने क्रम बढ्न थालेकोेले सरोकारवाला निकाय सजग हुनुपर्ने उनी बतौछन । आकर्षक रोजगारीको प्रलोभनमा कम्बोडिया पुगेका कतिपय युवा समस्यामा परेपछि आफ्नो उद्धारका लागि उनीहरूले आग्रह गर्ने गरेका छन । चिनीयाले काम गर्न त दिन्छ तर भनेअनुसार गर्न नसकेपछि अँध्यारो कोठामा लगेर यातना दिन्छ । कल सेन्टरमा लगी इन्टरनेटमार्फत हुने जुवा तथा ठगीका काममा लगाउने गरेको खड्का बताउछन । कल सेन्टरका नाममा चिनियाँले सञ्चालन गरेका यस्ता गोप्य ‘अखडा’मा त्यहाँको प्रहरीले पटक–पटक छापा हान्दै आएको पनि छ ।
ठगिएका कामदारको पक्षमा तपाइँहरुले आफुहरुले धेरै सहयोग गर्ने गरेको जनाउदै यहाँ आउने कामदार कुनै सीप नभई कोरा हिसाबले आउने गरेकाले समस्या सिर्जना भएको दावी गर्छन । सरकारसँग श्रम बजारमा नेपाली ठगिएका छन् । यसलाई रोकथाम गर्नुपर्छ । सात लाख रुपैयाँ तिरेर आउँछन भनेजस्तो काम नपाएर नेपाली ठगिएका छन । आफुहरुले समस्यामा परेका दर्जनौ नेपालीलाई सकुशल स्वदेश फर्काएको अध्यक्ष खड्का बताउछन । अझै पनि कल सेन्टरमा धेरै नेपाली फसेको सुचना प्राप्त गरेको उनी बताउछन । कम्बोडियामा नेपाली दूतावास छैन, बैंककस्थित दूतावासले हेर्ने गर्छ । कम्बोडियामा अलपत्र परेका नेपालीले थाइल्यान्डस्थित नेपाली दूतावाससँग समन्वय गरेर उद्धारका लागि प्रयास गर्ने गरेको उनी बताउछन । बिरानो मुलुकमा अलपत्र सबैले संघसंस्था र आफन्तको सहयोगमा गुजारा गर्दै आएका छन । आफू फसेको थाहा पाएपछि उनीहरूले कम्बोडियास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) गुहार्ने गर्छन । संघले उनीहरूलाई खाना खान आर्थिक सहयोग समेत गर्ने गरेको छ । मानव बेचबिखनमा संलग्न समूहले कम्बोडिया पुर्याएर चिनियाँले सञ्चालन गर्दै आएको ‘कल सेन्टर’मा बन्धक बनाएर काममा लगाउने गरेका छन । जहाँ अनलाइन जुवा तथा ठगीसम्बन्धी अवैध गतिविधि हुने गरेको छ । लाखौँ खर्च गरेर त्यहाँ पुगेकाको शोषणसमेत हुँदै आएको छ । त्यसमा परेका दर्जनौ युवा परिवार र गैरआवासीय नेपालीको सहयोगमा स्वदेशसमेत फर्किएका छन ।
कम्बोडियाका पर्यटकलाई नेपाल भित्र्याउन सकिने जनाउदै खड्कालेकम्बोडिया गृहयुद्ध र राजनीतिक अशान्तिको भुँमरीमा रुमलिरहेको देश भएको र राजनीतिक स्थिरतापछि कम्बोडियाले बिस्तारै विकास र समृद्धिको यात्रा शुरु गरेकोले कम्बोडियाका धेरै नागरिकहरु वर्षेनी विदेश भ्रमणमा जाँदा नेपाल पठाउन सकिने बताए । यसको लागी पहिला त सिधा हवाई उडान आवश्यक रहेको जनाउदै खड्काले कम्बोडियामा वार्षिक ५० लाख हाराहारीमा विदेशी पर्यटक आउने गरेको बताए । कम्बोडियाका धेरै नागरिकहरु वर्षेनी विदेश भ्रमणमा निस्कन्छन उनीहरुलाई नेपाल भ्रमणमा आकर्षित गर्न सकिन्छ । उनीहरुको आर्थिक अवस्था राम्रो भएकाले खर्च गर्न पनि सक्छन। कम्बोडियाले पनि नेपाललाई अनअराइभल भिसा दिने भएकाले पर्यटन व्यवसायीहरु यहाँ आएर नेपालको पर्यटनका बारेमा प्रचारप्रसार गर्न सके पक्कै पनि नेपाल भ्रमण गर्ने कम्बोडियाली नागरिकको संख्या बढाउन सकिन्छ । कम्बोडियाली नागरिकहरु पनि बुद्दीस्ट धर्म मान्ने र बुद्दको जन्मस्थान नेपाल भएकाले पनि उनिहरु नेपाल घुम्न ईच्छुक रहेका छन । यसमा एनआरएनले पनि सहयोग र समन्वय गरिरहेको खड्काले बताए ।