काठमाण्डौं ।काठमाडौंको बाफल स्थित नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय ज्ञानोदय माविमा नेपालको नक्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई नेपाल चिनाउने अभियानका साथ अभियन्ता ईश्वर अर्यालबाट संचालित नेपालको नक्सा वितरण कार्यक्रम अन्तर्गत आज उक्त विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उहाँले आफनै सौजन्यमा ज्ञानोदय विद्यालयमा कक्षा ९ का ९ सेक्सन र १० का ७ सेक्सनमा अध्ययनरत करिब ८७७ जना छात्र छात्राहरूलाई नेपालको नक्सा वितरण गर्नुभयो । विद्यार्थी सहित उहाँले विद्यालयलाई पनि नेपालको नक्सा प्रदानगर्नु भयो। विद्यालयको तर्फबाट प्रध्यानाध्यापक नातीकाजी महर्जनले उक्त नक्सा ग्रहण गर्नुभएको थियो । नेपाल सरकार नापी विभागका पूर्व सर्वेक्षक ईश्वर अर्यालले शुरु गर्नुभएको नेपाल चिनाउने अभियानको यो ४० औं श्रृंखला हो । उहाँको अभियानप्रति एक्येबद्धता जनाउनुहुँदै साथमा नागार्जुन नगरपालिकाका सदस्य राम प्रसाद खनाल, पूर्व नापी अधिकृत महेन्द्र अर्याल लगायतले नक्सा वितरण कार्यक्रममा सहभागीता जनाउनु भएको थियो । कार्यक्रममा विद्यालयका प्राध्यानाध्यापक नातीकाजी महर्जन, व्यवस्थापन समिती सदस्य रामेश्वर गौतम र शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
नेपाल सरकार मातहत नापी विभागका पूर्व सर्वेक्षक समेत रहनुभएका अभियन्ता अर्यालले स्कुले बालबालिकाहरुलाई नक्साको महत्व बारे जानकारी दिनुहुँदै नेपाल चिनाउने अभिप्रायका साथ आफूले नयाँ नक्सा वितरण अभियान संचालन गरेको बताउनुभयो । उहाँले नक्सा वितरण पश्चात बालबालिकामा राष्ट्रि«यताप्रति अझ जिम्मेवार बन्न प्रेरणा मिल्ने, नक्साको संकेत चिन्हलाई इन्डेक्स नभई लिजेण्ड लेख्नुपर्ने साथै शिक्षण सिकाई र भविष्यमा विश्वको जुनसुकै कुनामा भ्रमणमा निस्केका बेला व्यवहारमा उतार्न उक्त नक्साले सहजता थप्ने उल्लेख गर्नुहुँदै नक्साको विश्वव्यापी मान्यता लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । साथै उहाँले नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल ज्ञानोदय माविमा अध्ययनरत विद्यार्थी माझ अभियान लिएर आउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै विद्यालयले आगामी दिनहरुमा समेत आफ्नो साँख र गरिमालाई अक्षुण राख्दै अघि बढनेमा आफु ढुक्क रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा विद्यालयका प्रध्यानाध्यापक नातीकाजी महर्जनले देशको आधिकारीक राजनैतिक नक्साले शिक्षण सिकाईमा सघाउ पुर्याउने हुँदा विद्यार्थीहरुको शैक्षिक उन्नयनमा टेवा पुग्ने बताउनु हुँदै अभियन्ता अर्यालको अभियानको सफलताको कामना समेत गर्नुभयो ।साथै आफनै खर्चमा नक्सा वितरण गर्दै आउनुहुने अभियन्ता अर्यालको अभियान प्रति सम्मानभाव दर्शाउदै विद्यालयको तर्फबाट उहाँसहित उहाँको अभियानमा सकृयतापुर्वक जोडिदै आउनुहुने रामप्रसाद खनाललाई प्रशंसापत्र प्रदान गरियो । उहाँहरुलाई ज्ञानोदय मावि व्यवस्थापन समिती सदस्य रामेश्वर गौतम र प्राध्यानाध्यापक महर्जनले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
अभियन्ता अर्यालले यस अघि आफुहरुले काठमाण्डौं पुतलीसडक स्थित पद्मोदय मा वि, डिल्लीबजार स्थित कन्या मा वि, नक्साल स्थित नन्दी मावि, जमल स्थित दरबार हाई स्कुल, क्षेत्रपाटी स्थित कन्या मावि, तारकेश्वर स्थित नेपाल राष्ट्रिय मावि र मानसिं धर्म स्कुल, धादिङ्ग जिल्ला ज्वालामुखी गापा वडा नं ५ को वालादेवी मा वि, त्रिपुरा सुन्दरी मा वि, अन्नपुर्ण मा वि लगायतका विभिन्न विद्यालयमा पुगेर आफुले विद्यार्थीहरुलाई नेपालको नक्सा वितरण गरेको जानकारी समेत दिनुभयो ।