Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जन्मको आधारमा नागरिकता दिन नहुने : दुर्गा पौडेल

Friday, July 22, 2022 National Power

काठमाडौं -राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जन्मको आधारमा नागरिकता दिन नहुने बताएकी छिन् । शुक्रबार प्रतिनिधिसभामा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बोल्दै सांसद पौडेलले नेपाल भारत खुला सिमानाका कारण जन्मको आधारमा नागरिकता दिँदा भोलिका दिनमा नेपाली नै अल्पमतमा पर्ने खतरा उत्पन्न हुने बताइन् । विधिशास्त्रीय सिद्धान्तका आधारमा पनि जन्मका आधारमा नागरिकता दिन नहुने र जन्मका आधारमा नागरिकता पाएकाहरुलाई वंशजको नागरिकता दिन नहुने उल्लेख गरिन् ।

सांसद पौडेलले भनिन्– ‘हाम्रो जस्तो मुलुकको हकमा बुझ्नुपर्ने कुरा के छ भने अंगीकृत नागरिकताको पुरानै प्रावधान छ । त्यो अंगीकृत नागरिकताको प्रावधानलाई अगाडि बढायौं भनेपनि पुग्छ । पहिले जसरी जन्मका आधारमा नागरिकता वितरण भएको थियो, त्यो नागरिकता वितरणमा सर्वोच्च अदालतले रोक लगाएको थियो । त्यो कुरा अहिलेसम्म पनि छानविन भएको छैन । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ त्यसमा दुईमत छैन तर भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । अंगीकृत नागरिकता पाउने सांसदले कस्तो कुरा ब्यक्त गरेको हो त्यो संसदमा रेकर्ड भएकै छ । त्यसैले यी कुरालाई मध्यनजर गर्न जरुरी छ ।’

बाबु र आमा दुवैजना वंशज छन् उनीहरुलाई मात्र वंशजको नागरिकता दिनुपर्ने बताउँदै जन्मकै आधारमा वंशजको नागरिकता दिने कुरा कुनै विधिशास्त्रीय ढंगले पनि नमिल्ने कुरा भएको उल्लेख गरिन् । विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिन ७ वर्ष कायम राखेर जानुपर्नेमा जोड दिइन् ।