तनहुँ — दमौली बजारका होटलहरू पाहुनाले भरिएका छन् । बजार र जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा दिनभर क्यामरा बोकेकाहरू देखिन्छन् । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि उनका आफन्त, समर्थक, सञ्चारकर्मी र युट्युब च्यानल सञ्चालकहरूको भीड दमौली केन्द्रित भएको हो । पक्राउ पुर्जी जारी भएपछि आफैं आएका शाह गत आइतबारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कारबाहीका लागि उनीविरुद्ध गत बिहीबार जाहेरी दर्ता भएको थियो । जिल्ला अदालतले ७ दिनको न्यायिक हिरासतमा राख्न दिएको अनुमतिपछि अनुसन्धान भइरहेको डीएसपी युवराज खड्काले बताए ।
‘अनुसन्धान जारी छ, जति सक्दो छिटो प्रक्रिया सकेर अदालतमा पेस गर्छौं,’ उनले भने । शाहलाई भेट्ने भन्दै उनका आफन्त, समर्थक र युट्युबरहरूको दिनहुँ भीड लाग्न थालेपछि प्रहरी हैरान छ । भीडले गत सोमबार शाहको पक्षमा नाराबाजी नै गरेको थियो । नाराबाजी गर्न लगाउँदै भिडियो खिच्नेहरूको भीड देखेर दमौलीका स्थानीय पनि हैरान छन् । कार्यालय परिसरमा अनधिकृत प्रवेश रोक्न प्रहरीले जनशक्ति थपेको छ भने भीड छेक्न मंगलबारदेखि मूल गेट अगाडि बाँस, ब्यारिकेट र डोरी लगाएको छ । आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई शाहसँग भेटका लागि प्रवेश नदिइएको प्रहरीले जनाएको छ ।
घटनामा अनुसन्धान गर्न शाहलाई बिहीबार गैंडाकोट ल्याइने प्रहरीले जनाएको छ । शाहले आफूलाई मादक पदार्थ खुवाई गत चैत ७ मा गैंडाकोटको एक होटलमा बलात्कार गरेको भन्दै किशोरीको जाहेरी इलाका प्रहरी कार्यालयमा गत आइतबार दर्ता भएको थियो । त्यसैका आधारमा उनलाई गैंडाकोट ल्याइने जिल्ला डीएसपी दिलीप गिरीले बताए । ‘मुद्दामा बयान लिन तनहुँबाट गैंडाकोट ल्याएर अनुसन्धानको कारबाही हुन्छ,’ उनले भने । शाहविरुद्ध प्रहरीका दुई युनिटमा एउटै कसुरमा कारबाहीको जाहेरी परेकाले दुवैतिर हुने अनुसन्धानले एउटै मुद्दामा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।