Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

मैत्रीपूर्ण खेलमा तनावपूर्ण ब्यवहार

Wednesday, February 2, 2022 National Power

काठमाडौँ-नेपालले अफ्रिकी देश मोरिससविरुद्ध खेलेको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रुपमा सम्पन्न भएको छ । खेल मैत्रीपूर्ण भएपनि खेलाडी र अफिसियलले मैदानमा अमैत्री ब्यवहार देखाएका छन् । दशरथ रंगशालामा मंगलबारको खेल प्रारम्भमा उत्कृष्ट रुपले चलेको थियो । तर नेपालको सुरुवाती गोल र मोरिससले लगत्यै पेनाल्टी मिस गरेपछि खेल अन्तिमसम्म तनावपूर्ण रह्यो । खेल नेपालले १–० गोलले जित्यो । १०औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नेपालको जितमा प्रयाप्त भयो । डिबक्सभित्र घम्साघम्सीबीच पुजन नगरकोटीले उपलब्ध गराएको बलमा सुजलले पोस्ट नजिकबाट जाली चुमाउनुभएको थियो । नेपालका लागि सुजलको यो अन्तर्राष्ट्रिय तेस्रो गोल हो ।

नेपालको अग्रतापछि जोसिएको मोरिससले लगत्यै पेनाल्टी पाएको थियो । मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहारलाई नेपालका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले सजिलै विफल पार्नुभयो । ११औँ मिनेटमा नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेजलाई डिबक्सभित्र लडाएपछि मोरिससले पेनाल्टी पाएको थियो । पहिलो खेलको तुलनामा दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको मोरिससको थप शसक्त प्रहारमा नेपालका गोलरक्षक किरण बाधक बन्नुभयो । किरण ‘म्यान अफ दि म्याच’ बन्नुभयो । उहाँले ७५ हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नुभयो ।

दोस्रो हाफमा खेल थप तनावपूर्ण बन्यो । दोस्रो खेलमा मोरिससले अघिल्लो खेलमा कोरोनाका कारण नखेलेका चार खेलाडी खेलाएको थियो । मोरिससले दोस्रो हाफमा नेपाललाई कडा चुनौती दिएको थियो । ८०औँ मिनेटमा दुवै तर्फका खेलाडी एक आपसमा हात हालाहालको अवस्थामा पुगे । कार्डको बर्षा भएको खेलमा मोरिससले नौ र नेपालले १० खेलाडीमा खेल सकाए । रेफ्री नविन्द्र महर्जनलाई खेल कन्ट्रोल गर्न हम्मेहम्मे परेको थियो ।

खेलाडी टसलमा उत्रिएपछि मोरिससका एडरिन बोटबर र इमानुल फुलचन्ड तथा नेपालका पुजन उपरकोटीले दोहोरो पहेँलो ९रातो० कार्ड पाउनुभयो । पुजनले विपक्षी खेलाडीको मुखमा बलले हानेपछि झगडाले चर्को रुप लिएको थियो । मैदानभित्र खेलाडीबीच चलेको द्वन्द्वमा सामेल हुन पुगेपछि नेपालका गोलरक्षक प्रशिक्षक विकास मल्लले पनि रातो कार्ड पाउनुभयो । कार्डको बर्षा भएको खेलमा नेपालले चार र मोरिससले सात वटा पहेँलो कार्ड पाएको थियो ।

तनावकै बीच खेलको अन्तिममा रंगशालाको फ्लड लाईट पूर्ण रुपमा नबलेपछि खेल १० मिनेट रोकिएको थियो । विजुली बत्ती गएर स्कोर बोर्ड समेत पूर्णब न्द भएपछि रेफ्री नवीन्द्रले १० मिनेट खेल रोकेर पुनः सञ्चालन गर्नुभएको थियो । मोरिसससँगको खेलसँगै रक्षक नवीन गुरुङले डेब्यु गर्नुभएको छ । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा मोरिससलाई १–० गोलले नै हराएको थियो । पहिलो खेलमा नेपालका लागि विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले फुटबल खेलको क्रममा मैदानमा तनाव हुनु स्वभाविक भएको बताउनुभयो । ‘फुटबलमा कहिले काँही यस्तो हुन्छ । मैदानमा हार वा जितले तनाव पैदा हुन्छ । नियन्त्रण गर्न र सम्हालिन नसक्दा त्यस्तो हुन्छ,’ अल्मुताइरीले भन्नुभयो । उहाँले आफुले दुवै खेलमा जितको आशा नगरेको पनि बताउनुभयो । ‘मलाई दुवै खेलमा जित निस्किन्छ भन्ने लागेको थिएन । एक जित र एक हार वा एक जित र एक बराबरी होला भन्ने लागेको थियो । तर दुवैमा जित निस्कँदा खुशी छु । यसले नेपालको फिफा वरीयतामा सुधार गर्नेछ । आजको खेलले शारिरिक रुपले बलियो खेलाडीसँग पनि नेपालले खेल्न सक्छ भन्ने प्रमाणित भएको छ । टोलीमा डेब्यु गरेका नयाँ खेलाडीले पनि राम्रो प्रदर्शन गरेका छन्,’ अल्मुताइरीले भन्नुभयो । कोरोनाको संक्रमण हुने डरले पनि आफुले यस खेलका लागि दुई टोली तयार पारेको उहाँको भनाई थियो ।

यसैगरी मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाली खेलाडीले अनावश्यक रुपमा उत्तेजित बनाउँदा खेलमा तनाव उत्पन्न भएको बताउनुभयो । ‘पहिलो खेलको तुलनामा खेलाडीले धेरै राम्रो खेले । मौका लगातार पाएको हो । पेनाल्टी मिस हुनु हारको अर्को कारण बन्यो । खेलमा तनाव हुनुको दोष रेफ्रीलाई दिएर हुँदैन । दशरथ रंगशालाको पिच पनि त्यति राम्रो थिएन । हामीले साँढे दुई बर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेका हौँ । अब सुधार गर्दै जानेछौँ, टोनीले भन्नुभयो, ‘नेपालको आतिथ्य र अनुभव राम्रोसँग सँगालेर राख्नेछौँ ।’