Monday 12th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्ति एक अर्काको साथी

Sunday, January 30, 2022 National Power

विराटनगर – मोरङको धनपालथान गाउँपालिका–७ को उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्ति एक अर्काको साथी रहेको खुलेको छ । अर्को शवको पनि पहिचान खुलेपछि दुवै साथी रहेको खुलेको हो ।उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३ घर भई भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठको पहिचान खुलेको थियो । श्रेष्ठको पोष्टमार्टमपछि आफन्तले शुक्रबार नै सदगद गरेका थिए ।

तर अर्को एउटा शवको सनाखत भएको थिएन । अनुसन्धानको क्रममा अर्को शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले चौधरीको शव उनका आफन्तले सनाखत गरेको जानकारी दिए । मृतकको शारिरीक बनावट र घटनास्थलमा भेटिएको कपडाका आधारमा आफन्तले शवको पहिचान गरेका हुन् ।

प्रहरी उपरीक्षक जिसीका अनुसार उनीहरु दुबै एकै समयमा सम्पर्कविहीन थिए । श्रेष्ठको सम्पर्कका आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो । ‘दुवै जना सँग–सँगै रहेको देखिन्छ,’ प्रहरी उपरीक्षक जिसीले भने, ‘व्यवसायीक साझेदार हुन् या होइनन् भन्ने खुलेको छैन ।’ धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय श्रेष्ठ र शम्भूनाथ नगरपालिका–४ का चौधरी जग्गा कारोबारमा संलग्न भएको प्रहरी स्रोत बताउँछ ।

गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए । चौधरी पनि उनीसँगै आएको प्रहरी निष्कर्ष छ । लेनदेनको विवादमा दुवै जनाको सँगै हत्या भएको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । प्रहरीले विराटनगर, झापा र काठमाडौंका केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरिरहेको छ ।गत बुधबार उखु काट्ने क्रममा कामदारले खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेको प्रहरीले बुधबार एउटा खाल्डोबाट चौधरीको शव फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब ३० मिटरको दुरीमा रहेको अर्को खाल्डोमा श्रेष्ठको शव फेला परेको थियो ।

प्रहरीका अनुसार दुवै जनाको हत्यापछि गाड्ने प्रकृति एउटै थियो । छुट्टाछुट्टै स्थानमा शव गाडिएको भए पनि दुवैको घाँटीमा डोरीको डाम थियो । बिजुलीको पोल गाड्ने जस्तो खाल्डोमा नुन हालेर गाडिएका दुवैलाई यातनापछि हत्या गरेर उखुबारीमा गाडेको जस्तो देखिएको प्रहरी स्रोतको भनाइ छ ।