काठमाडौं- देशका शीर्ष राजनीतिक दलका नेताहरुमा कोभिड–१९ संक्रमण देखिने क्रम बढ्दो छ । पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई माघ ५ गते बुधबार कोभिड–१९ पुष्टि भयो । शर्माको स–परिवार कोभिड–१९ बाट संक्रमित हुनुभएको छ । यसैगरी काँग्रेसका नेताहरु डा. प्रकाशरण महत, डा। डिला संग्रौला संक्रमित हुनु भएपछि उहाँहरु होम आइसोलेसनमा रहनुभएको छ ।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोभिड–१९ बाट संक्रमति हुनुभएपछि होम आइसोलेसनमा नै हुनुहुन्छ । एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुषाल, सचिव जगन्नाथ खतिवडा लगायत कल्याणी खड्का र राजकुमार भट्टराईलाई संक्रमण पुष्टि भए पनि उहाँहरु होम आईसोलेसनमा हुनुभएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । ‘पार्टीको अध्यक्ष र महासचिवलाई नै कोरोना संक्रमण भएपछि महत्वपूर्ण नियमित बैठक एवम् सँगै बसेर गर्नुपर्ने विभिन्न तयारीमा असर पुगेको छ । माघ १२ गते राष्ट्रियसभा निर्वाचन हँदैछ । गठबन्धको महत्वपूर्ण बैठकमा अध्यक्ष र महासचिव जानैपर्ने हुन्छ तर उहाँहरु संक्रमित हुनुभएका कारण असर पुगिरहेको छ ।’, खतिवडा बताउनुहुन्छ । खासगरी आगामी आम चुनावसँग जोडिएका विषयमा तयारी एवम् छलफलमा असर पुगिरहेको उहाँको भनाई छ ।
कोरोना संक्रमित हुनुभएका एकीकृत समाजवादीका उपमहासचिवहरु विजय पौडेल, प्रकाश ज्वाला र डा. गंगालाल तुलाधर भने भर्खर–भर्खर संक्रमणबाट मुक्त हुनुभएको छ । नेकपा (एस) का केन्द्रीय कार्यालयका सचिव समेत रहनुभएका तुलाधर भने अहिले पार्टी कार्यालयमा नियमित जाने गर्नुभएको खतिवडाले बताउनुभयो ।
यसैगरी सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा पुस २३ गते कोभिड–१९ संक्रमण पुष्टि भएकोमा अहिले उहाँ संक्रमणमुक्त हुनुभई सरकार एवम् पार्टीको नियमित भेटघाटमा सक्रिय समेत भइरहनुभएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि माघ ५ गते बुधबार संक्रमणमुक्त हुनुभएको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार केन्द्रीय तहका प्राय नेताहरु संक्रमणमुक्त हुनुभएको छ । उहाँहरुमा गम्भिर खालको समस्या वा अस्पताल भर्ना नै गर्नुपर्ने अवस्था अहिले छैन । तर, प्रदेश एवम् तल्लो तहका केही नेताहरु भने अलि बढी नै बिरामी हुनुभएको छ । सरकारले २५ जनाभन्दा बढी भेला गर्न नहुने स्वास्थ्य प्रोटोकल लागू गर्न निर्देशन दिएको अवस्थामा माघ ८ गते पूर्वनिर्धारित केन्द्रीय कमिटीको बैठक भने सर्ने निश्चित भएको उहाँ बताउनुहुन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, युवराज ज्ञवाली पनि कोभिड–१९ बाट संक्रमित हुनुभएपछि होम आइसोलेसनमा नै हुनुहुन्छ । यसैगरी, एमाले महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य पार्वती रावल पनि संक्रमित हुनुहुन्छ भने कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुभएको राजन भट्टराई परीक्षणको क्रममा हुनुहुन्छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार जिल्ला अधिवेशन लगायत पार्टीका सबै कार्यक्रमहरु स्वास्थ्य प्रोटोकल अप्नाएर मात्रै गर्नेगरी स्थगन भएको छ । स्वास्थ्य प्रोटोकल कार्यान्वयन हुनुपर्नेमा एमालेले सर्कुलर पनि जारी गरिसकेको उहाँ बताउनुहुन्छ ।