Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

Tuesday, January 18, 2022 National Power

काठमाडौं –  सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो । छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिए ।

यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने उनले बताए । बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ । तर, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बैठकमा उपस्थित नभएको स्थानीय तहको चुनावको मितिबारे निर्णय नभएको मा‌ओवादी नेता देवप्रसाद गुरुङले बताए । ‘संवैधानिक व्यवस्था अनुसार चुनाव गर्ने भन्ने छ तर मितिका बारेमा टुंगो लागेको छैन । माधव नेपाल र उपेन्द्र यादव अनुपस्थित भएकाले सैद्धान्तिक छलफल मात्रै भयो,’ गुरुङले भने ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले ९ पुस, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।निर्वाचनको संवैधानिक र कानूनी पाटो बुझ्न आयोगमा पुगेका महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग पनि आयोगका पदाधिकारीहरुले स्थानीय निर्वाचन वैशाखमै हुनुपर्ने बताएका थिए । तर सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन ।