Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

Tuesday, January 4, 2022 National Power

सुर्खेत –  आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभाको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा सत्तारुढ गठबन्धनले साझा उम्मेदवार चयन गर्ने भएको छ भने एमालेले एक्लै प्रतिस्पर्धा गर्ने देखिएको छ । निर्वाचनका लागि दुवै पक्षले उम्मेदवार चयन गरिसकेका छन् । गठबन्धनबाट तीन जना उम्मेदवार छानिएका छन् । जसमा नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतबाट नरबहादुर विष्टको नाम टुङ्गिएको छ । उनी संविधानसभा सदस्य र माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

यस्तै नेपाली काँग्रेसले सुर्खेतकै दुर्गा गुरुङलाई उम्मेदवार बनाउने भएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले रातोपाटीलाई जानकारी दिए । गुरुङ सहिद पत्नी रहेको पनि उनले बताए । यस्तै अन्यको सूचीबाट नेकपा एकीकृत समाजवादीले सल्यानका उदय बोहोरालाई उम्मेदवार बनाउने भएको छ ।
यता एक्लो रहेको नेकपा एमालेले पनि तीनै जना उम्मेदवारको नाम टुङ्ग्याएको छ । प्रदेश अध्यक्ष विनोद कुमार शाहीका अनुसार सिफारिस गरिएका ९ जनामध्ये तीन जनाको नाम फाइनल भएको छ । एमालेबाट महिलातर्फ जुम्लाकी गङ्गा महत र अन्य समुदायबाट सुर्खेतका चूडामणि शर्मा उम्मेदवार बनेका छन् । अल्पसंख्यक माझी समुदायबाट दैलेख आठबीस नगरपालिका–४ का पदम माझी उम्मेदवार बनेको उनले जानकारी दिए ।

रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (हाल समाजवादी), हुम्लाका कविता वोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) को पदावधि फागुन १८ गते सकिने भएपछि निर्वाचन आयोगले ती सिटका लागि माघ १२ गते निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम घोषणा गरेको हो । कर्णालीमा सत्ता गठबन्धनमा तीन दल काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् । मुख्यमन्त्री शाहीले राष्ट्रियसभा निर्वाचनमा आफूहरुको सहज जित हुने दाबी गरे ।उनले भने, ‘हाम्रो जित त १०० प्रतिशत नै हो नि . . .! बेइमानी हुने कुरा पनि भएन ।’

यसअघि कर्णालीमा नेकपा एमाले एकल बहुमतमा थियो र जनाधार बलियो नै थियो । तर पार्टी विभाजनले एमालेको मतभारमा कमी आएको छ ।स्थानीय तहको निर्वाचनमा ७९ वटा स्थानीय तहमध्ये एमालेले २९ वटामा जित हासिल गरेको थियो भने माओवादी र काँग्रेसले २५/२५ स्थानीय तहमा जितेका थिए । कर्णाली प्रदेशसभामा ४० सीटमध्ये एमालेका मात्र २० सांसद थिए । तर एमाले विभाजन भइसकेपछि प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा, नन्दसिंह बुढाले ‘फ्लोरक्रस’ गरेका कारण सांसद पद गुमाए भने देवी ओली, चन्द्रबहादुर शाही र पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजे ।

अब कर्णाली प्रदेशसभामा एमालेका १३ जना सांसदमात्र छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभातर्फ एमालेको मतभार ६२४ छ । यस्तै एमालेसँग स्थानीय तहमा ८१० मतभार हुन्छ । प्रदेश र स्थानीय तह गरी एमालेसँग कुल एक हजार ४३४ मतभार हुन्छ ।एकीकृत समाजवादीका तीन जना सांसदको मतभार भनेको १४४ हुन्छ । सो पार्टीका स्थानीय तहका १३ जनाको मताभार २३४ समेत जोड्दा कुल मतभार ३७८ हुन आउँछ ।

यस्तै माओवादी केन्द्रसँग स्थानीय तहमा ५२ पदाधिकारी छन् भने प्रदेशसभामा १२ जना सांसद छन् । माओवादीसँग स्थानीयतहबाट ९३६ र प्रदेशबाट ५७६ गरी कुल एक हजार ५१२ मतभार हुन्छ । यस्तै नेपाली काँग्रेससँग स्थानीय तहमा ७२० मतभार छ भने प्रदेसभामा ६ सांसदको ४८ का दरले २८८ मतभार हुन्छ । दुवै जोडदा काँग्रेससँग एक हजार ८ मतभार हुन आउँछ ।

गठबन्धनमा रहेका तीन दलको मतभार कुल २ हजार ८९८ हुन आउँछ भने एमालेसँग एक हजार ४३४ मतभारमात्र हुन्छ । मतभारलाई आँकलन गर्दा गठबन्धन नै बहुमतमा देखिन्छ । राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रदेशसभाका सदस्य मतदाता हुन्छन् । पालिकाका प्रमुख उप–प्रमुखको मतभार १८ हुन्छ भने प्रदेश सांसदको मतभार ४८ हुने व्यवस्था छ ।