काठमाडौं – आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा ‘विशेष कारणबश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधि सभाको बैठक अब यही पुस २२ गते दिउँसो १ बजे बस्ने छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बतायो । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ । हाल माओवादी केन्द्रको महाधिवेशनमा नयाँ कार्यसमिति चयन प्रक्रिया सुरु भएको छ ।
आज दिउँसो १ बजेसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन गर्ने तयारी छ ।