Monday 7th October 2024

    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

शेरबहादुरदेखि कल्याण गुरुङसम्म सभापतिका दाबेदारको बायोडाटा हेर्नुहोस्

Sunday, December 12, 2021 National Power

काठमाण्डौ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा। शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दिएका हुन् ।
सभापतिमा ६ जना उम्मेदवार बनेपछि १३ औं महाधिवेशनको टीम र गुट तितरवितर भएको छ । देउवासँग विद्रोह गरेर निधिले सभापतिमा उम्मेदवारी दिएका छन् भने पौडेल समूह पनि छिन्नभिन्न भएको छ । १३ औं महाधिवेशनको पौडेल समूहबाट तीनजना सभापतिका उम्मेदवार बनेका छन् । कोइराला, सिंह र गुरुङ पौडेल समूहबाट विभाजित भएर आमुन्ने–सामुन्ने भएका हुन् । गोरखाको आरूघाटका ४० वर्षीय न्यौपाने भने काँग्रेसमा अपरिचित नाम हो । गोरखाबाट महाधिवेशन प्रतिनिधि जितेका न्यौपाने महामन्त्रीका उम्मेदवार गगन थापा निकट मानिन्छन् । उनको उम्मेदवारीले पनि केही मत संस्थापन इतरकै काट्ने देखिन्छ ।

देउवा समूहबाट निधि बाहिरिएका छन् भने कृष्णप्रसाद सिटौला पक्ष जोडिएको छ । देउवा पक्षले निधिको उम्मेदवारीलाई त्यति गम्भीर रुपमा लिएको छैन । तर, निधिले देउवा पक्षको केही भोट काट्ने अनुमान गरिएको छ ।साथै १३ औं महाधिवेशनमा काँग्रेसभन्दा बाहिर रहेको विजय गच्छदार समूह देउवाको साथमा छ । सुनीलबहादुर थापा देउवाको टीममा उम्मदेवारका रुपमा अटाएका छैनन् । तर, थापाले देउवालाई नै साथ लिने संस्थापन पक्षको दाबी छ ।

शेखर र प्रकाशमान आमने सामने हुने अवस्था आएपछि रामचन्द्र पौडेलले प्रतिस्पर्धाबाट विश्राम लिएका छन् । १३ औं महाधिवेशनमा सिटौलालाई साथ दिएका गगन थापाले शेखर कोइरालालाई रोजेपछि सिटौलाले आफ्नो समूह देउवा समूहमा मिसाएका छन् । १३ औं महाधिवेशनमा देउवासँगै सभापतिमा भिडेका सिटौला आफूचाहिँ प्रतिस्पर्धाबाट बाहिरै बसेका छन् ।

शेरबहादुर देउवाको जन्म विसं २००३ जेठ महिनामा डडेलधुरामा भएको हो । उनी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बनेका थिए । देउवाले नेविसंघमा करिब १० वर्ष ९२६–३६० नेतृत्व गरे । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको १० औं पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए । २०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए र पराजित भए । ०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उनी सर्वसम्म सभापति चयन भए ।

०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका १२ औं महाअधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा काँग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

काँग्रेस प्रजातान्त्रिकको गरी ३ पटक पार्टीको नेतृत्व गरेका देउवा फेरि सभापतिको मैदानमा उत्रिएका छन् । ५ औं पटक प्रधानमन्त्री भएर देउवाले अहिले मुलुक हाँकी रहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले काँग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराएका छन् ।

पहिलो उस्ताका उनी दोस्रो पुस्ताका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, तेस्रो पुस्ताका प्रकाश महत र चौथो पुस्ताका प्रदीप पौडललाई पदाधिकारीमा समेटेका छन् ।

विमलेन्द्र निधि

विमलेन्द्र निधिको जन्म १० असोज ०१३ सालमा जनकपुरमा भएको हो । काँग्रेसका संस्थापक मध्येका एक महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र १४ वर्षकै उमेरमा राजनीतिमा लागेका हुन् ।

उनी देउवापछि ०३६ सालमा नेविसंघको सभापति बने । तर, काँग्रेसको केन्द्रीय राजनीतिमा आउन भने निधिलाई केही समय लाग्यो ।

काँग्रेसको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य उठेका उनी भीमबहादुर तामाङसँग पराजित भए । तर, १० औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्न सफल भए । त्यसयता उनी काँग्रेसको केन्द्रीय राजनीतिमा जमेका छन् । देउवा नेतृत्वमा नयाँ पार्टी महामन्त्री बनेका उनी एकीकृत पार्टीमा महामन्त्रीका रुपमा प्रवेश भए । तर १२ औं महाधिवेशनमा पहिलो पटक महामन्त्रीको निर्वाचन हुँदा प्रकाशमान सिंहसँग पराजित भए । १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका निधिलाई ०७५ मा देउवाले उपसभापतिमा बनाए । यतिबेला निधिले देउवा विरुद्ध सभापतिमा उम्मेदवारी दिएका छन् । तर देउवा पक्षका केन्द्रीय नेताहरु निधिको पक्षमा कोही देखिएनन् । देउवा पक्ष छोडेका प्रवक्ता विश्वप्रकाश शर्मा पनि प्रकाशमान सिंहको महामन्त्रीको उम्मेदवार भनेका छन् ।

२०१३ मा काठमाडौंमा जन्मिएका प्रकाशमान काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । ०३० सालमा नेविसंघबाट राजनीति थालेका सिंह ०३६ सालमा नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष भए । ०३८ मा काठमाडौंमा पार्टीको जिल्ला सदस्य र ०४३ सालमा जिल्ला सचिव भए । ०४५ मा काठमाडौं सभापति भएपछि लगातार दुईपटक जिल्लाको नेतृत्व सम्हाले । त्यसपछि सिंह काँग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गरे । ०५७ सालमा पोखरामा भएको १० औँ महाधिवेशनबाट सिंह केन्द्रीय सदस्यमा विजयी भए । ०५८ सालमा काँग्रेस फुट्दा देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकमा उपसभापति भए । ०६४ मा पार्टी एकीकरण हुँदा पनि उपसभापति नै भए ।

०६७ सालको १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा जित्दा सिंहले पनि महामन्त्रीमा जिते । १३ औँ महाधिवेशनमा सिंह केन्द्रीय सदस्य भए । १४ औं महाधिवेशन सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सिंहलाई साथमा गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताको साथ छ । सुजाताले सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएकी छन् । सिंहले लोकप्रिय युवा नेता विश्वप्रकाश शर्माको पनि साथ पाएका छन् । काँग्रेस प्रवक्ता समेत रहेका शर्मा सिंह प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका छन् । सिंह र सुजाता एक ठाउँमा आउने कुराले २०१२ सालको काँग्रेस महाधिवेशन सम्झाएको छ । २०१२ माघमा वीरगञ्जमा सम्पन्न महाधिवेशनमा सुवर्ण शमशेरले गणशेमान सिंहलाई पराजित गरेका थिए । तर त्यतिबेला सुवर्णको पक्षमा बीपी र गणेशमानको पक्षमा गिरिजा उभिएका थिए । यसपटक कोइराला परिवारबाटै शेखरले सभापतिमा उम्मेदवारी दिए पनि सुजाताचाहिँ सिंहको पक्षमा उभिएकी छन् । बुवा केशवप्रसाद कोइराला र आमा नोना कोइरालाका छोरा डा। शेखरको जन्म कोइरालाको जन्म २००७ भदौ ९ गते विराटनगरमा भएको हो । चिकित्सा पेसामा पेन्सन प्राप्त गर्न एक वर्ष मात्र बाँकी रहँदा ०५१ बाट शेखर पूर्णकालीन राजनीतिमा होमिए ।

राजनीतिक परिवारमा जन्मिएका शेखर नेपाली काँग्रेसको केन्द्रीय राजनीतिमा ११ औं महाधिवेशनबाट प्रवेश गरेका थिए । १३ औं महाधिवेशनमा लोकप्रिय मतका साथ एक नम्बरमा उनी सदस्य निर्वाचित भएका थिए । पार्टी वरीयतामा ३५ औं नम्बरमा रहेका शेखरको अहिलेसम्म पार्टी पदाधिकारी र मन्त्री पदमा प्रवेश भएको छैन । पार्टी पदाधिकारी नै नभई उनी सिधै सभापतिको उम्मेदवार भएर मैदानमा उत्रिएका छन् ।

शेखरलाई वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाको समर्थन छ । यद्यपि उम्मेदवारी दर्तामा शेखरका साथमा उनीहरु देखिएनन् । यता काँग्रेसको चर्चित युवा पंक्ति पनि शेखरको साथमा छ । गगन थापादेखि धनबहादुर गुरुङ, चन्द्र भण्डारी हुँदै बन्द्री पाण्डेसम्म शेखरको टीममा समेटिएका छन् । उर्जावान टीम बोकेर उनी सभापतिको दौडमा उत्रिएका छन् । पौडेल समूहबाट सिंह र सुजाता अलग्गिए पनि डा। शेखर पूर्ण टीम तयार पार्न सफल भएका छन् ।

नेपाली काँग्रेसका पुराना नेता बसन्त गुरुङका छोरा कल्याण गुरुङको जन्म २०२६ मा महोत्तरीमा भएको हो । २०४५ सालबाट राजनीतिमा सक्रिय भएका कल्याण नेविसंघ हुँदै काँग्रेसको राजनीतिमा आएका हुन् । उनी नेविसंघमा गोविन्द भट्टराई नेतृत्वको कमिटीमा केन्द्रीय सदस्य थिए भने विश्वप्रकाश शर्मा नेतृत्वको कमिटीमा सहमहामन्त्री बने । काँग्रेस विभाजन हुँदा देउवा निकट नेविसंघको सभापति निर्वाचित भए । विगतमा देउवा निकट गुरुङ काँग्रेस एकीकृत भएपछि टाढिएका थिए । गुरुङलाई तत्कालीन सभापति सुशील कोइरालाले केन्द्रीय समितिमा मनोनित गरेका थिए । १३ औं महाधिवेशनमा पौडेल समूहबाट जनजाति कोटामा केन्द्रीय सदस्य जितेका गुरुङ १४ औँमा सभापतिको उम्मेदवारी दर्ता गराएका छन् ।