Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

विश्वभर फैलियो डेल्टा भेरियन्ट

Saturday, July 31, 2021 National Power

काठमाडौं –  भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ ।

अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ । अहिले विशेषगरी युरोप र पश्चिमी प्रशान्त क्षेत्रमा कोरोना संक्रमण बढ्दो क्रममा छ । तर केही पश्चिमा मुलुकले मृत्युदरमा कमी आएको भन्दै लकडाउन खुकुलो बनाउन थालेका छन् । खोपको अभाव तथा खोप अभियान सुस्त रहेको अवस्थामा लकडाउन खुकुलो गर्नु आगामी दिनमा भने घातक साबित हुन सक्छ ।

इन्डोनेसिया : इन्डोनेसिया एसियामा कोरोना संक्रमणको केन्द्र बनेको छ । त्यहाँ दैनिक १३ सयभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइरहेको छ । जसमध्ये सयौंको मृत्यु होम आइसोलेसनमा भएको छ । अस्पतालमा उपचार गराउन बेड नपाएर जटिल खालका संक्रमित पनि घरमा बस्दा मृत्यु संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।

राजधानी सहर जाकार्तामा शव व्यवस्थापनमा खटिएका विरावान इन्डोनेसियामा संकट गहिरिँदै गएको बताउँछन् । उनी र उनको टोलीले शव सम्बन्धित व्यक्तिको घरबाटै उठाएर चिहानसम्म लैजाने काम गर्छन् । कोरोना संक्रमण बढ्न शुुरु गर्नुभन्दा पहिला उनले दैनिक दुई वा तीन शवको अन्त्येष्टिको लागि चिहान तयार पार्नुपथ्र्यो तर अहिले २४ वटासम्म चिहानको माग आउन थालेको छ । उनी एक्लैले यो माग पूरा गर्न सक्दैनन् । त्यसैले शवले पनि पालो कुर्नुपर्ने अवस्था आएको छ । अहिले इन्डोनेसियामा दैनिक ५० हजारभन्दा धेरै नयाँ संक्रमित थपिइरहेका छन् । सरकारले कम्तीमा यो साताको अन्तिमसम्मका लागि लकडाउन गरेको छ, जुन सोमबार थप लम्ब्याउने तयारी गरिएको छ ।

इन्डोनेसियामा खोप अभियान पनि निकै सुस्त चलिरहेको छ । अहिलेसम्म इन्डोनेसियामा एक करोड ६० लाखले कोरोना खोप पाएका छन् । इन्डोनेसियाको जनसंख्या करिब २० करोड ८० लाख छ ।

ट्युनिसिया : ट्युनिसियामा कोरोना महामारीको असर अहिलेसम्मकै धेरै देखिएको छ । ट्युनिसियामा डेल्टा भेरियन्टसहितका संक्रमित भेटिएसँगै संक्रमण बढ्न थालेको हो । तर, संक्रमण बढ्नुको मुख्य कारण डेल्टा भेरियन्ट नै हो वा होइन भन्ने खुलेको छैन । अहिले ट्युनिसियाका अस्पतालहरु पूर्णरुपमा भरिएका छन् । केही अस्पतालमा अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको अभाव देखिएको छ ।

त्यस्तै कोरोनाको संक्रमणदर बढेको छ भने खोप अभियान पनि सुस्त चलिरहेको छ । अहिलेसम्म केवल आठ प्रतिशत जनसंख्याले मात्र खोप लगाएका छन् । अधिकारवादी संगठनहरुले सरकारले संकटलाई सही रुपमा व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । गत मंगलबार ट्युनिसियाका स्वास्थ्यमन्त्रीलाई बर्खास्त गरिएको थियो ।

पछिल्लो केही दिनयता ट्युनिसियाको राष्ट्रिय टेलिकमले खोपको लागि नाम दर्ता गराउन मानिसहरुलाई प्रेरित गर्न एक जीबी डेटा निःशुल्क दिएको छ । ट्युनिसियाको राजधानी सहर ट्युनिसको चर्चित स्थानमा खोपको लागि नाम दर्ता गराएका मानिसलाई १० प्रतिशत छुटको घोषणा गरिएको छ ।

ट्युनिसियाले ईयू र अरेबिक मुलुकबाट यो संक्रमण नियन्त्रणका लागि खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु पाएसँगै आगामी महिनाबाट मुलुकमा संक्रमण नियन्त्रणमा आउन थाल्ने अनुमान गरिएको छ ।

मेक्सिको : मेक्सिको अहिले कोरोनाको तेस्रो लहरको सामना गरिरहेको छ । हिजोआज मेक्सिकोमा दैनिक १५ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन् । यस वर्षको शुरुदेखि नै मेक्सिकोमा निरन्तर कोरोना संक्रमण बढिरहेको छ । अधिकारीहरुले पछिल्लो समय डेल्टा भेरियन्टको संक्रमण बढिरहेको विषयमा चिन्ता व्यक्त गरेका छन् । मेक्सिको सिटीका नयाँ संक्रमितमध्ये करिब ६० प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण देखिएको छ ।

मेक्सिकोको सरकारले अमेरिकाबाट यो संक्रमण मेक्सिकोमा फैलिइरहेको भन्दै अमेरिकासँगको सीमा बन्द गर्ने निर्णय गरेको छ । साथै अत्यावश्यक कामबाहेकको आवतजावत पनि बन्द गरेको छ । मेक्सिकोमा पछिल्लो समय युवा र खोप नलगाएका मानिसहरु धेरै प्रभावित भएका छन् । मेक्सिकोमा अहिलेसम्म १८ वर्षमाथिका चारमध्ये एक जनाले मात्र पूरा डोज खोप लिएका छन् । यद्यपि मेक्सिकोको स्वास्थ्य प्रणाली भने राम्रो छ । अझै मेक्सिकोका अस्पतालहरुमा ६५ प्रतिशत बेड खाली छन् ।

मेक्सिकोका सडकमा भने कोरोना महामारी बढेको कुनै छनक देखिँदैन । सबै मानिसहरु आ–आफ्नो काममा निस्किरहेका छन् । जसमध्ये अधिकांश मानिसलाई आफ्नो गाँसबासको जोहो गर्न पनि दैनिक काममा जानुको विकल्प छैन । त्यसैले सरकारले लकडाउनका योजना पनि ल्याएको छैन ।

रुवान्डा : रुवान्डाले मुलुकमा कोरोना संक्रमण फैलिन नदिई राखेको थियो । तर जुनको मध्यबाट भने रवान्डामा कोरोना संक्रमण उल्लेख्य रुपमा फैलियो । जुलाईको सुरुसम्म आइपुग्दा रवान्डाको कोभिड उपचार केन्द्र नै भरिभराउ हुने अवस्था आयो । जुलाई ६ मा रवान्डाका स्वास्थ्यमन्त्रीले भनेका थिए, ‘हामीले यसअघि यस्तो महामारी देखेका थिएनौं ।’ त्यसको दुईदिनपछि उनले मुलुकमा संक्रामक डेल्टा भेरियन्ट देखिएको पुष्टि गरेका थिए । जुलाई १७ मा रवान्डाको राजधानी सहर किगाली र अन्य आठ जिल्लामा १० दिने लकडाउन घोषणा गरिएको थियो । यद्यपि संक्रमित र मृत्यु हुनेको दर भने अझै पनि उच्च छ । अहिलेसम्म रवान्डाको समग्र जनसंख्याको तीन प्रतिशत अर्थात् करिब चार लाख मानिसले पूरा डोज खोप लगाएका छन् ।

बीबीसीबाट