Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

मनाङमा बाढीका कारण यार्सा टिप्न गएका ७५ जना अलपत्र

Friday, June 18, 2021 National Power

पोखरा-  अविरल वर्षासँगै आएको बाढीका कारण मनाङको उपल्लो क्षेत्र फूमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

प्रजिअ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए । ‘अस्तिदेखि निरन्तर पानी परिरहेको छ । आज रेस्क्यू गर्ने कुरा थियो । तर, मौसम नै खुलेन,’ प्रजिअ लामिछानेले भने, ‘मौसम खुल्यो भने भोलि पहिलो चरणमै उहाँहरुको रेस्क्यू गर्ने योजना छ ।’

प्रजिअ लामिछानेले फू जस्तै मनाङका ओडार, ताल्चै गाउँमा फसेकाहरुको उद्धार गर्न बाँकी रहेको बताए । ‘ओडारमा अलपत्र परेकाहरु जंगलमा बसेका छन् । उनीहरुलाई दिउँसो उद्धार गर्ने भनेका पनि थियौं । तर, मौसम खराबीले गएको हेलिकप्टर पनि फर्किनुपर्‍यो’ उनले भने ।

उनले बिहीबार ३५ जनाको मात्रै उद्धार गर्न सकिएको जानकारी दिए । जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमध्ये २४ जना सिरान तालका मात्रै छन् ।

चार दिनदेखि लगातार परिरहेको पानीका कारण मनाङमा १ हजार बढी विस्थापित भएका छन् । विस्थापितमध्ये ३ सय जना जिल्ला कारागार भवनमा र बाँकीलाई विभिन्न वडाका विद्यालय भवनमा राखिएको प्रजिअ लामिछानेले बताए ।