काठमाडौं- कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस हुनुमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन बमोजिम भएको खुलिसकेको छ । फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वालाले पनि केन्द्रको निर्देशन अनुसार कठोर कदम चालेको बताइसकेका छन् । एमालेबाट ६ महिनाका लागि निलम्बित नेपालले यसपटक खुलेरै शक्ति प्रदर्शन गरे । यस क्रममा उनले कर्णालीमा आफू निकटस्थहरुलाई फ्लोर क्रस गर्न लगाए ।
गण्डकी प्रदेशमा पनि ओलीनिकट पृथ्वी सुब्बा गुरुङ्गको सरकारविरुद्ध विशेष अधिवेशन डाकेर अविश्वासको प्रस्ताव दर्ता गरिने प्रक्रिया बढाइएको छ । गण्डकीमा एमालेबाहेकका काँग्रस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एकजुट भएर बढेमा गुरुङ्ग नेतृत्वको सरकार ढल्ने निश्चित छ । त्यहाँ फ्लोर क्रसको जरुरी पनि पर्दैन ।
प्रदेश १ मा शेरधन राई स्पष्ट बहुमतमा छन् । त्यहाँ एमालेको बहुमत छ । तर, कुनैपनि बेला अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ । काँग्रेस र माओवादी केन्द्र मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेमा नेपाल समूहका सांसदले फ्लोर क्रस गरेमा सरकार ढल्छ ।
बागमती प्रदेशमा माधव नेपाल समूहका सांसदहरुको बलियो पकड छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव काँग्रेस र माओवादी केन्द्र मिलेर ल्याएमा नेपाल समूहले कठोर कदम चालेर फ्लोर क्रस गरेमा सरकार ढल्न सक्छ ।
केन्द्र सरकारमा पनि काँग्रेस र माओवादी केन्द्र मिल्दा ११० सिट पुग्छ । अपुग २८ सांसदमध्ये जसपाको संख्या पर्याप्त छ । जसपा नमिलेमा पनि नेपाल समूहका सांसदले फ्लोर क्रस गरेमा ओली सरकार ढल्न सक्छ । कर्णालीको घटनाले त्यसो नहोला भन्न सकिदैन ।