काभ्रेपलान्चोक – नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रदान सम्पादक नवराज बजगाई अर्जुन-राधा-विन्धवासिनी पत्रकारिता पुरस्कार ०७७ बाट नगदसहित सम्मानित भएका छन् ।
विगत १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिका–१० स्थित श्री विन्धवासिनी माविको ४३ औं वार्षिकउत्सवको अवसरमा अर्जुन–राधा फाउण्डेशनले वर्ष ०७६ पत्रकारिताबाट सम्मान गरेको हो । सो फाउण्डेशनले नवराज बजगाईलाई नगद ५००० र सम्मानपत्रसहित सम्मान गरेको हो ।
नेपाल पत्रकार महासंघ जिल्लाका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका ठुलो योगदान पुर्याउनु भएकोमा सम्मान गरिएको हो ।
विहिबार आयोजित एक कार्यक्रमकाबीच उनलाई संस्थाका अध्यक्ष सुमन नेपाल, अर्जुन-राधा फाउण्डेशनका संस्थापक शिक्षक अर्जुनबहादुर नेपाल र मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा लगायतले सम्मान गरेका हुन् । सोही कार्यक्रममा वर्ष ०७७ बाट केन्द्रबिन्दुका उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपी पनि सम्मानित भएका छन् । उनलाई पनि सोही सम्मान प्रदान गरिएको हो ।
विहिबारको कार्यक्रममा विन्धवासिनी माविमा अध्ययनरत ९ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिएको थियो । जस अन्र्तगत एसइइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पनि रहेका छन् ।
४ वर्ष अघि यस विद्यालयमा अर्जुन–राधा फाउण्डेशनले एक लाख रुपैयाँको अक्षयकोष खडा गरि हरेकवर्ष जिल्लामा सक्रिय एक जना संचारकर्मी र सो विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिंदै आएको छ । आगामी दिनहरुमा अहिले कायम रहेको अक्षयकोषमा ५० हजार नगद थप गरिने संस्थापक अर्जुन नेपालले जानकारी दिए । यसले आगामी दिनमा कार्यक्रम संचालनका लागि थप सहज हुने र यस्तो कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष एवं संचारकर्मी सुमन नेपालले जानकारी दिए । साथै सो विद्यालयमा साहित्यकार रमेश विकलको नाममा र शुशीला चालिसेको नाममा पनि अक्षयकोष स्थापना गरिएको छ । आज छात्रवृत्ती प्रदान गरिएका ८ जना विद्यार्थीहरुलाई सोही संस्था र विद्यालयको सहयोगमा नगद दिइएको थियो । उनीहरु सबैलाई जनही ५ हजार प्रदान गरियो ।
कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, शिक्षकहरु, अभिभावकहरु लगायतको उपस्थिती रहेको थियो । नगरपालिका प्रमुख टोकबहादुर वाइवाले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी लगायतमा नगरबाट शुरु गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । साथै उनले विद्यार्थीको शैक्षिक अवस्था सुधारका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतले सक्रिय भूमिका खेल्नु पर्ने सुझाव दिए ।
विद्यालयका प्रधानाध्यापक शिवराम सापकोटाले आर्थिक तथा शैक्षिक गतिविधीहरु प्रस्तुत गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ नेपालले सबैको सल्लाह र सुझावका आधारमा आगामी दिनमा विद्यालयलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । ०३५ सालमा स्थापित यस विद्यालयमा हाल २०५ जना विद्यार्थी अध्ययनरत छन् ।