काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधलाई बेवास्ता गर्दै राजवादीहरुले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘गणतन्त्र धोका हो, संघीयता खारेज गरौँ, हिन्दु राष्ट्र कामय गर, मेची–काली के भन्छ नागरिक सरकार ल्याउ भन्छ, एमसीसी खारेज गरौँ जस्ता नारा लगाएका थिए । माइतीघरमा भेला भएका राजवादीहरुको जुलुस नयाँ वानेश्वरसम्म पुगेको थियो भने सो क्रममा ठूला संख्यामा सुरक्षाकर्मी परिचलन गरिएको थियो ।
केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शन जस्ता गतिविधि नगर्न अनुरोध गरेको थियो ।
प्रदर्शनकारीहरुले सो आग्रहलाई बेवास्ता त गरेनन् कुनै सामाजिक दुरी समेत अपनाएनन् । राजावादीहरुले पछिल्लो समय काठमाडौँसहित देशभर प्रदर्शन गर्दै आएका छन् ।