काठमाडौं – नेपाल र भारतको बिचमा सीमा विवाद उत्पन्न भएको ठ्याक्कै एक वर्ष पुगेको छ । गत वर्षको नोभेम्बर पहिलो साता भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि दुई देशको बिचमा विवाद उत्पन्न भएको थियो ।
भारतले राजनीतिक नक्सा जारी गरेलगत्तै नेपालले वार्ताको प्रस्ताव गर्दै भारतलाई कम्तीमा तीनवटा कूटनीतिक नोट पठाएको थियो तर भारत वार्ताका लागि तयार भएन । त्यसभन्दा एक कदम माथि उठेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवर जाने बाटोको उदघाटन गरे ।
संवादका माध्यमले नै समस्या समाधान गर्ने प्रयासलाई भारतले बेवास्ता गरेपछि त्यसको प्रत्युत्तरमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभागसहितको नयाँ नक्सा जारी गर्यो र सर्वदलीय सहमतिको आधारमा संविधान संशोधन गर्यो ।
एक वर्ष नेपाल र भारतको बिचमा कुनै पनि संवाद भएन । सीमा सम्बन्धी मात्र होइन अन्य महत्वपूर्ण द्विपक्षीय संयन्त्रका बैठकहरु समेत रोकिए । तर विवादको ठ्याक्कै एक वर्षपछि द्विपक्षीय सम्बन्धमा संवादको ढोका खुलेको छ । आज भारतीय सेनापति मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणमा आउँदैछन् । यो भ्रमण एक नियमित र रुटिन भए पनि दुई देशको सम्बन्धमा आएको चिसोपनका कारण रोकिएको थियो । कोभिड–१९ आंशिक कारण भए पनि सीमा विवादको कारणले नै सो भ्रमण ढिलो भएको थियो ।
नेपाल भ्रमणको क्रममा उनको प्रधानमन्त्री केपी ओलीसँगको भेटघाट निकै महत्वपूर्ण मानिएको छ । सीमा लगायत द्विपक्षीय विषयहरुमा सेनापतिसँग ठोस कुराकानी नभए पनि यसले विश्वासको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । सीमा विवादको सम्बन्धमा कुराकानी गर्ने सेनापतिको म्यान्डेट नभएपनि राजनीतिक तहलाई टेवा दिने काम भने हुनसक्छ ।
सेनापतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयलले नेपालको भ्रमण गरे । भ्रमणको सम्बन्धमा विभिन्न कोणबाट टिकाटिप्पणी भएपनि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल भ्रमणमा आएका थिए । उनले सीमा लगायतका विषयमा मोदीको सन्देश लिएर आएका थिए र प्रधानमन्त्री ओलीको सन्देश लिएर नयाँ दिल्ली गएका छन् । त्यसैले नरवणेले पुनः मोदीको सन्देश लिएर आउने सम्भावना छ । त्यसैले यो भ्रमण एकदमै महत्वपूर्ण छ ।