Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल

Friday, October 30, 2020 National Power

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मनमुटाव बढेको छ । दुई अध्यक्षबीच पछिल्लो दुई हप्तादेखि कुराकानी हुन सकेको छैन् । पार्टीभित्र दुई अध्यक्षबीचको विवादको दूरी बढ्दै गएको छ । ओलीले अध्यक्ष दाहालसँग भेट्नको लागि आफूनिकट नेताहरुलाई दूत बनाएर खुमलटार पठाएका छन् । तर, दाहालले बालुवाटार नजाने सन्देश पठाएका छन् ।

पार्टीको कर्णाली प्रदेशको विवाददेखि पर्सामा आफ्नै पार्टीका कार्यकर्ताहरुको झडपमा कार्यकर्ता मारिँदासम्म आईपुग्दा नेकपामा विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो तीन दिनदेखि दाहाललाई भेट्न ओलीले आफ्ना दूतहरु पठाईरहेका छन् । सुरुमा, महासचिवसमेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई खुमलटारमा पठाएका थिए । तर, दाहालले ओलीले पार्टीभित्र एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका थिए । र, आफू बालुवाटार जान नसक्ने जवाफ दिएका थिए ।

यो बीचमा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि दुई पटक एक्लाएक्लै भेटवार्ता गरेका थिए । उनले नेता नेपालसँग मिलेर अघि बढ्न आग्रह गरेका थिए । तर, नेता नेपालले आफूले विधि र प्रक्रियासम्मत ढंगले पार्टीलाई अघि बढाउनुपर्ने आवाज उठाएकोले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने धारणा राखेका थिए । ओलीले दाहाललाई भेट्न आफ्नो तर्फबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीपनि पठाएका छन् । तर, सबै नेताहरुसँगको भेटमा दाहालले आफू बालुवाटार जान नसक्ने जवाफ दिएको नेकपानिकट स्रोतको दाबी छ ।

आजमात्रै ओलीले मन्त्री ज्ञवालीलाई खुमलटार पठाएका थिए । तर, दाहालले ज्ञवालीलाई आफू आईसोलेशनमा बसेकोले बालुवाटार जान नसक्ने जवाफ दिएका थिए । ज्ञवाली खुमलटारबाट फर्किएलगत्तै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो कोर टिमसँग रणनीतिक छलफल सुरु गरेका छन् । उक्त छलफलमा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सहभागी छन् । तर, दाहालले यो बीचमा अन्य नेताहरुलाई भने भेटिरहेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हल्ला चलिरहेको बेला बालुवाटारमा ओलीले आफ्नो कोर टिमसँग सल्लाह गरेका हुन् । नेता नेम्वाङले दिएको जानकारीअनुसार अब कसरी अघि बढ्ने भन्नेबारे बालुवाटारमा छलफल भएको छ ।