Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर

Monday, October 26, 2020 National Power

काठमाण्डौ-  अमेरिकी राष्ट्रपतिको निर्वाचनभन्दा ठिक अघि एशियामा नयाँ घटनाक्रम विकास भएको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ अक्टोबरमा जापान भ्रमण गरेको एक महिनाभित्रै दक्षिण एशियाको भारत, श्रीलंका, मालदिभ्सका अलावा दक्षिणपूर्वी एशियाली मुलुक इन्डोनेशियाको भ्रमण गर्दैछन् । उनी रक्षामन्त्री मार्क इस्परको साथमा हुनेछन् । यो भ्रमण चीनलाई काउन्टर दिने रणनीतिक उद्देश्यले हुँदैछ ।

यसअघि जापानमा क्वाड राष्ट्रका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन पम्पिओ पुगेका थिए । अमेरिका, भारत, जापान र अष्ट्रेलियाका विदेशमन्त्रीहरु बसेर एशियामा चीनको बढ्दो प्रभावलाई रोक्नेबारे छलफल गरेको विषय बाहिर आइसकेको छ । ती देशहरुले हिन्द(प्रशान्त महासागरमा संयुक्त नौसैनिक अभ्यास गर्नेछन् । मलाबार भनिने यो नौसैनिक अभ्यासको आयोजना भारतले गर्दैछ ।

पम्पिओ भारत भ्रमणमा जाँदैछन् । यो भ्रमण सामरिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले हुनलागेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । भारतसँग चीनको सीमा विवाद र झडप भइरहँदा पम्पिओको भ्रमण अर्थपूर्ण छ । चीनले आर्थिक र सैन्य प्रभाव बढाएको श्रीलंका र मालदिभ्समा पनि पम्पिओ जाँदैछन् । दुवै टापु राष्ट्रको भ्रमण चीनको प्रभाव कम गर्ने उद्देश्यले हुनलागेको टिप्पणीहरु भइरहेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार अमेरिकाले शितयुद्धको मानसिकता लिएर कार्य गरिरहेको आरोप लगाएका छन् । उनले चीनको दक्षिण एशियाका देशहरुमा गहिरो प्रभावतर्फ संकेत गर्दै ती देशहरुलाई अमेरिकाले धम्की दिनथालेको आरोप लगाए । यसबाट पनि पम्पिओको दक्षिण एशिया भ्रमणबारे चीन गम्भीर भएको बुझ्न सकिन्छ ।

दक्षिण एशियामा अमेरिकाले भारतसँग मिलेर चीनलाई काउन्टर दिने रणनीति बनाएको घटनाक्रमले देखाइसकेको छ । पम्पिओको भ्रमणले यही संकेत गर्दछ । विशेषगरी श्रीलंका र मालदिभ्सलाई पनि चीनबाट टाढा राख्ने उसको अभिप्राय देखिन्छ ।

नेपालमा के होला र?
नेपालमा पछिल्लो समय चीनको प्रभाव बढेको विषयहरु अन्तर्राष्ट्रिय वृत्तमा भइरहेको छ । विशेषगरी केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि चीनको प्रभाव बढेर गएको छ । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आएर नेपालप्रति चीनको चासो बढेको सन्देश गयो ।

चीनको बढ्दो प्रभावप्रति अमेरिका र भारत दुवै सतर्क देखिएका छन् । हिमालय क्षेत्रमा चीनको सैनिक उपस्थिति बढ्दै गएपछि अमेरिका र भारतले यसलाई काउन्टर दिन समझदारी गरिसकेको विषय भारतीय सञ्चारमाध्यमहरुले जनाइसेका छन् । टाइम्स अफ इन्डियाले पम्पिओको भारतलगायत दक्षिण एशियाका मुलुकहरुको आसन्न भ्रमणलाई त्यसरी नै विश्लेषण गरेको छ ।

पम्पिओ आउनुअघि भारतको गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलले नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । यो भेट आफैमा अर्थपूर्ण छ । पम्पिओले भारत भ्रमणमा नेपाल नीतिबारे पनि छलफल गर्न सक्छन् । यद्यपि, उनले नेपाल भ्रमण नगर्ने भएका छन् । भारतमै बसेर नेपाल नीतिबारे टुंगो लगाउने सन्देश दिएका छन् ।

एकातर्फ, चीनले अमेरिकामाथि दक्षिण एशियाका आफ्ना मित्रशक्तिमाथि धम्की दिएको आरोप लगाइरहेको छ । अर्कोतर्फ चीनको प्रभाव बढेको नेपाललगायत दक्षिण एशियाका केही देशहरुमा अमेरिका र भारतले आफ्नो नयाँ रणनीतिहरु लागू गर्न थालिसकेका छन् । विशेषगरी यो चीनलाई काउन्टर हुनेगरी भइरहेको देखिन्छ । यसले नेपालको आन्तरिक राजनीति र बाह्य सम्बन्धमा पनि असर पार्ने सम्भावना छ ।

नेपालमा भारत, चीन र अमेरिकाको रणनीतिक स्वार्थ जुध्दा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि चुनौती थपिन सक्छ । उनका लागि कुटनीतिक चार्तुयताको झन् ठूलो आवश्यकता पर्न सक्छ ।

#REPOTERS NEPAL