काठमाडौं – काठमाडौं उपत्यकामा आज अहिलेसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहिबार नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा उपत्यकामा उल्लेखित संख्यामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ ।
यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ ।