Sunday 1st December 2024

    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना    बुद्ध धर्मका तीन प्रमुख यानहरू 'थेरवाद, महायान र बज्रयानमा आधारित 'परित्राण’ पुस्तक विमोचन

काठमाडौँका सात वटा वडा कोरोना ‘हटस्पट’ बन्दै

Sunday, September 6, 2020 National Power

काठमाडौँ- काठमाडौँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन् । भदौ ८ गते काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा तीन हजार ४८६ जना सङ्क्रमित थिए ।राजधानी शहरसमेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लाग्दा तीनै तहको सरकार सक्रिय बनेको छ । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ । सङ्क्रमण समुदायमा लक्षित भएपछि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुहुने जनस्वास्थ्यविद् डा। शरद वन्तले नियन्त्रणका लागि नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मीको सहयोग आवश्यक हुने बताउनुहुन्छ ।

कोभिड–१९ उच्च स्तरीय समितिले बाँडफाँड गरेको जिम्मेवारीबमोजिम सङ्घीय सरकारले लक्षण देखिने सङ्क्रमितको उपचार व्यवस्थापन गर्छ । प्रदेशले स्थानीय तहसँगको समन्वयमा लक्षण नदेखिएका बिरामीको व्यवस्थापन गर्दैआएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ ।

काठमाडौँसहित उपत्यकाका तीन जिल्लामा सङ्क्रमण बढेसँगै उपत्यका नगरपालिका फोरमको बैठक बसी शैया व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । फोरमले प्रदेशसँगको समन्वयमा सात हजार शय्या व्यवस्थापन गर्न जुटेको काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो ।
तर व्यवस्थापन भइनसकेको अवस्थामा मात्रै सङ्क्रमित हुने बढ्दो छ । र काठमाडौँ महानगरपालिका सात वटा वडामा मात्रै एक हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । लक्षणविहीन सङ्क्रमितको सङ्ख्या बढी भएकोले पनि स्थानीय तहका लागि सङ्क्रमित व्यवस्थापन चुनौतीपूर्ण छ । नेपालमा करिब ७५ प्रतिशत लक्षणविहीन सङ्क्रमित छन् ।

काठमाडौँका कोभिड–१९ हटस्पट

महानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सात वटा वडा सङ्क्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । एक सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीले जानकारी दिनुभयो ।

वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा दुई सयभन्दा बढी सङ्क्रमितको पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तर्गत पर्ने बागबजारमा १०३ सङ्क्रमित छन् ।
महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले सङ्क्रमित बढी भएको क्षेत्रमा प्राथमिकता राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै सङ्क्रमितको सम्पर्कमा आएका १९५ जनालाई पहिचान गरिएको छ । तर महानगरको उक्त प्रयास भने पर्याप्त देखिन्न ।

काठमाडौँमा मात्रै शुक्रबार ३८६ जना सङ्क्रमित पुष्टि भएका छन् । सङ्क्रमितको सम्पर्कमा आएका कम्तिमा एक हजार हुन आउँछ । तर दैनिक एक सयदेखि दुई सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरिएको छ ।
महानगरले कन्ट्याक्ट ट्रेसिङका लागि दशवटा टोली खटाएको छ । टोलिले हालसम्म छ हजार ४१३ जनालाई अलग्याएर पीसीआर परीक्षण गरेको छ । प्रवक्ता डङ्गोल भन्नुहुन्छ, “सङ्क्रमित पुष्टि भएसँगै सम्पर्कमा आएकाको खोजी हुन्छ, पहिचान गरेर अलग्याइन्छ र निश्चित समय तोकेर पीसीआर परीक्षण गरिन्छ ।” उक्त कार्यका लागि जनप्रतिनिधि परिचालन गरिएको छ । “स्वास्थ्य उपचार र परामर्शका लागि शहरी स्वास्थ्य क्लिनिक छन् ।” उहाँले थप्नुभयो । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।