Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

बामदेवले बबण्डर मच्चाइदिने संकेत

Tuesday, September 1, 2020 National Power

काठमाडौं- कुनैबेला राष्ट्रियसभामा जान्न बरु संसदीय चुनाव लड्छु भनेका बामदेव गौतमलाई कहिले पाल्पा त कहिले डोल्पा देखाइयो । काठमाडौंबाट बामदेवका लागि सिट छाड्छु भन्दै रामवीर मानन्धर अचानक हात उठाउन थाले । हेर्दाहेर्दै समय गुज्रियो । संसदीय चुनाव भएको अढाई वर्ष कट्यो । बामदेवका लागि उपचुनाव ‘जुनतारा खसाउने प्रेमीको गफ’ सावित भयो ।

नेकपाभित्र विवाद चल्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई सांसद बनाएर प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गरे । उनी दंग परे । बामदेवले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखी संविधानको धारा परिवर्तनको प्रस्ताव राखिरहे । तर, यो ओली र प्रचण्डबीचको टकरावलमा राजनीतिक अस्त्रमै सिमित भयो ।

बामदेवलाई राष्ट्रियसभामा लाने नेकपा सचिवालयले निर्णय गरेको थियो । उनलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यमा लाने गरी निर्णय भएको थियो । तर, ऋषि धमलासँगको शनिबारको अन्तवार्तामा ओलीले उक्त निर्णय पुरानो र समाप्त भइसकेको बताए । यतिसम्मकी उनले बामदेवले प्रस्तुत गरेको छ बुँदे नेकपाको एकताका लागि सञ्जीवनी बुटी सावित भएको हो रु भन्ने धमलाको प्रश्नमा त्यस्तो होइन केही सहयोगी बनेको हो मात्र भने ।

आफूले गरेको योगदानको कदर नभएको र पटक पटक धोका खाएको भन्दै बामदेव ओलीसँग चिढिने गरेका छन् । तर, उनले अन्तिम समयमा साथ दिएर ओलीले पटक पटक बाजी मारेका छन् । यसपटक सत्ता संकट पर्दा पनि गौतमकै सहयोगले जोगिए । तर, ओलीले फेरि धोका दिन लागेको भन्दै बामदेव चिढिएका छन् ।

गत शुक्रबार ओलीसँग दुई घन्टा लामो भेटमा गौतमले आफू राष्ट्रियसभामा जान चाहेको र सरकारमा महत्वपूर्ण मन्त्रालयसहित जिम्मेवारी लिन तयार रहेको बताएका थिए । तर, ओलीले सकारात्मक उत्तर नदिएको बुझिएको छ । गौतमले भने आफ्नो आर्थिक नीति लागु गर्नका लागि अर्थ मन्त्रालयको जिम्मेवारी लिने चाहना देखाएका थिए ।

अर्थमन्त्री युवराज खतिवडा सांसद मनोनित नभए स्वतः पदमुक्त हुनेछन् । तर, ओलीका लागि खतिवडा नै प्रीय छन् । यो बुझेर गौतम निकटले खतिवडाको आलोचना गर्दै आएका छन् । पार्टीमा कुनै योगदान नभएको व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै आलोचना गरिरहेका छन् ।

अहिलेको विकसित घटनाले अब बामदेवको विषयले नेकपाभित्र बबण्डर मच्चिने देखिएको छ । गौतमले राष्ट्रियसभा सदस्य र महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी नपाउने हो भने फेरि नयाँ विवाद बल्झने स्पष्ट छ । पछिल्लो समय भएका राजनीतिक नियुक्तिहरुप्रति प्रचण्ड र माधव नेपाल समेत असन्तुष्ट भइरहँदा गोतम फेरि जोडिएमा अवस्था जटिल बन्न सक्छ ।

गौतम फेरि नेकपा विवादमा सुरथको एक्का बनेर निस्किएका छन् । उनले चाल्ने कदमले नेकपाभित्र बन्दै गरेको सकारात्मक माहोललाई हल्लाएको छ । उनले यसपटक केही नपाउने हो भने कुनै न कुनै बबण्डर मच्चाउने चेतावनीसहितको सन्देश प्रवाह गरेका छन् । जुन नेकपालाई पुनः दुर्घटनातर्फ बढाउने परिस्थिति पनि हुनसक्छ ।