बेइजिङ – चिनियाँ स्वास्थ्य अधिकारीले चीनमा करिब चार महिनादेखि अस्पताल भर्ना भएका कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका वरिष्ठ अधिकृत गुओ यान्होङले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि चिनियाँ रणनीति प्रभावकारी भएको दाबी गरेका छन् ।
बुधबार भएको पत्रकार सम्मेलनमा उनले भने, ‘यो नै बलियो प्रमाण हो कि गम्भीर प्रकृतिका बिरामीका लागि चीनको अनुभव, तरिका र रणनीति कति प्रभावकारी छ भन्ने ।’
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार अन्तिम पटक कोरोनाबाट चीनमा अप्रिल १५ मा हुबेईमा एक जनाको मृत्यु भएको थियो ।
बुधबार चीनमा २२ वटा आयातित संक्रमण फेला परेको छ भने एउटा स्थानीय केस रहेको छ । चीनमा बिहीबार बिहानसम्म कोरोना भाइसबाट संक्रमित हुनेको संख्या ८९ हजार ५ सय २७ पुगेको छ । अहिलेसम्म चीनमा कोरोनाबाट ४ हजार ७ सय ६ जनाको मृत्यु भएको छ ।
कोरोना पुष्टि भएकामध्ये चीनमा ८३ हजार ५ सय ६९ जना निको भएका छन् । चीनमा अहिले सक्रिय संक्रमितको संख्या करिब एक हजार २ सय मात्रै रहेको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले विश्वव्यापी महामारीको रुप लिएको पनि महिनौं भइसक्यो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५५ लाख २९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले अमेरिकामा एक लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
दोस्रो प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३४ लाख ५६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ लाख ११ हजार १ सय जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणका हिसाबले भारत तेस्रो प्रभावित मुलुक हो । भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ । बिहीबार बिहानसम्म भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ । संक्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६४ जना निको भइसकेका जनाइएको छ । भाइरसका कारण भारतमा हालसम्म ५३ हजार ८ सय ६६जनाको मृत्यु भइसकेको छ ।
विश्वविद्यालयका अनुसार भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड २४ लाखभन्दा बढी छ । बिहीबार बिहानसम्म कोरोनाका कारण ७ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।