Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

कोरोनाको नाममा संघीय सरकारको स्रोतबाट असारसम्म ९ अर्ब १६ करोड खर्च

Monday, August 10, 2020 National Power

काठमाडौं –  नेपालमा कोरोना भाइरस (कोभिड- १९) रोकथाम तथा नियन्त्रणका लागि असार मसान्तसम्म संघीय सरकारको स्रोतबाट ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अर्थ मन्त्रायले गरेको स्रोत व्यवस्थापन विवरण अनुसार तीन तहका सरकार (संघ, प्रदेश र स्थानीय)लाई निकासा, रकमान्तर, वित्तीय हस्तान्तरणका माध्यमबाट ७ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ । यद्यपी तीन तहका सरकारमा गएको रकम कुन प्रयोजनमा कति खर्च भयो भन्ने सम्बन्धमा भने सरकारले विवरण संकलन गरिरहेको छ । यस्तो विवरण आगामी महिना (भदौ)मा सार्वजनिक गर्ने तयारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अघिल्लो आ.व.को भदौमा र त्यसपछि चौमासिक रुपमा खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार यस आ.व.मा तीन तहका सरकारका विभिन्न निकायमा भएको रकमान्तर तथा निकासाबाहेक कोभिड कोषबाट समेत ६६ करोड निकासा गएको थियो । उक्त रकम विभिन्न अस्पताल एवं निकायमा दिइएको थियो । औषधीजन्य सामग्री खरीदका लागि समेत अर्थ मन्त्रालयबाट १ अर्ब ३६ करोड रुपैयाँको सहमति दिइएको । यो सबै रकम जोड्दा असार मसान्तसम्म ९ अर्ब १६ करोड रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना रोकथाममा करीव १० अर्ब रुपैयाँ खर्च भएको बताएको थियो । तर परदर्शी रुपमा खर्च विवरण दिन नसकेको भनेर आलोचना भइरहेको वेलामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा स्रोत व्यवस्थापन यसरी भएको छ ।

- निकासा,  रकमान्तर र वित्तीय हस्तान्तरण (तीन तहका सरकार : ७१३ करोड
- कोभिड १९ कोषबाट निकासा : ६३ करोड
- औषधिजन्य सामग्री खरीद गर्न स्रोत व्यवस्थापन सहमति : १३७ करोड
- १७ लाख परिवारलाई राहत

अर्थ मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिमा समस्यामा परेका १० लाख बढी परिवारलाई राहत उपलब्ध गराइएको थियो । यसरी राहत लिने परिवारको संख्या १७ लाख ९ सय ४ रहेको छ ।

शुरुमा स्थानीय तहले राहत बाँडेका थिए । पछिल्लो समय असंगठित क्षेत्रमा काम गर्ने र कोरोनाका कारण रोजगारी वा कामबिहीन भएका श्रमिकलाई सार्वजनिक निकाय वा कार्यालयबाट काममा लगाउने निर्णय भएको थियो । यसरी काम वा श्रममा लगाउँदा उनीहरुलाई दैनिक ज्याला नगद वा खाद्यान्नको रुपमा उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।

यस्तो ज्यालादर तोक्ने जिम्मेवारी भने सम्बन्धित स्थानीय तहलाई दिइएको थियो । सोहीअनुसार काममा लगाएर राहत दिएको अर्थ मन्त्रालयले जनाएको छ । काममा नआउने वा आउन नचाहने तर राहत भने माग्न आउने व्यक्तिलाई भने काम गर्न आएको व्यक्तिको तुलनामा २५ प्रतिशत रकमले हुन आउने बराबरको खाद्यान्न मात्र दिने गरी व्यवस्था मिलाइएको थियो । सोहीअनुसार देशभर ५०४ स्थानीय तहमा राहत कार्यक्रम संचालन भएको र१७ लाख ९ सय ४ जना परिवार लाभाविन्त भएको सरकारको तथ्यांक छ ।

यसरी काममा लगाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहका विकास कार्यक्रम तथा कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रहेको रकम परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

२ खर्ब १९ अर्ब ऋण/सहायताको प्रतिवद्धता

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा यसले अर्थतन्त्रमा परेको क्षति न्यूनिकरण गर्न अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य ऋण र सहायताको प्रतिवद्धता प्राप्त भएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६र७७ मा मात्र कोरोनासँग सम्बन्धित अनुदान सहायता रु. ३० अर्ब १० करोड ५४ लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ । १ खर्ब ८० अर्ब ७७ करोड ७८ लाख रुपैयाँ ऋण प्राप्त भएको छ ।

कुल २ खर्ब १९ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ बराबरको ऋणरअनुदान सहायता प्राप्त भएको मन्त्रालयले जनाएको छ । यो बीचमा विश्व बैंकबाट आपतकालिन महामारी पूर्वतयारी तथा नियन्त्रण योजना अन्तर्गत करीव ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता सम्झौता सम्पन्न भइसकेको छ ।

भुक्तानी सन्तुलन तथा विदेशी विनिमय मौज्दात व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने र्‍यापिड क्रेडिट फेसिलिटी अन्तर्गत करीव १३ अर्ब ९ करोड रुपैयाँ बराबर कोटा सुविधा प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंकबाट घोषणा भएको तत्कालिन सहयोग कार्यक्रम अन्तर्गत नेपालले परिचालन गर्नसक्ने २ सय ५० मिलियन डलर र यसमा थपघट हुने रकम समेत बजेट सहायता प्राप्त हुने प्रक्रियामा छ ।

SOURCE : onlinekhabar