Friday 29th November 2024

    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना    बुद्ध धर्मका तीन प्रमुख यानहरू 'थेरवाद, महायान र बज्रयानमा आधारित 'परित्राण’ पुस्तक विमोचन

नेपालको राष्ट्रियता यति कमजोर छैन, कि नक्सा छापेका कारण सरकार परिवर्तन होस् : प्रधानमन्त्री ओली

Sunday, June 28, 2020 National Power

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापेबापत देशकाे सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गर्नुभएको छ ।

जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीकाे अवसरमा मदन भण्डारी फाउण्डेशनले आइतबार आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज) को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका ओलीले प्रधानमन्त्री फेरिन्छ भनेर कसैले हतारो गर्न वा कुनै आग्रह राख्न आवश्यक नभएको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन । नक्सा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन । अहिले म हट्ने हो भने राष्ट्रियताकाे लागि यसरी बोल्न सक्ने आँट कसैले गर्दैन । म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो । जननेता भण्डारीको विचारबाट निर्देशित हाम्रो पार्टी र संसदीय दल यति कुरा नबुझ्ने खालको छैन । हामीले कुनै भुलचुकमा नक्सा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत दुई सय चार वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गाह्रो छैन । अन्तिममा सत्यको विजय हुनेछ ।’

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि आफ्नो बहुमत नभएकाेले सरकार ढलेको तर अहिले बहुमत रहेको जनाउँदै एउटै देशवेष्टित (भारतवेष्टित) रहेको पारवहनलाई दुवै छिमेकीवेष्टित बनाएर नाकाबन्दीकाे समयमा पनि नेपालले दृढतापूर्वक सामना गरेको स्मरण गर्नुभयो ।

‘नेपाल दुई ढुङ्गाबीचको निरीह तरुल होइन । हाम्रो गौरवपूर्ण इतिहास भएको, गतिशील वर्तमान र महान् सम्भावना बोकेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । इतिहासमा यो कुनै राष्ट्रको अधिनस्थ थिएन’, उहाँले भन्नुभयो, ‘हामी दुवै छिमेकीबाट चलायमानरुपमा पारवहन सुविधा लिन सक्छौँ । हामीले चीनसँग त्यस प्रकारको सम्झौता गरेर नेपाललाई नयाँ उचाइमा लगेका छौँ ।’

उहाँले अहिले कोरोना भाइरसको अस्थायी सङ्कट परे पनि सुन्दर नेपालले आफ्ना मुर्छित सपना ब्युँझ्याएर जनतामा आत्मविश्वास जगाइसकेकाले आफ्नाबारेमा विरोध र आलोचना गर्दा भनाइ र गराइलाई तुलना गरेर वस्तुगतरुपमा गरिदिन पनि आग्रह गर्नुभयो । ‘हुन त विरोधीहरुले मार्क्स र भण्डारीको पनि विरोध गर्थे । मेरो पनि गरेका छन् तर म शासन गर्न राजनीतिमा लागेको होइन । जनता र देशको सेवा गर्न लागेको हुँ । म मेरा साथीहरुलाई मलाई नजिकैबाट हेरेर ममा कुनै दाग, धब्बा र छिटाहरु भए आलोचना गरिदिन आग्रह गर्छु ।’

जबज मार्क्सवादमा आधारित गतिशील र नेपालको एक्काइसौँ शताब्दीलाई अत्यधिक प्रभावित पार्न सक्ने विचार भएको जनाउँदै प्रधानमन्त्री ओलीले जननेता भण्डारीले २०४८ सालमै संसदमा मिचिएको कालापानीलगायत भूमि नेपालको भएको सुपष्ट विचार व्यक्त गर्नुभएको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विचार, वक्तृत्वकला, शैली र अनेक प्रतिभाका कारण जननेता भण्डारी नेपाली राजनीतिमा एक्काइसौँ शताब्दीका नायक भएको उल्लेख गर्दै त्यही विचारका जगमा अहिले आफूहरुले सामाजिक न्यायसहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा अघि सारेको बताउनुभयो ।

source : RSS/ ujjyalo