Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

अन्ततः एसिईई को बारेमा टुंगो लाग्यो, विद्यालयको आन्तरिक मूल्यांकनलाई नै आधार बनाईने

Thursday, June 11, 2020 National Power

काठमाडौ – सरकारले कोरोनाभाइरस कारण सिर्जित परिस्थितिका कारण यसवर्षको एसईई परीक्षा सञ्चालन नगर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन ।

मन्त्री पोखरेलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज भए पनि विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने बताएका छन् ।

लामो समय विद्यार्थी तथा अभिभावकहरूलाई अन्यौलमा राखिराख्न उचित नभएकाले आवश्यक निर्णय गरिएको उनको भनाइ छ ।

‘कोभिड–१९ को महामारीका कारण देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, विद्यालयहरूमा क्वारेन्टिन सञ्चालन गरिएको र कोरोना संक्रमणको जोखिमका बीच विद्यालयहरूमा परीक्षा केन्द्र कायम गरी विगतमा झै परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीहरूको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चित गर्नु राज्यको दायित्व बोध गरेर क्याविनेटले निर्णय गरेको छ,’ पोखरेलले सामाजिक सञ्जालमा ट्विट गरेका छन् ।

यसअघि विभिन्न शिक्षासम्बन्धी संघसंगठन र सरोकारवालाले पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न सरकारलाई सुझाउँदै आएको थियो । तर सरकारले निर्णय गर्न ढिलाइ गर्दा परीक्षाको तयारीमा रहेका विद्यार्थीमा तनाव सिर्जना हुँदै आएको छ ।

२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

माध्यमिक शिक्षाको कक्षा दशको अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा व्यवस्थापन हुने तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् ।