Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

सिमा विवादमा चिनसँग वार्ता गर्न सक्ने भारतले नेपालसँग किन वार्तामा बेवास्ता

Wednesday, June 10, 2020 National Power

काठमाडौ – जेष्ठ २७ गते संसदमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग वार्ताको पहल हुँदा पनि बेवास्ता भएको विषय प्रस्तुत गरे । नेपालको पश्चिमी सिमामा अतिक्रमणबारे कात्तिक महिना देखि पटक पटक वार्ताको प्रयास हुँदा पनि नमानेको खुलासा गरे । तर, चीनसँग सिमा विवादमा भारत टेबुलमा बसेकोमा आश्चर्यमा परेको बताए ।

‘नेपाली भुमि हडपेकोमा पटक पटक वार्ताका लागि भारतलाई कुटनीतिक नोट पठायौं तर भारतले कोरोना संकटको बहानामा टार्दै गयो, अहिले पनि टारिरहेको छ ,’ ज्ञवालीले भने, ‘तर, लद्दाखमा भारत तत्कालै चीनसँग वार्तामा बसेछ ।’ उनले कोरोना संकटमै भारत चीनसँग वार्तामा बसेकोमा अचम्मित भएको बताए ।

नेपाल र भारतबीच कालापानी क्षेत्रको विषयमा सिमा विवाद रहँदा वार्ताको हल्ला चलेपछि हुन सकेको छैन । यसबीच ज्ञवालीको भनाई आएको छ । यसबीच नेपालले भारतीय राजदुत विनयमोहन क्वात्रालाई कुटनीति रुपमै आपत्ति जनाएको छ । लिपुलेक हुँदै भारतले लिंकरोड खोलेपछि नेपालले आपत्ती जनाएको थियो । तर, भारतले उक्त इलाका आफ्नो भनी दाबी गर्दै आएको छ ।

भारतले नेपालले नयाँ नक्शा जारी गरेकोमा विदेश मन्त्रालयमार्फत् आपत्ति जनाएको छ । उसले वार्ताका लागि वातावरण बनाउन आग्रह समेत गरेको छ । तर, त्यो वातावरण कस्तो हुनुपर्ने हो स्पष्ट छैन । भारतले नयाँ नक्शा जारी गर्ने देखि संसदमा निशाना छाप पारित गर्न प्रस्ताव पेश भएकोमा असन्तुष्ट जनाउँदै आएको छ । उसले घुमाउरो तरिकाले यथास्थितिमा वार्ता सम्भव नभएको संकेत पनि गरेको छ ।

कालापानीको विषयमा भारतभित्र नेपालसँग वार्ताका लागि दबाब नपरेको होइन । भारतका पूर्व जनरल अशोक मेहताले तत्काल वार्तामा जोड दिएका थिए । तर, त्यो सम्भव हुन सकेन । नेपाल र भारतबीच भने चीसो बढिरह्यो । भारतका सेनापति एम एम नरवाणेले नेपालको सिमाबारे भारतप्रतिको आपत्तिलाई कसैको उक्साहट भनी चीनतर्फ संकेत गरे । भारतले सिमा विवादमा वार्ता पनि चीनसँगै चलायो । नेपालको वार्ताको आग्रहलाई बेवास्ता गरिदियो ।
भारतले अहिलेपनि औपचारिक रुपमा वार्तामा जोड दिइरहेको छ । तर, उसले त्यस्तो वातावरण बनाउन भनेको छ । त्यो वातावरण के हो भनी नखुलाएपनि सिमाबारे नयाँ नक्शा जारीप्रति उसको आपत्ती छ । नेपालले नक्शामा अगाडि बढाइसकेकाले भारत वार्ताका लागि इच्छुक नदेखिएको बुझिएको छ ।
यसैगरी, भारतभित्र नेपालसँग वार्ताको टेबुलमा बस्नै परे सन् १९५० को सन्धी खारेजी, पुनरावलोकन देखि विशेष सम्बन्ध रद्द गर्नेसम्मको विषय एजेन्डा हुनुपर्ने विषय जोडतोडले उठ्न थालेको छ । भारतीय पत्रपत्रिकाहरुले नेपालसँग खुल्ला सीमा, नेपाली नागरिकलाई भारतले नागरिक सरह गर्दै आएको व्यवहारलगायतको व्यवस्था अन्त गर्नुपर्ने गरी एजेन्डा राखिनुपर्ने विषयमा जोड दिएका छन् ।

हिन्दुस्तान टाइम्सले विशेष सम्बन्ध अन्त गर्ने प्रस्तावमा जोड दिदै २६ जेठमा विश्लेषण गरेको छ । भारतका अन्तर्राष्ट्रिय सम्बन्धका जानकार सी राजा मोहनले नेपालसँगको विशेष सम्बन्ध अन्त गरी भारतको स्वार्थ अनुरुपको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । रोचक पक्ष यो छ कि भारतमा वामपन्थी धारका विद्धान र नेपालमा वामपन्थी दल दुवै १९५० को सन्धी खारेजीलगायत विशेष सम्बन्ध अन्तको पक्षमा उभिन थालेका छन् । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।