तस्वीर: प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाको फेसबुक बाट
काठमाडौ – चलचित्र विकास बोर्डमा नवनियुक्त अध्यक्ष दयाराम दाहालले सोमवार आफ्नो पदभार ग्रहण गरेका छन् । गत बिहीवार मन्त्री परिषद्को बैठकबाट दाहाल अध्यक्ष पदमा नियुक्त भएका थिए ।
०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि रिक्त रहेको बोर्ड अध्यक्षका लागि १० जनाको दरखास्त परेको थियो । १० जनाको दरखास्त पछि प्रक्रियागत रुपमा दाहाललाई मन्त्री परिषद्ले बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष दाहालले चलचित्र क्षेत्रमा देखिएको बेथितीलाई प्रथामिकता दिने बताएका छन् । सबैभन्दा पहिले कोरोना भाइरसले ठप्प बनाएको चलचित्र क्षेत्रलाई प्रभावकारी ढंगले क्रियाशिल बनाउनेतिर आफु केन्द्रित हुने उनले बताए ।
बक्स अफिसलाई सहि ढंगले कार्यन्वयन गर्नु, इण्डोर फिल्म स्टुडियोको निर्माण, श्रमजिवी फिल्मकर्मीका लागि सामाजिक सुरक्षा योजनालगायतका कार्यक्रमहरु पनि क्रमशः कार्यन्वयन गर्दै जाने अध्यक्ष दाहालले बताएका छन् ।
दाहालले भने ” मैले अध्यक्षको लागि दरखास्त दिदाँ केही कार्य योजनाहरु पेश गरेको छु । र त्यो कार्ययोजना लाई मैले चलचित्रसँग आवद्ध संघ संस्थाहरुको सल्लाह सुझाव तथा सहकार्यमा कार्यन्वयन गर्दै जानेछु” ।
यसअघी नै कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, निर्माता संघका अध्यक्ष आकाश अधिकारी , प्राबिधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला लगायतका संघ संस्थाका प्रतिनिधि र सुभेच्छुकहरुले नवनियुक्त दाहाललाई बधाई एबम शुभकामना व्यक्त गरेका थिए ।