Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

आफू इमान्दार बनौ अनि मात्रै अरुलाई औला ठड्याउन सक्छौ

Monday, May 11, 2020 National Power

(केशवराज पौडेल) काभ्रेपलाञ्चोक – गाउँघरमा अब चङ्गा उडाउन र पिङ हाल्न मात्रै बाँकी छ । अरु दशैंमा गरिने रमाईलो सबै साथीभाई मिलेर गरिसक्यौं । एक जनामित्रको सामाजिक संञ्जाल फेसबुकमा राखिएको स्टाटस्मा एक हजारभन्दा धेरै लाईक र एकसयभन्दा धेरै कमेन्ट देखिए ।

त्यही उमेर समुहको अर्का युवाले सामाजिक संञ्जालमा यस्तो लेखे, ‘आउनुस सडकमा बस्ने मावनलाई लकडाउनको समयमा खाना खाने व्यवस्था मिलाऔ, एक बोरा दाल, चामल, आलु, तेल र नुन सहयोग गरेर मानवीय कार्य गरौ’उनको स्टाटसरमा मुस्किलले एक सयओटा लाइक र केही कमेन्ट आए ।

जंगलमा जनावर लकडाउनको समयमा पासोमा पर्न थाले, खोलामा देखिन थालेका माछाहरुमा करेन्ट लगाएर मार्न थालियो यो करिब दुई महिना गाउँका मानिसहरुका लागि निक्कै कष्टकर समय बन्यो । तर उनीहरुले केही बोल्न सकेनन् । बोल्न नसक्ने गाउँमा बस्ने हुन् । शहरको झिलीमिलीका मान्छेहरु आएर गाउँका भुइमान्छेको आवाज थुनिदिए ।

अहिले लिपुलेक र कालापानी भारतले मिचेको भन्दै सामाजिक संञ्जालमा रातभर कालिजलाई गोली हान्न जंगल चाहर्ने युवाले चर्काे स्वरमा कराउँदै छ । हरेक दिन खसीको साप्रालाई सितन बनाएर सोमरसको तालमा आफूलाई अब्बल दर्जाको समाजसेवी बनाउँदै छ । तर चोकचोकमा खान नपाएका भोका सडकका कुकुरहरुलाई खाना खुवाउने ठूलीभाउजूलाई आफूले ठूलो काम नगरेको प्रचार नगर्न अनुरोध गरिरहनु भएको छ ।

सबैले हैशियत अनुसारको खान्छ । जे खाएपनि उसले २४ घन्टापछि दिसा गरिहाल्छ । पिज्जा खाएको दिसा सफा आउने र मकै भटमास खाएको दिसा फोहोर आउने पक्कै हैन । तर खाना खाएको कुरा सामाजिक संञ्जालमा देखाएर आफूलाई प्रतिष्ठित बनाउने प्रयासमा नव धनाढ्य लागेका छन् । त्यसले समाजको अर्काे वर्गलाई हामी हुने खाने र तिमीहरु हुँदा खाने हौ भनेर गिज्याइरहेका छन् ।

गाउँमा युवा छन् यतीबेला । लकडाउनमा सामाजिक तथा भौतिक दुरी कायम गरेर चौतारा बनाउन सकिन्थ्यो । पाटी पौवाको मर्मत हुन्थ्यो । सुकेका र पुरिएका मुलहरुको मर्मत सम्भार गर्न सकिन्थ्यो । सबै सामाजिक कामहरु यतीबेला तासको बुकमा सकिएका छन् । बियरका बोतलमा युवाहरुका जागर मेटिएका छन् ।

तीन तहको सरकारका संचालकहरु यतीबेला लोभीपापी बनेका छन् । यो विपद्को समयमा समेत कमाउन खोज्दैछन् । यसले लोकतन्त्रलाई गिज्याउन थालेको छ । स्थानीय सरकारले प्रभावकारी रुपमा काम गर्न सकेन । योजना बनेनन् । राजनीतिक दलहरुले यो समयलाई अवसर लिन सकेनन् । हामी सदैव सरकारको दोष देख्छौ । सरकारले गर्नु पर्ने तर हामी नागरिक पनि लकडाउनमा पारदर्शी बन्न सकेनौ । अनुशासन कायम हुन सकेन ।

तर यो समयमा निक्कै राम्रा काम पनि भएका छन् । स्थानीय सरकारले श्रममा आधारित राहत कार्यक्रमलाई अघि बढाएका छन् । फुड बैंक स्थापना भएका छन् । क्वारेनटाइनमा बस्ने वातावरण सृजना गरेका छन् । लकडाउनको पूर्णपालना भएका छन् । तर यस्तो बिषम अवस्थामा समेत लोभ र लालचको सिकारमा सर्वसाधारणदेखि विशिष्ट व्यक्तित्वहरु समेत परेका छन् । यसले समाजमा धनी र गरिबबिचको खाडल झनै फराकिलो बन्ने अवस्थाको सृजना हुन थालेको छ ।

सानादेखि ठूला समस्या समाधान गर्ने प्रमुख कसी भनेको इमान्दार बन्नु हो । अरुलाई इमान्दार बनाउनु हो । त्यसमा सबै निकाय चुकेका छन् । जनता आफै जिम्मेवार बन्न सकेका छैनन् । आफू जिम्मेवार बन्न सकेमात्रै सरकारी संयन्त्र र सामाजिक संस्थालाई जिम्मेबार बनाउन सकिएला जस्तो लाग्छ ।