Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

स्वाइनफ्लुभन्दा खतरनाक भएकोले भ्याक्सिनविना कोरोना रोक्न सकिँदैन :डब्लुएचओ

Tuesday, April 14, 2020 National Power

काठमाडौं – विश्व स्वास्थ्य संगठन कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’

पूर्णरुपमा कोरोनाको महामारी हटाउन प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको डब्लुएचओको भनाइ छ

सन् २००९ मा अमेरिका र मेक्सिकोबाट निस्किएको स्वाइन फ्लु (एच १ एन१)बाट विश्वभर १८ हजार पाँच सय मानिसको मृत्यु भएको थियो । तर लेसेन्ट मेडिकलले भने उक्त भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५१ हजारदेखि पाँच लाख ७५ हजारसम्म हुन सक्ने आकलन गरेको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार यो फ्लुलाई सन् २००९ को जुन महिनामा महामारीको घोषणा गरिएको थियो । सन् २०१० को अगष्टमा यो महामारी सकिएको बताइएको थियो ।

सन् २०१९ को डिसेम्बर अन्तिम सातामा चीनको हुबेई प्रान्तस्थित बुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखिएको थियो । चार महिनाको अवधिमा यसको संक्रमण विश्वभर फैलिइसकेको छ । कोरोनाबाट झण्डै २० लाख मानिस संक्रमित छन् भने १ लाख १९ हजार बढीको ज्यान गइसकेको छ ।

तर, कोरोना भाइरसको औषधि भने अझै पत्ता लागेको छैन । यसको खोप आउन कम्तीमा १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताइएको छ ।

किन बनाउन सकिएन कोरोनाको भ्याक्सिन ?

डब्लुएचओका प्रमुख गेब्रियससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड–१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले यसलाई रोक्न पहिचान, परीक्षण, आइसोलेसन, उपचारका साथै सम्पर्कमा रहेका मानिसको ट्रेसिङमा जोड दिन आग्रह गरे ।

अहिले विश्वको आधाभन्दा बढी मानिसहरु घरमा नै बसिरहेका छन् । तर, यो कडाइ केही खुकुलो बनाउने हो भने यो महामारी अझै बढ्न सक्ने डब्ल्यूएचओका प्रमुखको भनाइ छ ।

कोभिड–१९ फैलिँदा जति छिटो फैलिएको थियो, नियन्त्रण भने निकै सुस्त गतिमा आएको डब्ल्यूएचओको निष्कर्ष छ । त्यसैले यसलाई एकैपटक नियन्त्रण गर्न नसकिने बताइएको छ । गेब्रियससले सही समय नआउँदासम्म सामाजिक कडाइको नियम जारी राख्नुपर्ने बताएका छन् ।

पूर्णरुपमा यो महामारी हटाउन भने प्रभावकारी खोप तत्कालै आवश्यक देखिएको उनको भनाइ छ ।