Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

यसकारण पनि कोरोनाविरुद्धको खोप विकास गर्न समय लाग्छ

Sunday, April 5, 2020 National Power

काठमाडौ -हाम्रो निकै राम्रो सतर्कता र सामाजिक दूरीका वावजुद पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेको छ। हालसम्म १२ लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ६५ हजार बराबरले ज्यान गुमाइसकेका छन्।

यो महामारीमा लामो समयसम्म जिवित रहन सफल हुनुले यसका विरुद्ध खोप विकास गर्न सकिन्छ भन्ने देखाउँछ।

अहिले खोप निर्माणमा को पहिलो हुने भनेर संसारभर विभिन्न संस्था र वैज्ञानिकहरू अहोरात्र दौडमा छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मार्च २० मा बताए अनुसार ४४ वटा समूह खोप निर्माणमा लागिरहेका छन्।

ती समूह सफल भए कम्तिमा पनि खोप तयार हुन १२ देखि १८ महिना लाग्ने वैज्ञानिकहरूले बताएका छन्।

खोपले कसरी काम गर्छ ?
खोपले प्रतिरोधात्मक प्रणालीका लागि केही अणुहरू निर्माण गर्छ, जसलाई भाइरसको एन्टीजीन भनेर पनि चिनिन्छ।

यी एन्टीजीनहरू कमजोर र निष्क्रिय हुन्छन्, त्यसैले यिनले बिरामी गराउँदैनन्। तर भविष्यमा रोगजन्य जीनले असर गर्न खोज्दा हाम्रो प्रतिरोधात्मक प्रणालीले शरीरमा प्रवेश गर्न खोज्ने ती बाहिरी अनावश्यक एन्टीजीनलाई चिन्न थाल्छ र एन्टीबडी निर्माण गर्छ।

त्यसपछि रोगको असर हुनुभन्दा पहिले नै शरीरमा निर्माण भएका ती एन्टीबडीले रोगजन्य जीनसँग लड्न सुरु गर्छन्।

खोप विकासमा एक कदम अघि
कोभिड–१९ कोरोना भाइरस समूहको भाइरस हो। त्यसैले यसभन्दा पहिले पनि श्वासप्रश्वास प्रणालीका रोगमा थुप्रै अनुसन्धान भइसकेका छन्।

सार्स र मर्सजस्ता श्वासप्रश्वास प्रणालीका भाइरसविरुद्ध सफल अनुसन्धान भइसकेका छन्। त्यसैले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्न कम समय लाग्न सक्ने वैज्ञानिकहरूको मत छ। उनीहरूले कुनै बाधा व्यवधान नभए १८ महिनासम्ममा खोपको विकास हुन सक्छ। तर कतिपय खोप निर्माण गर्न र अनुमति प्राप्त गर्न दशकौँ पनि लाग्ने गर्छ। त्यसैले १८ महिना भित्रै खोप विकास गर्न सक्नु पनि ठुलो उपलब्धि हुने वैज्ञानिकको तर्क छ।

कोभिड–१९ को जीन र सार्स गराउने जीन ७९ प्रतिशत मिलेको छ। त्यस्तै मर्स गराउने जीन ५० प्रतिशत मिलेको छ। त्यसैले कोभिड–१९ को खोप निर्माणमा एक कदम अघि बढिसक्यौँ। यसको ‘जेनोम सिक्वेन्स’ मिलाइदिने चीनका वैज्ञानिकलाई धन्यवाद।

खोपको परीक्षण
अधिकांश खोप विकास गर्नेहरू मानिसमा भन्दा पहिले जनावरमा परीक्षण गर्छन्।

तर अमेरिकामा जनावरमा परीक्षण नगरी सीधै मानिसमा परीक्षण गरिएको छ। यसले अझ छिटो खोप निर्माण गर्न सकिने विश्वास लिइएको छ। सीधै मानिसमा परीक्षण गरिए पनि गर्न बाँकी प्रक्रिया अझै थुप्रै छन्। सामान्यतः मानिसमा खोप परीक्षण गर्दा तीन चरण हुन्छन्।

पहिलो चरणमा खोप मानिसका लागि सुरक्षित छ कि छैन भनेर थोरै संख्यामा परीक्षण गरिन्छ। यसमा करिब सय जनालाई संलग्न गरिन्छ। प्रत्येक चरण पूरा हुन कति समय लाग्छ भनेर समय निर्धारित हुँदैन। तर खासगरी पहिलो चरण पूरा हुन कयौँ महिना लाग्छ।

दोस्रो चरणमा धेरै मानिसलाई संलग्न गराइन्छ। यस चरणमा रोगविरुद्ध खोपले काम गरेको छरछैन भनेर हेरिन्छ। केही खोप विकास गर्दा यो चरण पूरा हुन महिनौँ तथा वर्षौँ समेत लागेको रेकर्ड रहेको छ।

अन्तिम चरणमा अझ संलग्नता बढाइन्छ। हजारौँ मानिसलाई खोप दिइन्छ। यस चरणमा निश्चित समयभित्र खोपले रोगविरुद्ध काम गरेको छ कि छैन भनेर अध्ययन गरिन्छ। यो चरण पूरा हुन केही वर्ष लाग्न सक्छ।

अन्तिम चरण पूरा भएपछि मात्र उत्पादकलाई खोप उत्पादन गर्न अनुमति दिइन्छ। यस चरणपछि पनि विज्ञहरूले यसको पुनः अनुसन्धान गर्ने गर्छन्।

अहिले अमेरिकाको मोडर्ना ट्रायलमा गरिएको परीक्षण पहिलो चरणमै छ। तर यो वर्षको मध्यसम्ममा पहिलो चरण पूरा हुने अपेक्षा गरिएको छ।
कोभिड–१९ को खोप जति सक्दो छिटो बाटोबाट विकसित गर्न लागिएको छ। यस बाटोबाट खोप विकसित गरी विश्वभर जनस्वास्थ्यका लागि प्रयोगमा ल्याउन १२ देखि १८ महिना लाग्छ। तर सुरक्षामा भने सम्झौता गर्न सकिदैन।
(केही अपडेटसहित अलजजिरामा प्रकाशित डा। सारा कायतको लेख अन्नपूर्ण पोस्ट बाट)