काभ्रे (बेथानचोक) – कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको ‘लकडाउन’ जनप्रतिनिधिबाटै उल्लंघन भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका प्रमुख प्रेम बहादुर तिमिल्सिनाबाट ‘लकडाउन’को समयमा चरम लापरवाही भएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले आफ्नो घर बनाउन भन्दै निमार्ण सामाग्री ओसारपसार गरिरहेका छन् । पालिकाको वडा नं ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठको गाडीमा आज बिहान बालुवा ल्याएको हो । बालुवा गाउँपालिकाको वडा नं ५ च्याल्टीबाट ल्याइएको बताइएको छ ।
हिजो मात्र बसेको मन्त्रीपरिषद्को बैठकले ‘लकडाउन’ प्रभावकारी बनाउन नागरिकलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रवेश निषेध गर्ने निर्णय गरेको थियो । यहाँ भने ‘लकडाउन’लाई प्रभावकारी बनाउन जनप्रतिनिधिले प्रमुख भूमिका खेल्नुपर्नेमा जनप्रतिनिधिबाटै उल्लंघन भएपछि स्थानीयमा निराशा छाएको छ ।