Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

बाहिर निस्के महामारी , भित्र भोकमरी

Friday, March 27, 2020 National Power


लक्ष्मेश्‍वर यादव आफ्नै टहराभित्र टोलाउँदै

थापाथली पुलमा गाडी गुड्न छाडेपछि उनीहरूको आम्दानीको स्रोत गुम्यो, दिनमा सय–पचास रुपैयाँ मात्रै भए पनि आउने बाटो रोकियो । भान्सामा सबथोक सकिँदै छ तर पुलमा गाडीको चाप बढ्ने दिन कहिले आउँछ, थाहा छैन ।

काभ्रेपलान्चोक  — सहर कोलाहलयुक्त हुने समय थियो भने बिहान नौ बजेपछि नै उनीहरुको टोल शान्त हुन्थ्यो, सबैका घरमा ताला झुन्डिन्थ्यो । चर्किंदै गएको चैतको घाममा कोही तरतरी पसिना चुहाउँदै भारी बोकिरहेका हुन्थे, कोही घर बनाइरहन्थे । सबै जना केही न केही काम गर्थे, कोही खाली बस्दैनथे ।

सहर चकमन्न हुने बेला छ अहिले, त्यसैले उनीहरूको टोलको कुनै पनि घरमा ताला लगाइएको छैन।

विश्वभर फैलिएको कोभिड–१९ को असरले बाहिरी दुनियाँ बन्द भएपछि उनीहरू टोल र घरभित्रै कल्याङमल्याङ गरिरहेका छन्। कति भर्खरै खाना खाएका भाँडा पखाल्दैछन्, केही थैलोमा भएको अन्नले कति दिन पुग्छ भनेर लेखाजोखा गर्दैछन्। धेरैको भण्डारमा अन्नको सतह तलतल सरिरहेको छ। तेल र मसलाका रित्ता भाँडा अस्तव्यस्त गुल्टिएका छन, खाली भाँडाकुँडा त स्याहार गर्न पनि मन लाग्दैन सायद।

यस्तै बिहान १० जति बजेको हुँदो हो, म काठमाडौं थापाथलीस्थित सुकम्बासी बस्तीको गल्लीमा हिँडिरहेको छु। मैले हिँडेको गल्ली र उनीहरू बसेको टहराको आँगन एउटै भएकाले भित्र बोलेको कुरा बाहिर स्पष्ट सुनिन्छ। ‘यति चामलले त बेलुकालाई पुग्दैन, के खाने हो?’ म एकछिन त्यहीँ रोकिन्छु र टाउको हल्का झुकाएर टहराभित्र छिर्छु।

पाँच वर्षका कृष्ण यादव कसौंडीको पिँधमा बाँकी रहेको भात कातरकुतुर पार्दैछन्, भातसँग खाने सितन छैन। उनले छेउको पोकाबाट अलिकति नुन निकाले र भातमा मिसाए। आमाले गिलासमा पानी खन्याइदिइन्। भोजनभन्दा भोक मीठो थियो सायद, बिहीबार राति एक पुरिया बिस्कुट मात्रै खाएर सुतेका उनले छिनको छिनमै त्यो खाना सक्याए र उही बाल सुलभतासहित खेल्न दौडिए। उनका दिदीहरू ८ वर्षकी बिनिता र ११ वर्षकी संगिता पानीमा भिजाएर नरम पारिएका चिउरा चपाउँदै छन्। बा–आमा लक्ष्मी यादव र फूलकुमारी यादवले भोक मेट्ने कसरी हो, यो बेलासम्म कुनै ठेगान छैन।

देशमा लकडाउन छ भनेर उनीहरूको पेट शान्त बस्दैन पक्कै। केही काम पाउँदा काम गरेर र नपाउँदा मागेरै भए पनि गुजारा चलाउँदै आएको उनीहरुको पाँच सदस्यीय परिवार सरकारले लकडाउन घोषणा गरेसँगै यी दुवै कामका लागि बाहिर निस्किन पाएन। कमाएर जम्मा पारेको जति सबै सकियो। ‘समाचारमा ग्यास, चामल, तरकारीका पसल खुलै छन् भनेको सुनिन्छ,’ लक्ष्मीले भने, ‘तर खुला पसलमा भएका सामान किन्ने पैसा हामीसँग छैन।’ विश्वले कोभिड–१९ सँग र लक्ष्मीको परिवारले भोकसँग गरेको युद्धको तुलना त हुन्न होला तर परिणाम एउटै आउँछ, हार्नु भनेको मर्नु हो।

यीजस्तै अरु धेरै परिवारको घरमा मौज्दात अन्न लगभग सकिएको छ। काठमाडौंमा मजदुरी गरेर धनुषामा रहेका पाँच छोरी र श्रीमती पाल्दै आएका लक्ष्मेश्वर यादवलाई घरबाट दिनदिनै फोन आउँछ। घरमा भएको अन्न सकियो, के खाने भनेर श्रीमतीले सोधिरहन्छिन्। यता ठ्याम्मै काम नभएको साता नाघिसक्यो। त्यही टहराभित्र धुम्धुम्ती बस्न थालेकै पनि चार दिन बितिसक्यो। ‘छिमेकीलाई फोन गरेर तीन किलो चामल उधारो दिनु भनेको छु,’ लक्ष्मेश्वरले भने, ‘खुलेपछि काम गरेर तिर्नुपर्ला।’

श्रीमती र परिवारका लागि अस्थायी जोहो गरिदिएका उनकै भने हालत नाजुक छ, भान्सामा अन्न र गोजीमा पैसा एकैपटक सकिएको छ। त्यसो त काठमाडौंमा आफ्नो गाउँमा जस्तो उधारो पत्याइदिने छिमेकी पनि छैनन्।

महामारीले पूरै विश्वलाई गिजोलेको छ, मृतकको संख्या बढेको बढ्यै छ। संक्रमित दिन दुई गुणा रात चौगुणाका दरमा बढिरहेका छन्। विश्व महामारीसँग जुधिरहँदा टहराभित्रै टहलिएर सरकारले गरेको निर्णयमा साथ दिएका हुन् विपन्नहरूले पनि। तर भोकसँगको भिडन्त अलि अर्कै हुँदो रहेछ। त्यसैको मारमा देशभरका ज्यालादारीमा मजदुरी गरेर जीवनयापन गर्नेहरुका परिवार छन्।

गरिबी र महामारीसँग जनता एकैपटक जुध्न सक्दैनन् भन्ने सोचेरै भारतले विपन्नका लागि ८० करोडको विशेष आर्थिक प्याकेज घोषणा गरेको छ। उनले आफ्ना विपन्न जनतालाई तीन महिनासम्म सहायता गर्ने घोषणा गर्दै उनीहरुलाई भोकभोकै मर्न नदिने बताएको छ। पीडामा आश्वासन नै सही, भारतले त्यति त गर्‍यो, घोषणा गरेपछि कार्यान्वयनमा आउला पनि। तर भारतमा भन्दा पहिले नै लकडाउन गरेको नेपालले अहिलेसम्म गरिबीको मारमा रहेका नागरिकका लागि त्यस्तो कुनै योजना ल्याइसकेको छैन। तर लकडाउनका कारण काम गर्न नपाएका मजदुरका घरभित्र भने अभावले असर देखाउन थालिसकेको छ। सुकुम्बासी टोलकी पुनम माझी तिनैमध्येकी हुन्।
‘एक दिनभरि भारी बोक्दा ८ सय रुपैयाँ आउँछ, दुई दिन जति खान पुग्छ,’ माझीले भनिन्, ‘बाहिर निस्के महामारीले मर्ने, घरभित्र बसे खान नपाएर मर्ने हालत भयो।’ उनले सरकारले आफूहरुका लागि केही सोच्नुपर्ने बताइन्। ‘हामी त अझ काम गरेर खान सक्ने छौं, यो टोलमा मागेर गुजारा चलाउने पनि धेरै छन्, उनीहरु झन् समस्यामा छन्,’ उनले भनिन्।

माझीले भनेजस्तै मागेरै जिन्दगी धान्ने परमेश्वरीदेवी मुखिया र श्याल्टु मुखियाको दृष्टिविहीन दम्पती थापाथली पुलमुनि बस्छन्। पुलमा गाडीको आवाज सुन्नेबित्तिकै उनीहरुको कान ठाडो हुन्छ। ‘एउटा–दुइटा मात्रै गाडी चलेका छन्,’ परमेश्वरीले भनिन्, ‘त्यहाँ गएर हामीलाई कसले पैसा दिन्छ र खाने?’ नत्र भए अरु बेला परमेश्वरी थापाथलीमा गाडीको चाप बढ्नेबित्तिकै माग्न जान्थिन् भने श्याल्टु खाना पकाउने काम गर्थे।

सहर सुनसान भएपछि यिनीहरुको आम्दानीको स्रोत गुम्यो, दिनमा सय–पचास रुपैयाँ मात्रै भए पनि आउने बाटो रोकियो। अहिले यो दम्पतीको भान्सामा डेढ किलोजति आलु र त्यति नै चामलबाहेक सबथोक सकिएको छ। तर थापाथली पुलमा गाडीको चाप बढ्ने दिन कहिले आउँछ उनीहरूलाई थाहा छैन। किनभने महामारीको त्रास कति लम्बिन्छ अनिश्चित छ।

 

 

 

,

 

 

 

 

 

,

 

 

 

 

,

 

,

 

– कान्तिपुर बाट