Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ सँग सम्बन्धित बिरामीको मात्रै उपचार गर्ने

Sunday, March 22, 2020 National Power


काठमाडौँ — टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड–१९ सँग सम्बन्धित बिरामीको मात्रै उपचार गर्ने भएको छ । अस्पतालले ओपीडी सेवा बन्द गरेको छ । यसअघि अस्पतालले क्षयरोग, एचआईभी, झाडापखाला लागेका र कुकुरले टोकेका बिरामीको समेत उपचार गर्ने गरेको थियो ।

अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीका अनुसार अब एचआईभी संक्रमित र क्षयरोगका बिरामीले वीर र पाटन अस्पतालबाट उपचार पाउनेछन् भने कुकुरले टोकेको बिरामीको प्रदेश स्वास्थ्य कार्यालय टेकुमा उपचार हुनेछ । ‘कुकुरले टोकेका बिरामी हेर्न स्वास्थ्य कार्यालयमा आफ्नै स्वास्थ्यकर्मी खटाउँछौं, तालिम पनि दिन्छौं,’ डा. राजभण्डारीले भने, ‘यसका लागि आवश्यक खर्चसमेत व्यवस्थापन भइसकेको छ ।’

डा. राजभण्डारीका अनुसार कुकुरले टोकेको बिरामी दिनमा तीन सय हाराहारी टेकुमा आउँथे । ‘अन्य सरुवा रोगका तीन सय बिरामीले यहाँबाट नियमित औषधि लिइरहेका थिए,’ उनले भने, ‘अब स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खाने बिरामीलाई २ महिनाका लागि एकैचोटि औषधि दिएर पठाइन्छ ।’ उनका अनुसार नियमित औषधि खाने ती बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र अस्पताल नै बोलाएर औषधि खुवाउँदा संक्रमण सर्ने बढी जोखिम रहन्छ ।

अस्पताललाई कोभिडको उपचारमा मात्रै केन्द्रित गर्न पूर्वाधारसमेत थपिएको छ । विशेषज्ञलाई जटिल बिरामी मात्रै हेर्ने जिम्मा दिइएको छ भने सामान्य रुघाखोकीका बिरामी हेर्न ज्वरो क्लिनिक व्यवस्था गरिएको छ । नर्स र पारामेडिक्सले क्लिनिकबाट बिरामी हेर्छन् र कोभिडको लक्षण देखापरे विशेषज्ञलाई रिफर गर्छन् । स्वास्थ्यकर्मीले बिरामीलाई घरमै कसरी आइसोलेसन भएर बस्ने, आफू र अरूलाई कसरी बचाउने भनेर सिकाइरहेका छन् ।

डा. राजभण्डारीका अनुसार अस्पतालमा २० बेडको आईसीयू राख्ने तयारी भइरहेको छ । निक साइमन संस्थाको सहयोगमा अहिले अस्पतालमा १० वटा मोबाइल र एक थान पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट)भेन्टिलेटरको व्यवस्था गरिएको छ । ती भेन्टिलेटरमा अक्सिजन जोडेर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी गरी थप ४० जना तीनमहिने करारमा थपिँदैछ । ‘जनशक्तिको माग स्वास्थ्य मन्त्रालयले स्वीकृत गरिसकेको छ,’ अस्पतालका निर्देशक डा। राजभण्डारीले भने, ‘आइसोलेसन र आईसीयूमा काम गर्ने श्वासप्रश्वास विशेषज्ञ, बेहोस बनाउने चिकित्सक (एनेस्थेसियोलोजिस्ट) र नर्सिङ स्टाफ मागेका छौं ।’ उनले जनशक्ति आउनासाथ तालिम दिइने बताए ।

अस्पतालका विशेषज्ञलाई २४ घण्टा खटाइने भएको छ । उनीहरूका लागि अस्पतालमै बस्ने व्यवस्था हुनेछ । विशेष गरी आइसोलेसन र आईसीयूमा खटिने स्वास्थ्यकर्मी र चिकित्सक अस्पतालमै बस्नुपर्ने निर्देशक डा। राजभण्डारीले बताए । ‘अस्पतालमा बस्नैपर्छ भन्ने बाध्यकारी नियम त छैन तर घर जाँदा परिवार र छिमेकलाई जोखिम छ,’ उनले भने ।