काठमाडौं – कालोबजारी गरेको अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढ्दो छ । तर चीनबाट आपूर्ति रोकिएको छ भने भएका मास्कमा कालोबजारी भइरहेको छ । ४र५ रुपैयाँमा पाइने मास्कलाई ५० रुपैयाँसम्म लिन थालेपछि प्रहरीले सर्च अपरेसन चलाएर बरामद गर्न थालेको छ ।
तर बरामद भएका मास्क गोदाममा थन्किएका छन् । किनकी यसमा पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइनछ र मुद्दाको टुंगो नगिसकेपछि मा जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ । तर महान्यायाधिवक्ता अग्नि खरेलले यसलाई सच्याउन पहल थालेका छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र सम्वद्ध अधिकारीहरुलाई छलफलमा बोलाएका उनले बरामद भएका मास्क तत्काल बजारमा पठाउन उपायको खोजीबारे परामर्श थालेका हुन् ।
स्रोतकाअनुसार उनले कालोबजारी गरेको अभियोगमा अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी गरेका छन् । बरामद भएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने तयारी छ ।
प्रहरीले चैत २ गते कपनको मिलन चोकबाट १ लाख ६८ हजार थान मास्कसहित ५ जनालाई पक्राउ गरेको थियो । उनीहरुसँग सोधपुछको क्रममा काठमाडौं महानगरपालिका १० विष्णुमति पुलस्थित रोहित श्रेष्ठको घर भाडामा लिई राखेको आरडीजी सप्लायर्स कम्पनीको गौदामबाट ८ लाख ४० हजार थान मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
यो समूहबाट अहिलेसम्म १० लाख ८ हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।