Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

नेपाल–भारत आवत–जावत गर्न चार वटा मात्रै नाका खुल्ला

Saturday, March 14, 2020 National Power


काठमाडौं – कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ ।

आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् । नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन् ।


भारतको गृहमन्त्रालयका एक अधिकृत अनिल मलिकका अनुसार भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने छ । तर तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन् ।

प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ ।

कोरोना भाइरसबाट दुई जनाको मृत्यु र ८२ जना संक्रमित भएपछि भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको छ । नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग जोडिएका २० नाका बन्द गर्ने निर्णय भारतले गरेको छ । भारत–बंगलादेश रेल र बस सेवा १५ अप्रिलसम्मका लागि बन्द गरिएको छ । सीमा क्षेत्रका बजारमा पनि विदेशीहरुलाई पनि प्रवेश बन्देज गरिएको छ ।

भारतले पर्यटक भिसा बन्द गर्ने र कोरोनाबाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा उडान रोक्ने निर्णय यसअघि नै गरिसकेको छ ।

नेपालले पनि अनअराइभल भिसा बन्द गर्दै भारततर्फ आवत–जावतका लागि सीमित नाकामात्रै प्रयोग गर्ने र सिमानामा जाँच कडा बनाउने निर्णय गरिसकेको छ ।