नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९)को प्रकोप बढ्दै गएपछि दिल्ली सरकारले ३१ मार्चसम्मका लागि कक्षा पाँचसम्म पढाइ हुने सबै प्राथमिक विद्यालयलाई बन्द गर्ने निर्णय गरेको छ ।दिल्लीका उपमुख्यमन्त्री एवं शिक्षामन्त्री मनीष सिसोदियाले बालबालिकामा कोभिड–१९ को संक्रमण फैलन नदिन सरकारी र निजी सबै प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएका छन् । ‘बालबालिकामा भाइरस संक्रमण फैलन नदिन सरकारले ३१ मार्चसम्म सबै प्राथमिक विद्यालय बन्द गर्न आदेश जारी गरेको छ,’ सिसोदियाले ट्वीट गरेका छन् ।
दिल्लीसँगै जोडिएको गाजियावाद सहरमा बिहीबार थप एक जनामा कोरोना भाइरस पुष्टि भएसँगै बालबालिकामा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै दिल्ली सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको हो । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३० नाघेको छ । बुधबार मात्र कोरोनाका २३ नयाँ बिरामी पहिचान भएका थिए ।
भारत भ्रमणमा आएका इटालीका २३ पर्यटकमध्ये १५ जनासहित बसका चालकलाई समेत संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै दिल्लीमा सोमबार पहिचान गरिएका एक संक्रमितको ६ जना आफन्तमा पनि भाइरस पुष्टि भएको छ। सोमबारै तेलंगनाका एक व्यक्तिमा पनि भाइरसको संक्रमण पुष्टि भएको थियो । यसअघि संक्रमण पहिचान भएका केरलाका तीन जना भने उपचारपछि निको भइसकेका छन् । कोरोना संक्रमित पुष्टि भएका दिल्लीका ती व्यक्ति अस्ट्रियाबाट एयर इन्डिया हुँदै आएकाले क्रु सदस्य र सँगै आएका अन्य यात्रुलाई पनि घरमै १४ दिनको क्वारेन्टाइनमा बस्न भनिएको छ ।
कोभिड–१९ संक्रमितको संख्यामा वृद्धि भएपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्दले यस वर्षको फागु (होली)नमाउने घोषणा गरिसकेका छन् । ट्वीट गर्दै कोविन्दले बुधबार राष्ट्रपति कार्यालयमा होलीको कार्यक्रम नहुने बताएका हुन् । ‘सजगता र सुरक्षित उपायबाट हामीले ‘नोवल कोरोना भाइरस’ (कोभिड–१९) महामारी नियन्त्रणमा सघाउन सक्छौं । त्यसैले पूर्वसतर्कतास्वरूप राष्ट्रपति कार्यालयले होलीको कार्यक्रम आयोजना गर्ने छैन,’ कोविन्दले ट्वीट गरेका छन् ।
यसअघि बुधबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि होली कार्यक्रममा सहभागी नहुने जनाइसकेका छन् । मोदीले ट्वीटमार्फत विश्वभरका विशेषज्ञले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न भीडभाड नगर्न सल्लाह दिएकाले आफू होली कार्यक्रममा सहभागी नहुने बताएका हुन्।
यसैबीच, भारत सरकारले हालसम्म विदेशबाट आएका करिब ५ लाख यात्रुको कोरोना परीक्षण गरिएको र करिब २९ हजारलाई निगरानीमा राखिएको बताएको छ। भारतले विभिन्न मुलुकबाट आउने यात्रुलाई विभिन्न नाका र विमानस्थलमै कोरोना परीक्षण गर्नर्देखि कतिपय देशका नागरिकलाई तत्कालका लागि प्रवेशमै रोक लगाएको छ।