काठमाडौं – निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको छ ।
अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार पीडितले अदालतसमक्ष गरेको बकपत्र र फरेन्सिक रिपोर्टका आधारमा महराले सफाइ पाएका हुन् । महराविरुद्ध बलात्कार प्रयासको जाहेरी दिने संसद सचिवालयकी कर्मचारीले अदालतसमक्ष भने महराले आफूविरुद्ध बलात्कार प्रयास नगरेको बयान दिएकी थिइन् । त्यस्तै औठाछापलगायत फरेन्सिक जाँचको रिपोर्टबाट पनि महरा उक्त घटनामा संलग्न नभएको देखिएकाले सफाइ पाएका श्रेष्ठले बताए । फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ ।