सिड्नी / अंग्रेजी नया वर्ष रमाइलो र अर्थपूर्ण रुपमा नेपालमा मनाउन सयौं अस्ट्रेलियन पर्यटक नेपाल पुगेका छन् । उनीहरु मध्ये धेरै नेपाली मुलका अस्ट्रेलियन पर्यटक छन् । नयाँ वर्ष २०२० को जनवरी १ को अस्ट्रेलियन समय (सिड्नीरक्यानबेरा) अनुसार बिहान नौ बजेसम्म अस्ट्रेलिया संस्करणको सम्पर्कमा आएका केही अस्ट्रेलियन पर्यटकहरुले आफ्नो नेपाल बसाइँ कसरी महत्वपूर्ण बनाउँदै छन् भन्ने योजना सुनाए ।
जनवरी १ मा उद्घाटन हुने भिजिट नेपाल २०२० को कार्यक्रममा सहभागी हुने लक्ष्यसहित मंगलवार राति सिड्नीबाट उडेको गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको टोली चीनको गोन्जाउबाट सम्पर्कमा आयो । ‘अस्ट्रेलिया-नेपाल गौरवमय यात्रा अभियान’ नाम दिएको उक्त भ्रमण टोलीका संयोजक खेम शर्माले आफ्नो टिमको पाँच दिने कार्यतालिका सुनाए ।
उनका अनुसार बुधवार मध्यान्नअघि नै काठमाडौं पुगेर उक्त टिम नेपाल पत्रकार महासंघले आयोजना गर्ने एक कार्यक्रममा सामेल हुनेछ । यो टिम र नेपाल पत्रकार महासंघबीच बुधवार नै नेपालका सात प्रदेशका सात जना पर्यटन बिटमा समाचार लेख्ने पत्रकारलाई लेखनवृति प्रदान गर्नेबारे सहमतिमा हस्ताक्षर हुने छ ।