Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन,

Monday, December 16, 2019 National Power


काठमाडौं-  चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको ५३ वर्षको उमेरमा असामयिक निधन भएको छ । ओम अस्पताल लैजाने क्रममा आइतबार राति उनको निधन भएको हो । अस्पतालले निधनको कारणबारे कुनै औपचारिक जानकारी दिएको छैन । अस्पताल स्रोतले भन्यो, ‘हामीकहाँ ल्याउनासाथ चिकित्सकहरुले जाँच गर्दा उहाँको निधन भइसकेको थियो । त्यसैले कारण खोज्नेतिर लागिएन ।’

भट्टराई आइतबार बेलुका ७ बजेतिर चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता नरेन्द्र महर्जनको घर कीर्तिपुरमा पुगेका थिए । महर्जनकी आमाको पुण्यतिथिको निम्तो मान्न उनी गएका थिए । नेवारी परम्पराअनुसार त्यहाँ उनले ‘ड्रिंक्स’ गरेको बताइएको छ । कीर्तिपुरबाट आफ्नै गाडीमा अनामनगरस्थित घर फर्किने क्रममा उनको स्वास्थ्य बिग्रेको थियो । राति ९ बजेतिर बाटोमा उनलाई अप्ठेरो महसुस भएको र वान्तासमेत भएको थियो । भट्टराई गाडीको पछाडि सिटमा थिए । ड्राइभरले अनामनगरस्थित घर पुर्‍याए पनि त्यतिबेलासम्म भट्टराई बेहोश अवस्थामा पुगिसकेका थिए । ड्राइभरले उनलाई गाडीबाट निकाल्न नसकेपछि छोरालाई बोलाए । छोरा तत्काल घरबाट निस्केर उनलाई चाबहिलस्थित ओम अस्पतालतिर लगियो ।

त्यसक्रममा चाबहिलमै रहेको चलचित्र विकास बोर्डको कार्यालयमा लगेर त्यहाँबाट तीनजना सहयोगीहरुलाई पनि गाडीमा राखिएको थियो । भट्टराईलाई राति सवा १० बजेतिर अस्पताल पु¥याइएको थियो । अस्पतालमा गाडीबाट निकाल्दा उनको मुखबाट र्‍याल र रगतसमेत निस्केको देखिएको थियो । अस्पताल पुग्नुअगावै बाटोमै उनको निधन भएको चिकित्सकहरुले बताएका छन् । हृदयघातबाट निधन भएको हुन सक्ने आशंका गरिए पनि डाक्टरहरुले औपचारिक जानकारी दिएका छैनन् । वान्ता गर्ने क्रममा उनको स्वासनलीमा अवरोध पुगेको अनुमानसमेत गरिएको छ । परिवारको आग्रहमा भट्टराईको पोष्टमार्टम गरिएन ।

भट्टराईकी श्रीमती र एक छोरा छन् । भट्टराई दम्पत्तिले ०६२ सालमा ओम अस्पतालमै टेस्टट्यूव प्रविधिबाट छोरा जन्माएका थिए । उनका छोरा १५ वर्षका छन् । भट्टराईले १५ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आइरहेका थिए । महर्जनको घरमा रहँदा उनले केही असहज महसुस गरेको र टाउको दुःखेको बताएका थिए । आइतबार दिउँसो उनले बोर्डको वैठक राखेर शनिबार निधन भएका कलाकार दीपक क्षत्रीको अन्त्येष्टिका लागि रकम छुट्याएका थिए । दिउँसो साढे तीन बजे सञ्चारमन्त्रीसँग भेट गर्न सिंहदरबार पुगेका थिए ।

भट्टराई सोमबार हेटौंडा जाने कार्यक्रम थियो । त्यहाँबाट मंगलबार भैरहवा जाने योजना थियो । भैरहवामा बोर्डले आयोजना गर्न लागेको चलचित्र महोत्सवको तयारीका लागि उनी जान लागेका थिए । यसका लागि उनले ४र५ दिन छुट्टी लिइसकेका थिए । तुलसी घिमिरेको चलचित्र ‘कोसेली’ बाट ०४५ सालमा अभिनय यात्रा सुरु गरेका भट्टराईले पाँच दर्जन जति चलचित्रमा अभिनय गरेका छन् । उनले थुप्रै चलचित्र निर्माण पनि गरेका छन् । उनी ८ महिना अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । त्यसअघि उनी चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष थिए ।

भट्टराईको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्यष्टि गरिदै छ। त्यसअघि चलचित्र बिकास बोर्डमा श्रद्धाञ्जलीका लागि २ बजेसम्म राखिएको थियो  ।