Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १९ लाख चोरी

Wednesday, November 27, 2019 National Power

काठमाडौं – राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका-३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट नगरपालिका-३ का २५ वर्षीय सुमन पाडेल र सिन्धुपाल्चोक ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् । पक्राउ परेकाहरु सबै विद्यार्थी हुन् । उनीहरु मध्ये गोविन्द र अन्जन प्रमुख योजनाकार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरुको भनाइ छ । त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ । बैंकबाट निकालिएको रकम र हस्ताक्षर मिलाउन अभ्यास गरेका रजिस्टरहरू ।
यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको पाइएको छ ।

उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीको भनाइ छ ।

खातावालाको सक्कली भिसा कार्डसमेत लिएको पाइएकोले बैंक कर्मचारीको मिलेमतो र लापरबाही भएको हुन सक्ने भएकोले त्यसतर्फ अनसन्धान गरिरहेको एसएसपी सुवेदीले बताए ।

पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।

घटनाको चर्चा सेलाउन नपाउँदै ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो ।

दुवै प्रकरणमा संलग्न नेपाली एजेन्ट समातिएका छन् भने मुख्य अभियुक्तको अझैसम्म प्रहरीले पहिचान गर्न सकेको छैन ।