Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक, अतिक्रमित भूमिबारे छलफल नहुने

Friday, November 15, 2019 National Power


काठमाडौं – नेपाल र भारतबीच सीमा विवाद चर्किएको बेला दुवै देशका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक मंसिर पहिलो साता बस्ने भएको छ । बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने तय भएको छ । यद्यपि सो बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा भने छैन । गृहमन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा बैठकमा छलफल हुन्छ, सीमा विवादको विषयमा भने छलफल गर्ने एजेण्डा अहिलेसम्म बनेको छैन ।’

नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, कालापानीलगायतका भूभाग आफ्नो क्षेत्रमा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि भारतविरुद्ध नेपालीको आक्रोश बढेको छ । सरकारलेसमेत कालापानी, लिपुलेकलगायत भारतले मिचेको भूभाग नेपालकै भएको भन्दै भारतको नक्सा सच्याउन कूटनीतिक पहल गर्ने बताएको छ । सरकारको यो कामलाई सबै राजनीतिक दलले साथ दिने आश्वासनसमेत दिएका छन् । तर, भारतले भने आफूले जारी गरेको नक्सा सही भएको दाबी गर्दै आएको छ ।

बालुवाटारमा राष्ट्रिय सहमति:लिम्पियाधुरासम्मै नेपाली भूमि हो
सीमा विवाद फेरि एकपटक चर्किएको बेला बस्न लागेको सीमा सुरक्षा बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का प्रमुखसहितका अधिकारीहरु सहभागी हुनेछन् । बैठकमा पेस गर्ने एजेण्डा तयार पारेर सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गृह मन्त्रालयमा पेस गरेका छन् । सो प्रस्ताव गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमा बुझाएको छ ।

‘सशस्त्र प्रहरीले तयार पारेको एजेण्डालाई थप परिस्कृत बनाएर परराष्ट्र मन्त्रालयमा पठाएका छौं,’ गृहमन्त्रालयका एक अधिकारीले भने । ती अधिकारीका अनुसार सो प्रस्तावमा सीमा क्षेत्रमा हुने अपराध, अवैध ओसारपसार नियन्त्रण, संयुक्त सुरक्षा गस्तीलगायतका विषय उल्लेख छन् । हरेक वर्ष आयोजना हुनुपर्ने नेपाल-भारत सीमा सुरक्षा बैठक नियमित हुन सकेको छैन । २०६९ सालयता जम्मा तीनपटक सीमा सुरक्षा बैठक बसेको छ ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक २०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक आउँदो मंसिर पहिलो साता पोखमा बस्न लागेको हो ।