Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

लुम्बिनीमा तीनदिने त्रिपिटक वाचन सुरु

Thursday, November 14, 2019 National Power

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीको आध्यात्मिक एवम् पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । त्रिपिटक वाचनका लागि नेपाल, भारत, श्रीलङ्का, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत २० बढी देशका १ हजार जना भन्दा बढी भिक्षु–भिक्षुणी, उपासक–उपासिका भेला भएका छन् । त्रिपिटक बुद्ध धर्मको मूल ग्रन्थ हो । त्रिपिटक च्यान्टिङ (वाचन) समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक कार्यक्रम सुरु भएको हो ।

यस पटक लुम्बिनीमा ३ वटै पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिंदा ) गर्दा सुनाएका बसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यबीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तिका लागि देशना गरेका महासमय सुत्र पनि पाठ (वाचन) गरिने छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले त्रिपिटक वाचनले लुम्बिनीको गरिमा र महत्वलाई बढाएको बताए । सम्राट अशोकले लुम्बिनीसँगै कपिलवस्तुको २ स्थानमा अशोक स्तम्भ राखेको ठाँउ पहिचान भएको र कनकमुनि बुद्धको जन्म स्थल निगालिकोटमा प्रदेश सरकारले कनकमुनी बुद्धको प्रतिमा राख्ने योजना बनाएको मुख्यमन्त्री पोखरेलले बताए । नवलपरासीको रामग्राममा बुद्धकालिन सम्पदाहरुको संग्रहालय बनाउने योजना रहेको पनि उनले बताए । कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ । पहिलो दिन नेपाली भिक्षुले सुत्रपिटक अन्तर्गतको दीर्घ निकायको बह्रमजाल सूत्र वाचन गरेर त्रिपिटक वाचनको सुरुआत गरेका छन् ।

दोस्रो दिन म्यान्मारका भिक्षुले अभिधम्म पिटक वाचनको नेतृत्व गनेछन् भने तेस्रो दिन थाई भिक्षुुले विनयपिटक वाचनको नेतृत्व गर्ने छन् । त्रिपिटक ग्रन्थ पालि भाषामा लेखिएको छ । जसलाई विभिन्न भाषामा अनुवाद गरिएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयदेखि महापरीनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचन संग्रह गरिएको छ । बोधगयामा बुद्धत्व प्राप्त गरेपछि ४५ वर्षसम्म भगवान् बुद्धले नेपाल, भारत, श्रीलङ्कासहित विश्वका विभिन्न मुलुकमा धर्मोपदेश गरेका थिए । गौतमबुद्धको महापरीनिर्वाणपछि विभिन्न संघमार्फत बुद्ध वचनलाई एक सूत्रमा सङ्ग्रह गरिएको थियो । यसलाई नै त्रिपिटक भनिन्छ । अभिधम्म पिटक, सुत्त पिटक तथा विनय पिटकको सङ्ग्रह नै ‘त्रिपिटक’ हो ।

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई सुत्तपिटक र अभिधम्म पिटकलाई विभिन्न चरणमा विभाजन गरिएको छ । विनयपिटक अन्तर्गत सुत्तविभङ्ग, खन्धक, परिवार, पातिमोक्ख छन् सुत्तपिटकअन्तर्गत दीघनिकाय, मज्झिम निकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय, खुद्दक निकाय र अभिधम्मपिटकअन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान छन् । मायादेवी मन्दिर परिसरमा सञ्चालित त्रिपिटक वाचन तीन दिनसम्म चल्ने आयोजक समितिका सचिव हेमबहादुर विष्टले जानकारी दिए ।

अनलाईनखबर बाट साभार