Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अमेरिकामा पर्खी राईले पाए करातेको अन्तर्राष्ट्रिय रेफ्रीलाइसेन्स

Tuesday, September 17, 2019 National Power

काठमाण्डौ – ‘विहानले दिन बताउछ ।’ यस्तै ‘हुने विरुवाको चिल्लो पात’ । नेपालीमा चल्लीमा रहेका यी भनाई हाल अमेरिकाको न्युयोर्कमा रहेका पर्खी राईको हकमा लागु हुदैन । त्यसो हुदो हो त यिनी अहिले सोलुखुम्बुको कुनै वनपाखामा भेडा चराई रहेका हुने थिए । भेडीगोठालो हुन घर छोडेका राई अहिले अमेरिकामा कराते खेलका प्रशिक्षक, रेफ्रि र कराते स्कूलका मालिक पनि हुन । यसै हप्ता देखि उनको करिअरमा अर्को एउटा इट्टा थपिएको छ । अब उनी करातेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्रि बनेका छन् ।

विश्व कराते महासंघ (डब्लुकेएफ) अन्तर्गत करातेको काता र कुमिते दुबै तर्फ उनी अब विश्वभर हुने कराते प्रतियोगितामा निर्णायक बन्न पाउने छन् । कर्मभूमि अमेरिकाबाट यस्तो सफलता पाउने राई दोस्रो व्यक्ति हुन् । यस अघि उनकै गुरु शान्त थोकरले यो सफलता हात पारेका थिए इक्वेडरमा हालै सम्पन्न पान अमेरिकन कराते च्याम्पियनसिपको समयमा अन्तर्राष्ट्रिय निर्णायकका लागि परिक्षा समेत भएको थियो । काता तथा कुमुते दुबै तर्फको परिक्षामा उनी पास भए । चार बर्ष अगाडि उनले पान अमेरिकाबाटै राष्ट्रिय रेफ्रि पाएका थिए ।

राई अमेरिका आएर ३२ बर्षको उमेर देखि कराते खेल्न शुरु गरेका व्यक्ति हुन् । सन् २००८ मा छोराहरुलाई कराते सिकाउनका लागि ज्याक्सन हाइटमा रहेको इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनमा पाईला टेकेका राईले छोराहरु सँग सँगै आफुलाई पनि करातेकर्मी बनाएर छोडे । गज्जवको संयोग के पनि छ भने राईले जुन स्कूलमा करातेको कखरा सिके त्यही प्रशिक्षक बने र अहिले उनी नै त्यो स्कूलको मालिक समेत हुन् । राईले करातेमा तेस्रो डान प्राप्त गरेका छन् ।

युवा अवस्थाको डिलमा खेलकुदमा लागेर यो सफलता पाउने कमै भाग्यमानीमा राई पर्दछन् । जवकी नेपालमा करातेको सस्थापक मध्येका केही र अन्य खेलमा पनि ख्याति कमाएहरु अमेरिका आए पछि गुमनाम छन् । तर नेपालमा खेलकुद सँग कुनै साइनो नभएका राईले अमेरिकामा आफुलाई खेलकर्मी बनाएका छन् त्यो पनि सफल रुपमा ।

सोलुखुम्बुको माप्य दुधकोशि गाँउ पालिका राप्छामा जन्मिएका राईले ढेड बर्षको उमेरमा नै बुबालाई गुमाएका थिए । आफु ढेड बर्षको र भाइ आमाको काखमा हुँदै बुबाको निधन भए पछि उनको परिवारमा अन्धकारको कालो बादल नै मडारियो । दैव त्यतीमा मात्र सिमित थिएन । बाबुको निधन भए लगतै घर पनि पहिरोले पुर्यो । एकाध बर्षमा उनका सहकर्मी कापि कलम बोकेर स्कूल तीर जान थाले तर पर्खि लेकतिर लागे । गर्मीमा दुधकुण्ड हिमालको काख र जाडोमा दुधकोशी नदिको किनारमा भेडाबाख्रा गोठालो गर्दैमा उनको दश बर्ष वित्यो ।

दैब जति कठोर हुन्थो उनी त्यति नै मेहनती । भौतिक रुपमा उनी भेडीगोठमा भए पनि मन भने गाँउमा रहेको स्कूलमा हुन्थो । भेडाबाख्रा वनपाखामा छोडे पछि उनी ठूलो ढुङ्गा वा ठूलो रुखको फेदलाई स्कूल मानेर आफै बढ्लेख गर्ने गर्दथे । अतित खोतल्दा राईको अनुहार भावुक देखिन्छ । प्रायस हासि रहने उनको आँखामा आशु टलपलिन्छ । ‘म भेडा गोठालो भए पनि किताव बोक्न छोडेको थिइन । जंङ्गलमा नै मेरो स्कूल थियो । भेडा चराउदै पढ्ने गरेको थिए ।’

उनको गरिवी र मेहनतले विद्यालयका शिक्षकलाई सायद छोएको हुनु पर्छ । त्यसैले त उनले अन्य समय स्कूल नगए पनि परिक्षा भने दिन पाए । ‘परिक्षाको बेलामा जसो तसो ब्यवस्था मिलाएर म स्कूल जान्थे । अरु समय स्कूल नगए पनि मलाई गुरुहरुले परिक्षा दिने मौका दिएका थिए । परिक्षामा सधै स्कूल जाने साथीहरु जस्तै मैले पनि राम्रो नम्वर ल्याउथे ।’ भेडी गोठमै रहेर पाँच कक्षा पास गरेका राईलाई त्यस पछि झनै चुनौति थपियो । अब छ कक्षा पढ्नलाई अर्को गाँऊ जानु पर्ने । आफ्नो गाँऊको स्कूलमा जस्तो परिक्षामात्र दिन पाउने छुट उनलाई छिमेकी गाँऊको स्कूलमा थिएन ।

उनी पढाइको धोको थाति राखेर उनी फेरि भेडीगोठमा फर्किए । मान्छे भेडीगोठमा भए पनि उनको मन साथीभाइ गएको पल्लो गाँऊको स्कूलमा थियो । यही क्रममा उनको सोचाइमा ठूलै परिवर्तन आयो । दश बर्षमा उनको कमाइ भनेको तीन वटा भेडा बढेर एक सय भएको थियो । त्यही भेडा बेचेर उनी एकै पटक सात कक्षा भर्ना हुन पल्लो गाँऊको स्कूल हानिए ।

हिमालयन मावि बाट एसएलसी पास गरे पछि उनले सोलुखुम्बु छोडे । भेडी गोठालेबाट शूरु भएको उनको जीवन काठमाडौमा शिक्षकको रुपमा परिवर्तत भयो । कलेज पढ्न भन्दै काठमाडौ आएका राई वेलायती सस्थाको स्वयम् सेवक शिक्षकको रुपमा ललितपुरमा पढाउन थाले । मास्टर हुन उनी दोलखा पनि पुगे । सन् २००२ मा उनी छिमेकी एक शेर्पा दाईको सहयोगमा करोडौ नेपालीको सपनाको मुलुक अमेरिका आइ पुगे । काठमाडौ आउनु अघि सम्म सोलुखुम्बुको शदरमुकाम पुग्नु नै उनका लागि सपना थियो । अहिले उनी छन् विश्वकै सपनाको देश अमेरिकामा । त्यो पनि न्युयोर्कमा ।

नेपालका करातेका सस्थापक भनिने तथा अन्य प्रशिक्षक अमेरिकामा आएर ट्याक्सी डाइभर बन्नु सामान्य नै हो । तर अमेरिकामा ट्याक्सि डाइभरबाट भविश्य खोजेका पर्खि राई अहिले अन्तर्राष्ट्रिय रेफ्रि, प्रशिक्षक र कराते स्कूल संचालक पनि बनेका छन् । त्यो उनको जीवनको छलाङ्ग हो । र अमेरिका अवसरको भूमि हो भनेर राईले प्रमाणित पनि गरेका छन् ।