Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार

Friday, September 6, 2019 National Power

वीरगञ्ज – वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेर भागेको प्रत्यदर्शीले बताएका छन् ।

खातुन त्यो बाटो भएर विद्यालय जाने-आउने गर्थिन् । विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए । उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । उनको नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । वीरगञ्ज-१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् । घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ ।

एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए । उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले घाइते छात्राको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका छन् ।