काठमाडौं -दरबारमार्गस्थि नबिल बैंकको एटीएममा रकम चोरी गर्दागर्दै चिनियाँ नागरिक पक्राउ परे । उनलाई पछ्याउँदै जाँदा थप चार जना पक्राउ परे ।
पक्राउ परेका सबै चिनियाँ नागरिक हुन् । यस पटक रकम चोरीको नौलो तरिका देखियो । एटीएम मेसिनमै डिभाइस राखेर पिच गर्ने र विदेशी वेबसाइटको डाटा किनेर नेपाली बैंकमा रकम बचत गर्नेहरुको खाताबाट चोरी हुन्थ्यो । यो पटक नौलो शैलीमा चोरी भएको पाइएको छ । त्यही कारण छोटो समयमा करोड ६८ लाख ५४ हजार रुपैयाँ रकम निकालेको नेपाल बैंकर्स संघले जनाएको छ ।
केहि रकम भारतबाट समेत निकालिएको आशंका गरिएक पनि पुष्टि हुन बाँकी छ ।
चिनियाँ ह्याकरहरुले एटिएम ह्याक गर्न नेपालका ९ वाणिज्य बैंकलाई निशाना बनाएको नेपाल राष्ट्र बैंक र प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ह्याकरहरुले एटिएमबाट रकम निकाल्न ३ वटा बैंकको एटिएम मेसिन प्रयोग गरेका छन् भने ६ वटा बैंकहरुको एटिएम कार्ड प्रयोग गरेका छन् ।
कसरी भयो चोरी ?
आफ्ना ग्राहकहरुले चाहेको बेला रकम निकाल्न पाउन भनेर बैंकहरुले चोकचोकमा एटीएम मेसिन राखेका छन् । सेवाग्राहीको हातहातमा एटीएम कार्ड थमाइदिएका छन् । नेपालमा धेरै जसो भिसा डेबिट कार्ड प्रयोग हुन्छ ।
जब ग्राहकले एटीएम मेसिनमा कार्ड राख्छन्, त्यसको सूचना भिसा नेटवर्कले पाउँछ । भिसा नेटवर्कले कार्ड र ग्राहकले हानेको पिच नम्बर चेक गरेपछि स्वीचले कार्ड र पिन नम्बर रि–कन्फर्म गरेर बैंकमा पठाउँछ । बैंकको सिस्टमले सम्बन्धितको खातामा भएको रकमबाट कटाएर एटीएम मेसिनबाट पैसा दिन्छ ।
चिनियाँ ह्याकरहरुले निशाना बनाएको प्रभुसँगै १८ वटा बैंक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)मा आवद्ध छन् । उनीहरुका लागि नेप्सले स्वीच दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल र हिमालयन बैंक भने नेप्समा आवद्ध छैनन् । उनीहरुले आफ्नै सिस्टम बनाएका छन् ।
चिनियाँ ह्याकरहरुले बैंकहरुको सिस्टममा मालवेयर अट्याक गरे । कृतिम स्वीच खडा गरे र, चाहे जत्ति रकम निकाले । एटिएम मेसिनमा कार्ड हालेपछि भिसासम्म म्यासेज पुगेको तर त्यहाँबाट फ्लो भएको मेसेज स्वीच हुँदै बैंकसम्म पुग्न नसकेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउछन् ।
बैंकको एकै स्वर– निक्षेपकर्ता सुरक्षित
ह्याकरको निशानामा परेका बैंकहरुले निपेक्षकर्ताको रकम सुरक्षित रहेको बताएका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले पनि त्यसलाई पुष्टि गरेको छ ।अधिकारीहरुकाअनुसार ह्याकरहरुले सिस्टममा अट्याक गरेर आफ्नै स्वीच खडा गरेर एटीएम बुथमा रहेको नगद निकालेकाले निक्षेपकर्ताको खाताबाट रकम गएको छैन ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले निकालिएको रकम कुनै व्यक्तिको नभएर बैंकको भएको बताए । उनले भने, ‘व्यक्तिको खाताबाट रकम निकालिएको छैन, बैंकको रकम भएका कारण निक्षेपकर्ता डराउनु पर्दैन ।’ बैंकर एशोसिएनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पनि सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताए । भन्छन्, ‘केही रकम चोरी भएको छ तर, निक्षेपकर्ता डराउनु पर्दैन ।’ चोरी गर्दागर्दा थाहा भएकाले पनि बैंकहरु ठूलो नोक्सानीबाट जोगिएको बैंकर्स संघले बताएको छ ।
# ONLINE KHABAR_ SOURCE