Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

अदालतले भन्यो, भिडियो खिच्ने व्यक्ति अर्कै थियो

Tuesday, August 27, 2019 National Power


काठमाडौं-पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रमाणको रुपमा पेश गरिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा उल्लेख गरिएको छ । जिल्ला अदालत चितवनका एक नम्बर न्यायाधीश हेमन्त रावलको बेञ्चमा हेरिएको उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ ७ र ८ मा शालिकराम एक्लैले भिडियो खिचेको होइन भन्ने कुरा उल्लेख गरिएको छ ।

तथ्य विश्लेषण खण्डमा यस्तो लेखिएको छ :
‘भिडियो रेकर्डको अन्तमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुबै हात जोडेर आफ्ना वृद्ध बुवा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुःखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुबै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो निज आफैले एक्लै (सेल्फी) खिचेको भन्ने देखिएन ।

निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भन्ने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन । अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ ।
अदालतको तथ्य विश्लेषण खण्डमा ठहरकै शैलीमा उल्लेख भएको यस बुँदाले दुईवटा शंका बढाएको छ । पहिलो शालिकरामले आत्महत्या गर्नुपूर्व कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गराएका थिए । तर उक्त व्यक्तिले शालिकरामलाई रोक्ने प्रयास नै गरेनन्, हारगुहार नै गरेनन् र ती व्यक्ति पनि दोषी हुन् । यसको अर्थ फैसला हुनुभन्दा अगाडि ती व्यक्तिलाई पनि खोज भन्ने आशय देखिन्छ ।

दोस्रो, आदेशमा भनिएअनुसार भिडियो रेकर्ड गर्दा स्याण्डो लगाएर रेकर्ड गरिएको र पछि सर्ट र पाइन्ट लगाएर आत्महत्या गरेकाले सायद त्यो भिडियो आत्महत्या गरेकै दिनको भिडियो होइन कि भन्ने सवाल उठाइएको छ । के शालिकरामले अस्मितालाई ब्ल्याकमेल गर्न पहिले नै भिडियो रेकर्ड गराएका थिए ?

अदालतले भिडियो रेकर्ड गर्ने कार्यमा अर्को व्यक्ति पनि संलग्न थियो भन्ने ठहर गरेकाले कतै यो भिडियो सुरुमा अस्मितालाई धम्क्याउन वा आफूप्रति नरम गराउन कुनै व्यक्तिको सहयोग लिएर भिडियो रेकर्ड गराएका त थिएनन् भने सवाल पनि उठाएको छ । यद्यपि, अस्मिताले बयानमा त्यो भिडियोपछि सामाजिक सञ्जालमा मात्रै हेरेर थाहा पाएको बताएकाले त्यो सम्भावना पनि सकिएको छ ।

अदालतको ठहर अर्कै व्यक्तिको सहयोगमा भिडियो खिचेको भन्ने नै आएपछि अब सरकारलाई पनि टाउको दुखाई भएको छ । पहिलो कि त त्यो भिडियो खिचिदिने व्यक्ति पक्राउ गर्नुपर्यो । वा त त्यो भिडियो शालिकरामले नै खिचेको हुन् भनेर अदालतको ठहरलाई गलत प्रमाणित गर्न सक्नुपर्यो ।

अदालतले मिसिलमा भिडियो रेकर्डको समय उल्लेख नभएकाले कहिले रेकर्ड भएको हो थाहा नभएको बताएको छ । यससँगै त्यो भिडियो शालिकरामले आत्महत्या गरेको कोठामै रेकर्ड भएको हो कि होइन भनेर पनि खोज्नुपर्ने भएको छ ।